कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

औषधि कमको विधि

नेपालमा होमियोप्याथीको पढाइ छैन, जबकि बिरामीहरू यसप्रति आकर्षित छन् 
विमल खतिवडा

काठमाडौँ — मोरङ, शनिश्चरेकी ४२ वर्षीया सबु अधिकारी राजधानी बस्न थालेको दुई दशक हुन लाग्यो । तर, उनले सधैंसधैं रोगसँग पौंठेजोरी खेल्नुपर्‍यो । अनेक अस्पताल, उपचार विधि र औषधिको भरमा उनको पौंठेजोरी चलिरहृयो ।

औषधि कमको विधि

कुरो ०६२ सालको हो । पहिलो सन्तानको रूपमा छोरा जन्मिएको एक वर्ष मात्र भएको थियो । परिवारमा सबै दंग थिए । तर खुसीसँगै बिस्तारै पीडा थपिँदै गयो । उनको दाहिने काखी नजिकै सानो गिर्खा देखा पर्‍यो । गिर्खाले दुखाई बढाउँदै लग्यो । उपचारका लागि टिचिङ हस्पिटल पुगिन् । चिकित्सकले इन्जेक्सनबाट पानी निकालेर जाँच गरे । रिपोर्टमा ‘ग्ल्यान’ टीबी देखियो । चिकित्सककै सल्लाहमा औषधि चलाइयो । ६ महिनासम्म औषधि खाँदा न रोग ठिक भयो, न उनी तन्दुरुस्त बन्न सकिन । अस्पताल मात्रै लगातार धाइरहिन् । सबुका छोरा १५ वर्ष र छोरी ५ वर्षकी छिन् । उनका श्रीमान् कतारमा छन् ।


‘औषधि मात्र थपी रहे,’ उनी पीडा सुनाउँदै भन्छिन्, ‘न रोग ठिक पारे, न यो रोग नै लागेको हो भनेर भनिदिए ।’ रोग निको हुनुको सट्टा उल्टै थपिँदै गयो । गिर्खा नजिकै पाक्न थाल्यो । लामो समयसम्म उपचार गर्दा पनि ठिक नभएपछि टिचिङमै गिर्खाको अप्रेसन भयो, तैपनि ठिक भएन ।


‘यही रोग हो भनेर कसैले पनि किटान गर्न सकेनन्,’ उनले भनिन्, ‘धेरै औषधि खाएर झन्डै ज्यान गयो ।’ काठमाडौंमा उनी नपुगेको अस्पताल सायदै होलान् । ‘बिहान ६ बजेदेखि बेलुकासम्म औषधि मात्र खाएकोखायैं हुन्थें,’ उनी भन्छिन्, ‘यही औषधिले आँखा कमजोर बनायो, शरीरका विभिन्न भागमा उल्टै घाउ भएर पाक्यो, शरीर फुलेर कमजोर बन्यो ।’


पछि घाँटीमा टन्सिलजस्तो भएर पाक्यो । काठमाडौं मेडिकल कलेजमा अप्रेसन गराइन् । ०६७ सालसम्म औषधि खान छाडिनन् । सामुमा रिपोर्टको चाङ थियो । औषधिको खोलले झोला भरिएका थिए । उनले थपिन्, ‘डाक्टर औषधि मात्र लेख्न तयार हुन्छन्, रोग के हो भनेर पत्ता लगाउनै सक्दैनन् ।’


पछि चिनारु र जानकारसँग बुझ्दा थाहा लाग्यो, टीबी रोग त बढीमा १ वर्षसम्म औषधि खाएमा निको हुने रहेछ । तर, सबुका हकमा औषधिको प्रयोग मात्रै भइरहृयो । त्यही बेला एउटा सुझावमा भर परेर उनले होमियोप्याथी उपचार गर्ने निधो गरिन् । रेडियो विज्ञापन सुनेर उनी पुरानो बानेश्वरको सञ्जीवनी क्लिनिक पुगिन् । उनले आफ्नो समस्या सुनाइन् । ६ महिना औषधि खानासाथै उनको रोक बिसेका भयो, उनी अहिले राम्ररी हिँड्न सक्ने भएकी छन् । घाउ पाक्न छोडेको छ ।


