१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ठडिँदै क्षतिग्रस्त विद्यालय

भक्तपुर — राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (डीएलपीआईयू) भक्तपुरले एकै सातामा नवनिर्मित चार विद्यालय हस्तान्तरण गरेको छ ।

सूर्यविनायक ८ सिपाडोल स्थित शान्ति निकेतन मावि, काँक्राबारीस्थित सरस्वती मावि, बालकोटस्थित महेन्द्र शान्ति मावि र चाँगुनारायण नगरपालिका ८ चरेलीस्थित वाल्मीकेश्वर माविको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । (डीएलपीआईयू) भक्तपुरले भूकम्पका कारण क्षतिग्रस्त शान्ति निकेतन, सरस्वती माविको दुईतले ८/८ कोठे, महेन्द्र शान्ति माविको ४ कोठे र वाल्मीकेश्वर माविको ६ कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ ।


भूकम्पका कारण क्षतिग्रस्त अधिकांश विद्यालय पुनर्निर्माणको चरणमा छ भने, कतिपय विद्यालय पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । जिल्लाका क्षतिग्रस्त विद्यालय तीन पद्धतिबाट पुनर्निर्माण भइरहेको डीएलपीआईयू भक्तपुर प्रमुख डिल्लीश्वर प्रधानले बताए । जसमध्ये, विद्यालय व्यवस्थापन समितिले डीएलपीआईयूसँग सम्झौता गरी व्यवस्थापन समितिले निर्माण गर्ने, सीएलपीआईयूमार्फत ठेकेदारमार्फत र त्रिपक्षीय सम्झौता -राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सीएलपीआईयू र गैसस) बाट पुनर्निर्माण थालिएको छ ।


चालु आर्थिक वर्ष ०७५/७६ भित्र निर्माण सकिने गरी क्षतिग्रस्त १५ विद्यालयको पुनर्निर्माण भइरहेको डीएलपीआईयू भक्तपुरले जनाएको छ । जसमध्ये गणेश आधारभूत विद्यालय (आवि) दुवाकोट, दोलागिरि मावि चाँगुनारायण, फौढोका आवि सुडाल, भैरवी आवि दुवाकोट, आजात मावि झौखेल, गणेश आवि झौखेल, गणेश मावि ताथली, डाँडापाटी आवि सौडोल, बाल शिक्षा सदन आवि चित्तपोल सल्लाघारी, भैरवी आवि गुण्डु, फूलमाया भगवती आवि बिरुवा, सरस्वती मावि थाकलमाथ, बालविनायक मावि लगायतको पुनर्निर्माण भइरहेको प्रधानले बताए । सुविधायुक्त अपाङ्गमैत्री निर्माणाधीन १५ वटै विद्यालयमा फर्निचर, विद्युतीकरणसहित ४/४ कक्षाकोठा रहने जनाएको छ । प्रतिविद्यालय ६९ लाख ६९ हजार ६ सय रुपैयाँ लागतमा निर्माण थालेको

उनले बताए ।


सोही योजनाअनुरुप पुनर्निमर्ाण गर्ने भनिएको विश्वसम्पदा क्षेत्रमा पर्ने श्रीपद्म मावि दरबार क्षेत्र, विद्यार्थी निकेतन मावि, शारदा माविको पुनर्निर्माण अझै अन्योलमा छ । सम्पदा क्षेत्रभित्र पर्ने विद्यालयको नक्सापास प्रक्रिया ढिलाइले पुनर्निर्माण अन्योलमा परेको डीएलपीआईयू भक्तपुर प्रमुख प्रधान बताउँछन् ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?