पत्रकार महर्जनलाई राज्यविरूद्वको मुद्दा, आइतबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनका काठमाडौं  संयोजक जितेन्द्र महर्जनलाई राज्य विरूद्वको कसुरमा मुद्दा चलाइएको छ । चैत्र २८ गते पक्राउ परेका महर्जनलाई  महानगरीय प्रहरी परिसर टेकुले राज्य विरूद्वको कसुरसम्बन्धी मुद्दा लगाएको हो ।

पत्रकार महर्जनलाई राज्यविरूद्वको मुद्दा, आइतबार सर्वोच्चमा सुनुवाइ

गत चैत २६ गते परिसर टेकुले जारी गरेको थुनुवा पुर्जीमा लेखिएको छ, 'प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाई भएको राज्यविरुद्ध कसूर मुद्दामा तपाईलाई प्रहरी हिरासतमा राखि मुद्दाको कारबाही गर्नुपर्ने भएकोले आजैका मितिदेखि प्रहरी हिरासतमा राखी यो थुनुवा पुर्जी दिइएको छ ।' महर्जन नेपाल भाषाको पत्रिका `न्हूगु ज्वजलपा वा:पौ' का प्रधान सम्पादक हुन् ।


समाचार संकलनकै सिलसिलामा हिँडिरहेका बेला संयोजक महर्जनलाई प्नहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।


नेपाल पत्रकार महासंघले पत्रकार महर्जनको गिरफ्तारी गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै बन्दीसहित गिरफ्तार गर्नुको कारण पेस गर्न वैशाख २ गते सरकारलाई आदेश दिइएको थियो । जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति र उपत्यका क्षेत्रीय समन्वय समितिले समेत विज्ञप्ति जारी गर्दै महर्जनलाई अबिलम्ब रिहाइको माग गरेका थिए ।


पत्रकार महर्जनको विषयमा आइतबार सर्वोच्चमा सुनुवाइ हुने छ । महर्जनका लागि वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल, कान्ति ढुंगाना, चुँडाबहादुर तिवारी लगायतले कानुनी सहयोग गरिरहेको संगठनका महासचिव हिम विष्टले जानकारी दिए ।


प्रकाशित : वैशाख ७, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?