१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बाजा संरक्षण गर्न माग

ललितपुर — कपाली समाज ललितपुरले लोपन्मुख बन्दै गएको सनही, नौमती बाजा संरक्षण गर्न ललितपुर महानगरपालिकाको ध्यानआर्कषण गराएको छ ।

कपाली समुदायको पुर्ख्यौली बाजा बजाउने पाटनभरिमा एक जना मात्र बाँकी रहेको भन्दै महानगरमा ध्यानाकार्षण पत्र दर्ता भएको हो । समाजका जिल्ला सचिव राजु कपाली भन्छन्, ‘लोपन्मुख बन्दै गएको बाजा संरक्षण प्रवर्द्धन गर्न तत्काल ३ महिनाको तालिम दिन आवश्यक देखिन्छ । महानगरले बाजा संरक्षण गर्न चासो दिनुपर्‍यो ।’


पाटनमा सनई नौमती बाजा बजाउन जान्ने दुपा टोलका ७६ वर्षीय कान्छा कपाली मात्र बाँकी छन् । उनी पनि दमका बिरामी छन् । उनी भेट्न आउने प्रायःलाई लोप हुन लागेको बाजाको बारेमा जानकारी गराउँछन् । समाजका अध्यक्ष कुमारलाई पनि यही कुरा दोहोराए । उनले सुनाए, ‘सनही, पञ्चै वा नौमती फुकेर बजाइने सात वटा प्वाल भएको प्रसिद्ध स्वरबाजा हो । यो बाजा बजाएपछि अनिवार्य देवता उपस्थित हुनुपर्ने कथन छ । यस्तो ऐतिहासिक बाजा अहिले लोप हुने क्रममा छ । जसरी भए पनि बचाउनु भूमिका खेल्नुपर्‍यो ।’


कान्छाका छोरा ४९ वर्षीय रत्नलाल ललितपुर महानगरमा नगर प्रहरीका हवल्दार हुन् । उनलाई ३४ वर्षअघि कान्छाले बाजा सिक्न प्रस्ताव राखेका थिए । त्यो बेला उनलाई रुचि भएन । तर, अहिले बाजा लोप हुन लागेपछि सिक्ने रुचि पलाएको छ । रत्नलाल भन्छन्, ‘बाजा प्रशिक्षण दिएमा समय मिलाएर सिक्छु ।’


मंगलबजारका सुमन कपाली पनि बाजा प्रशिक्षण दिएमा सिक्ने तयारीमा छन् । ‘८ वर्षको छोरालाई पनि सिकाउने विचार छ,’ उनले भने । पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । २०३८ मा ५ खलकसम्मले बाजा बजाउँथे । अहिले बजाउन जान्ने बाँकी कोही अशक्त अवस्थामा छन् । ललितपुर महानगरपालिका सम्पदा शाखाकी प्रमुख चन्द्रशोभा शाक्यले लोपोन्मुख बन्दै गएको बाजा संरक्षण गरिने बताइन् । ‘यसका लागि महानगरको सामाजिक विकास समितिमा कुरा राखिनेछ,’ उनले भनिन् ।


महानगरमा दर्ता गरिएको पत्रमा बाजा रातो मत्स्येन्द्रनाथ जात्रा, पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका राजखड्ग दरबारबाट बाहिर ल्याउदा, लाखे नचाउँदा बजाउने चलन थियो । शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा दैनिक बिहान र साँझ बजाउने गर्दथे । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच, नरसिंह जात्रा, खड्ग जात्रामा भने कान्छाले धान्दै आइरहेका छन् । बाजा लोपसँगै विभिन्न देवीदेवताका नाममा बनाइएका नेपाल भाषामा लेखिएका बाह्रै महिनाका गीत पनि हराउने खतरा बढेको छ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?