राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको द्यो ब्वय्केगु पूजा अवलोकन

भक्तपुर — राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरमा नवदुर्गा भवानीको द्यो ब्वय्केगु पूजाको अवलोकन गरेकी छन् । भक्तपुर उद्योग वाणिज्य संघले स्वर्णजयन्ती अवसरमा गरेको द्यो ब्वय्केगु पूजाको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् । उनले नवदुर्गा भवानीको गणनाचले नाच्ने ईना ज्वनेगु प्याखः अवलोकन गरिन् ।

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको द्यो ब्वय्केगु पूजा अवलोकन

कार्यक्रममा संयोजक उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले नवदुर्गा देवगणका काल भैरवलाई मुल पूजा हस्तान्तरण गरेका छन् । भैरवबाट मुलपूजा आरम्भ भएपछि राष्ट्रपति भण्डारी दरबार स्क्वायरस्थित तलेजु भवानीको पूजा तथा दर्शन गरेकी छन् । मुल पूजामा नवदुर्गाको मू बहाः (मुख्य बली) सुंगुरको बली दिइएको छ । मूबहाः बली दिँदा कुनै हतियार प्रयोग गर्न नपाइने परम्परा छ । कालभैरवले नङ्ले मूबहाः सुंगुरको बली दिएका छन् ।


द्यो ब्वयकेगु पुजाका अवसरमा मुलपूजापछि नवदुर्गा देवगणलाई सगुन दिनुका साथै विभिन्न परिकार, मिठाई, पान मसलासहितको नेवारी भोज चढाएको छ । कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले जिल्ला समन्वय समिति (जिसस)को कार्यालय अवलोकन गर्नुका साथै जिसस प्रमुख नवराज गेलाल, भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत लगायतसँग छलफल गरेकी छन् । भोजपछि राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणको पुजा र दर्शन गर्नुका साथै दक्षिण चढाएकी छन् ।


कार्यक्रममा राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुरलाई आर्थिक र सांस्कृतिक नगरीको पहिचानका रुपमा स्थापित गर्न नवदुर्गा देवगणको द्यो ब्वय्केगु पूजा र मौलिक कलाको प्रदर्शनी गरेको जानकारी दिए । भक्तपुरको मौलिक उत्पादन र धार्मिक परम्परा विश्व प्रसिद्ध रहेको चर्चा गर्दै प्रजापतिले भक्तपुरलाई आर्थिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन संघले सरकारी, गैरसरकारी निकाय र नीजि क्षेत्रसँग सहकार्य गर्दै कृषि, पर्यटन र निर्यातमुखी हस्तकलाको विकासमा जोड दिँदै आएको बताए ।


कार्यक्रम राष्ट्रपति भण्डारीले भक्तपुरको मौलिक हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीसमेत अवलोकन गरेकी थिइन् ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नवदुर्गा देवगणलाई दक्षिणा चढाएका छन् ।


अक्षयकोष स्थापना

नवदुर्गा भवानीको नाच व्यवस्थापन एवं मौलिक जात्रा संरक्षणका लागि अक्षयकोष स्थापना गरेको छ । जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालको संयोजकत्वमा १५ लाख र भक्तपुर उद्योग वाणिज्य संघको ५ लाख १५ हजार रुपैयाँ गरी कूल २० लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको जनाएको छ ।


अक्षयकोष वृद्धिका लागि संघले थप पहल गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले बताए ।

प्रकाशित : वैशाख ७, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?