कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुईमाजु परिसर कब्जा

काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र कब्जामा परेको हो
दामोदर न्यौपाने

काठमाडौं — ऐतिहासिक र धार्मिक महत्त्वको क्षेत्र दुईमाजु मन्दिर परिसर कब्जा गरेर पसल सञ्चालन गरिएको छ । दुईमाजुका पुजारी उद्धव कर्माचार्यका अनुसार मन्दिर पूजा गर्न दैनिक रूपमा भक्तजन आउने गरेका छन् । भक्तजन आउने ठाउँमा पसल सञ्चालन गर्दा पूजाआजामा समेत समस्या छ । 

दुईमाजु परिसर कब्जा

काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुलामञ्च छेउकै यो क्षेत्र कब्जामा परेको हो । गुठी संस्थानबाट एक जनाले अनुमति लिएर उनले ३२ जनालाई पसल सञ्चालन गर्न दिएकी छन् । गोरखाका भीमसेन गाउँपालिका २ तान्द्राङकी अमृता भट्टराईले व्यवसाय सञ्चालन गर्न संस्थानसँग ५ वर्षका लागि भाडामा लिएकी हुन् । गुठी संस्थान काठमाडौं शाखा कार्यालय र भट्टराईबीच विभिन्न १३ वटा सर्तमा रहेर व्यवसाय सञ्चालन गर्न सम्झौता भएको थियो ।

पसल सञ्चालन गर्न सटर बनाउन काठमाडौं महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले सहमति दिएका थिए । त्यही सहमतिअनुसार सटर बनाएर पसल सञ्चालन गर्न गुठी संस्थानले अनुमति दिएको हो । विभाग प्रमुख शाक्यले २०७५ फागुन १० मा काठमाडौं महानगरपालिका वडा नम्बर २८ को मन्दिर क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न सहमति दिएका थिए ।

'गुठीअन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि तहाँ गुठीबाट स्वीकृत नक्साबमोजिम सहमति माग भएकोमा मिति २०७५ फाुगन १० को सदर टिप्पणी निर्णयअनुसार तहाँबाट पेस नक्सामा फरक नपर्ने गरी अस्थायी टहरा निर्माणका लागि सहमति प्रदान गरिएको व्यहोरा अनुरोध छ,' शाक्यले गुठी संस्थानलाई लेखेको सहमति पत्रमा उल्लेख छ ।

जग्गामा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गत मंसिर २० गते गुठी संस्थानले गरेको थियो । जग्गा गुठी संस्थानको पूर्ण स्वामित्वमा छ । त्यही निर्णयअनुसार गुठी संस्थान काठमाडौं शाखा कार्यालयका प्रमुख वैकुण्ठप्रसाद रेग्मीले गत पुस ४ गते भट्टराईलाई व्यवसाय सञ्चालन गर्न कार्यदेश दिएका थिए । 'यस संस्थानको पूर्ण स्वामितत्वमा रहेको श्री दुईमाजु गुठी मन्दिर परिसरमा रहेको खाली जग्गामा साधारण व्यवसाय सञ्चालन गर्न तपाइर्ंलाई यो कार्यदेश दिइएको व्यवहोरा जानकारी गराइन्छ,' कार्यालय प्रमुख रेग्मीले भट्टराईलाई लेखेको पत्रमा उल्लेख छ ।

कार्यालय प्रमुख रेग्मी र भट्टराईबीच भएको सम्झौतामा मन्दिर परिसर प्रयोग गरेबापत् मासिक १५ हजार रुपैयाँका दरले बुझाउनुपर्ने उल्लेख छ । व्यवसाय सञ्चालन गर्नु पहिला ६ महिनाको एकमुष्ट भाडा ९० हजार रुपैयाँ बुझाउने सहमति भएको छ । भाडाबापतो रकम हरेक महिना बुझाउनुपर्ने गरी सम्झौता भएको छ ।

२ महिनासम्म भाडा नतिरेमा करार स्वतः भंग हुने र धरौटी रकमसमेत जफत हुने व्यवस्था गरिएको छ । मन्दिरसमेत भित्र पर्ने गरी यहाँ सटर निर्माण गरिएको छ । मन्दिरको वरिपरि खाट राखिएका छन् । प्रत्येक खाटमा एक जनाको पसल छ । भट्टराईले अरू ३२ जनालाई भाडामा दिएकी छन् । एक जनासँग कम्तीमा ५ हजार लिने गरेको एक पसल सञ्चालकले बताए ।

पसल सञ्चालन अवधि पाँच वर्षबाट दुवै पक्षको सहमतिमा थप्न सकिने व्यवस्था सम्झौता पत्रमा गरिएको छ । मन्दिर परिसरको धार्मिक एवं सांस्कृतिक मूल्य मान्यतामा आँच नआउने गरी व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 'नित्यपूजा हुने मन्दिरमा सटर राखिएको छ,' काठमाडौं क्षेत्र नम्बर ६ का सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान भन्छन्, 'यो ऐतिहासिक मन्दिर कब्ज्ाा भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दासमेत यही दुईमाजुबाट शक्ति लिएको इतिहास छ । यस्तो ऐतिहासिक स्थल कब्जा गरिएको छ । यसलाई तुरुन्त खुला गर्नुपर्छ ।'

हनुमानढोको तलेजु भवानीसँग साइनो छ दुईमाजुको । यसका पुजारी पनि तलेजु भवानीकै हुन् । तलेजु भवानीको सारथीको रूपमा पूजाअर्चना हुने पुजारी कर्माचार्यले बताए । 'जुन ठाउँमा तलेजु हुन्छन्, त्यो ठाउँमा दुईमाजु पनि हुन्छन्,' कर्माचार्य भन्छन् । काठमाडौं, भक्तपुर, ललितपुर, टोखा, दोलखा, टिस्टुङ, पालुङजस्ता प्राचीन नेवार बस्ती भएका ठाउँमा तलेजु भवानी छन् । कर्माचायका अनुसार दुईमाजु भनेको अदृश्य शक्ति हो । अदृश्य शक्तिलाई धोक्रोजस्तो स्वरूपमा छोपिराखिएका हुन्छ ।

