खुलामञ्चका सटर भत्काइए

काठमाडौँ — खुलामञ्च अतिक्रमण गरेर बनाइएका अस्थायी संरचना शनिबार डोजर लगाएर भत्काइएको छ । खुलामञ्च कब्जाप्रति सञ्चारमाध्यम र सर्वसाधारणले चर्को आवाज उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले बस काउन्टर, किराना पसललगायत संरचना भत्काएका हुन् । 

खुलामञ्चका सटर भत्काइए

डोजर लगाएर अस्थायी टहरा र पसल भत्काउने क्रममा केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । नगर प्रहरीप्रमुख डीएसपी धनपति सापकोटाले ५१ सटर भत्काइएको जानकारी दिए । ‘ती प्रायः खाली थिए’ उनले भने, ‘जसमा सामान थिए, तिनलाई हटाउन समय दिइएको थियो ।


उनका अनुसार धेरैजसो सटरमा कपडा र किराना पसल तथा होटल थिए । टिकट काउन्टरमा रहेका अस्थायी संरचना ठेकेदारसँग भएको सम्झौताका आधारमा भत्काइएको महानगरले जनाएको छ । मासिक ४५ हजार रुपैयाँसम्म लिने गरी ठेकेदारले ती संरचना भाडामा लगाएका थिए ।


भत्काउने बेला प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मेयर विद्यासुन्दर शाक्यलगायत सुरक्षाकर्मीसहित पुगेका थिए । मेयर शाक्यले व्यापारीका गुनासा सुनेका थिए । पछि पुगेकी उपमेयर हरिप्रभा खड्गीलाई व्यवसायीले हातपात गर्ने प्रयास गरेका थिए ।


महानगरका एक अधिकारीले संरचना निर्माणसम्बन्धी कागजपत्र केरमेट भएकोबारे छानबिनको माग गरे । ‘महानगरले ४/५ वटाबाहेकको स्वीकृति दिएको होइन । किर्ते भएको हो भने यो सरकारवादी मुद्दा भयो, प्रहरीले अनुसन्धान गर्ने हो,’ उनले भने ।


उनका अनुसार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले पहिले रहेको पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि २०७३ चैतमा बसपार्क खुलामञ्चको केही भागमा सारिएको थियो । त्यसपछि ठेकेदार कम्पनीले वार्षिक ५० लाख रुपैयाँ महानगरलाई बुझाउने गरी सहमति भएको थियो ।


बसपार्कमा न्यूनतम पूर्वाधारका रूपमा महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालय, एउटा खाजाघर, ट्राफिक प्रहरी र महानगर प्रहरी बस्ने सानो संरचना तथा मेडिकल राख्ने गरी सम्झौता भएको महानगरले जनाएको छ । तर ठेकेदार कम्पनीले सम्झौताविपरीत सटरलगायत संरचना बनाएर भाडा असुली थालेको थियो ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?