कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

खोलाकै सफाइ

माया श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबी खोला किनारका बस्तीलाई वर्षायाममा डुबानबाट जोगाउने प्रयास थालेको छ । त्यसका लागि खोलो फराकिलो बनाउन धमाधम माटो निकाल्ने काम सुरु भएको छ ।

खोलाकै सफाइ

चाबहिल बैजनी पुलदेखि साढे ४ किलोमिटर धोबी खोला–वाग्मती दोभानसम्म खोलाको माटो निकाल्ने काम भइरहेको जानकारी प्राधिकरणका इन्जिनियर रञ्जन सिलवालले दिए । वर्षायाममा अनामनगर क्षेत्र जलमग्न हुने गरेको छ ।


प्राधिकरणका इन्जिनियर सिलुवाल भन्छन्, ‘खोला किनारमा अव्यवस्थित बसोबासका कारण खोलो साँघुरिँदै ९ मिटर चौडाइमा खुम्चिएको छ ।’ ठेकेदार कम्पनी जय गणेश सेवा थापाथली र प्राधिकरणबीच ५५ लाख ४४ हजार ४ सय ८० रुपैयाँमा ३ महिनामा खोलाको माटो निकल्ने काम सक्ने गरी ०७५ चैत ७ मा सम्झौता भएको हो ।


बैजनी पुलदेखि मैतीदेवी कालो पुलसम्मको माटो निकाल्ने काम सकिएको ठेकेदार कम्पनीका प्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘१ फिटदेखि ३ फिट गहिराइसम्म खोलाको माटो निकालेका छौं । लेदो माटो निकालेर ४ दिन सुकाएर डिस्पोज गर्ने गरेका छौं,’ उनले भने ।


अघिल्लो वर्षायाममा काठमाडौं महानगरपालिका–१० स्थित विनायकनगरमा पसेको बाढीले साढे ३ करोड बराबरको क्षति पुर्‍याएको वडा अध्यक्ष रामकुमार केसीले बताए । ‘कम्तीमा खोलाको चौडाइ ४० मिटर हुनुपर्ने हो तर धोबी खोला १२ मिटरमा खुम्चियो,’ उनले भने, ‘एक्काइस वर्षसम्म स्थानीय जनप्रतिनिधि नहुँदा खोलो साँघुरियो ।’ धोबी खोलाबाट २३ हजार ९ सय ६७ घनमिटर माटो निकालिने जानकारी प्राधिकरणले दिएको छ ।


बस्तीमा पानी पस्ने वर्षौंदेखिको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र सरकारले पहल गर्नुपर्ने वडा २९ का अध्यक्ष कुशकुमार क्षत्रीको भनाइ छ । ‘खोला वारिपारि थुप्रिएको माटो निकालेपछि पानीको सतह घट्ला तर खोलाको चौडाइ कम भएपछि वर्षायाममा पानी कता पस्छ, कसैले आकलन गर्न सक्दैन,’ उनले भने, ‘माटो निकाल्ने कार्यले बर्सेनि निरन्तरता पाए मात्र जोखिम कम हुन्छ ।’

प्रकाशित : वैशाख १०, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?