'तलेजु पनि अदृश्य हो । दुईमाजु पनि अदृश्य हो,' कर्माचार्य भन्छन्, 'शक्तिलाई सारथी चाहिन्छ । तलेजु शक्ति हुन् । तलेजुलाई शक्ति दिने सारथी दुईमाजु हुन् । त्यही भएर जहाँ तलेजु हुन्छन्, त्यहाँ दुईमाजु हुन्छन् ।' टुँडिखेलको दुईमाजु मन्दिरमा आकृति नदेखिने दुईमाजु छन् । पहिला मन्दिर खुला थियो । ९० सालकोको भुइँचालोपछि राणाहरूले मन्दिर निर्माण गरेको कर्माचार्याले बताए । मन्दिर 'निओ क्लासिकल' वास्तुअनुसार बनेको छ ।

काठमाडौंको तलेजु भक्तपुरबाट ल्याएको मानिन्छ । इतिहासकार प्रा. श्रीराम उपाध्यायका अनुसार रत्न मल्लको पालामा भक्तपुरबाट काठमाडौं तलेजु ल्याइएको थियो । यक्ष मल्लको विसं १५३८ मृत्यु भएपछि उपत्यका टुक्रिएको थियो । काठमाडौंका महापात्रलाई कब्जामा लिएर विसं. १५४१ मा काठमाडौं स्वतन्त्र राज्य बनाएका थिए । यक्ष मल्लको पालासम्म काठमाडौं, भक्तपुर र ललितपुर एउटै राज्य थिए । विसं. १६७५ मा ललितपुर स्वतन्त्र राज्य भएको थियो । ललितपुरका पहिलो राजा सिद्धिनरसिंह मल्ल हुन् ।

रत्नको पालामा तलेजु भवानी ल्याउँदा जुन ठाउँमा खट बिसाइयो त्यही ठाउँमा तलेजु भवानी उत्पन्न भएको कर्माचार्य बताउँछन् । दुईमाजु पनि खट बिसाउँदा उत्पन्न भएका शक्तिपीठ हुन् । खट बिसाएको ठाउँ गुहयेश्वरी, जयवागेश्वरीमा पनि तलेजु छन् । ती ठाउँमा तलेजुको पूजा हुन्छ । पूजा गर्न हनुमानढोकास्थित तलेजुकै पुजारी जान्छन् । गुहयेश्वरीमा हरेक वर्ष मार्ग कृष्ण अष्टमीदेखि द्वादशीसम्म हनुमानढोकास्थित तलेजुका पुजारी पूजा गर्न जान्छन् । हरेक पूणिर्मा गुहयेश्वरी गएर बलिसहित पूजा गर्ने चलन छ ।

ठाउँठाउँमा बिसाउँदै ल्याएको देवीलाई अन्तिममा हनुमानढोका दरबारको उत्तरतिर ल्याएर विराजमान गराइएको थियो । इतिहासकार उपाध्यायका अनुसार रत्न मल्लको पालामा बनेको तलेजुको सानो मन्दिरलाई महिन्द्र मल्लले भव्य बनाएका थिए । १२ तहको पेटीमाथि तीन छाना भएको मन्दिर बनाएका थिए । यसलाई हनुमानढोका दरबार क्षेत्रको अग्लो संरचना मानिन्छ । अग्लो भएकाले यसको नामै तवदेवल भनिन्छ । यसलाई मध्यकालको उत्कृष्ट वास्तुकला मानिन्छ ।

तलेजु खटको अन्तिम बिसौनी न्युरोडस्थित भूगोलपार्क हो । वडा दसैंको नवमीमा हनुमानढोकाको तलेजुमा पूजा गर्नु पहिला भूगोलपार्कको पीपलबोटमुनि रहेको तलेजुमा पूजा गर्न चलन छ । दुईमाजुमा चाहिँ चैत मसान्तको दिन विशेष पूजा हुन्छ ।

पुजारी कर्माचार्यका अनुसार यो दिन बिहान हनुमानढोकाको मूल चोकको श्री को आगनमा तान्त्रिक पूजा गरिन्छ । त्यही दिन बिहान टुँडिखेलमा दुइटा लिंगा ठड्याइन्छन् । १२ फिटको लिंगो ठड्याइएपछि हनुमानढोकामा पूजा हुन्छ । हनुमानढोकाबाट दुईमाजुमा पूजा लगिन्छ । गुर्जको पल्टले बाजा बजाउँदै मुकुट लगिन्छ । बेलुका बलि दिइन्छ । जयप्रकाशको खड्गलाई सुरक्षा दिएर लगिन्छ ।

'पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि काठमाडौंका अन्तिम मल्लराजा जयप्रकाश मल्लसँग यहाँका पर्व परम्परा निरन्तरता दिने वाचा गरेका थिए,' कर्माचार्य भन्छन्, 'खड्ग पूजा त्यसैको उदाहरण हो । यहाँका सबै संस्कृतिलाई सहज रूपमा मानेकै कारण शाहवंशलाई यहाँका नेवारले स्विकारेका थिए । त्यो बेलामा त संस्कृति जोगिएको थियो, अहिले प्रजातन्त्र, गणतन्त्रमा चाहिँ यहाँका संस्कृतिमाथि एकपछि अर्को गर्दै प्रहार भइरहेका छन् ।'

प्रकाशित : वैशाख १८, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?