सबुले आफ्नो उपचारमा मात्रै बितेको ५ वर्षमा ७ लाख रुपैयाँ खर्च गरेकी रहिछन् । सर्लाही बबरगन्जका राज महतोको कथा पनि यस्तै छ । उनलाई बायाँपट्टिको घुँडा पछाडिको नशा दुख्ने गर्थ्यो । छिनभर पनि भुइँ, कुर्सीमा बस्न सक्दैन थिए । ‘जोडले सास फेर्दा वा खोक्दा पनि दुख्थ्यो,’ उनी भन्छन्, ‘हिँड्दा पनि दुख्थ्यो, सारै समस्या भएपछि अस्पताल पुगे, दुखाइ कम हुने औषधि दिएर फिजियोथेरापी गराए, ठिक हुन सकिनँ ।’ उनले काठमाडौं आएर नोबेल अस्पताल, न्युरो अस्पताल सबैतिर परीक्षण गराए ।


साथीभाइको सल्लाहमा उनी एक दिन भक्तपुरस्थित होमियोप्याथी क्लिनिक पुगे । त्यहाँ चिकित्सक डा. अम्बिका ज्ञवालीलाई उनले रोगको पोको फुकाए । डा.ज्ञवालीले थोरै औषधि लेखिदिए, नभन्दै यही औषधि रामबाण बन्यो । ‘सुरुमा गाडीमा लामो यात्रा गर्न सक्दिन थिए, बाध्य भएर गरे पनि बेल्ट बाँधेर पीडा सहँदै हिंड्थे,’ उनी भन्छन,‘ अहिले औषधि खानुपरेको छैन, कष्ट सहेर हिंड्नुपर्ने बाध्यता टरेको छ ।’


ललितपुर झम्सीखेलकी सिर्जना पोखरेल शिवाकोटीको घरपरिवारमै चिकित्सक धेरै छन् । त्यही भएर उनका लागि पहिलो उपचार भनेको ‘एलियोपेथिक’ थियो । तीन वर्षअघि उनमा एकाएक ‘जोइन्ट पेन’ बढेको रहेछ, आँखाको इन्फेक्सनलगायत ४/५ वटा इन्फेक्सन देखिएको रहेछ । यसका लागि अलग अलग औषधि खादै गइन् । जति औषधि खाए पनि निको भएन । शरीरमा भिटामिनको मात्रा पनि क्रमशः कमी हुँदै गयो ।


‘दुखाइले गर्दा बीचमा स्मृति गुमाएजस्तो पनि भयो,’ उनले पुराना कुरा सम्झँदै भनिन्, ‘मिटिङमा बस्ने मान्छेको नाम नै बिर्सिने, एउटा कुरा भन्न खोज्ने अर्को कुरा आउनेसम्म स्थिति उब्जियो ।’


एकजना साथीले होमियोप्याथी उपचारमा जान सल्लाह दिएपछि सिर्जना पनि यता लागेकी रहिछन् । ‘होमियोप्याथीमा जाँदा ठिक हुन्छ भन्ने विश्वास थिएन, साथीले भनेपछि गएकी हुँ,’ उनले भनिन् । चिकित्सक डा.अम्बिका ज्ञवालीले दिएको एउटा औषधिले केही दिनमैं दुखाइ कम हुँदै गएको र एलर्जी कफ पनि हटेको अनुभव उनीसँग छ ।


‘कहिलेकाहीं सर्जरी गर्नैपर्ने हुन्छ, त्यो बेला होमियोप्याथीले तुरुन्त रिलिफ गर्दैन,’ उनले भनिन्, ‘यस्तो अबस्था इमर्जेन्सी पर्दा एलियोपेथीमा पनि जानुपर्छ ।’ पहिला एलियोपेथिक औषधि खाने उनमा लतजस्तै थियो, होमियोप्याथीले गर्दा अहिले

औषधि खाने बानी हटेको रहेछ । ‘नेपालमा होमियोप्याथीको स्कोप छ,’ उनले भनिन्, ‘यसमा साइड इफेक्ट भेटेको छैन ।’ भक्तपुर होमियोप्याथी क्लिनिकका डा. ज्ञवालीका अनुसार एलियोपेथिकमा लक्षणअनुसार निद्रा नलाग्दा, भोक नलाग्दा अथवा टाउको दुखेमा अलगअलग औषधि खानुपर्ने हुन्छ ।


होमियोप्याथीमा सबैको एउटै ‘साझा संकेत’ बनाएर एउटै औषधि दिँदा हुन्छ । ‘यस्तो औषधिले रोगको विरुद्ध काम गर्ने शरीरभित्रको पद्धतिलाई सहयोग गर्छ,’ उनले भने, ‘कम औषधि प्रयोग हुने विधा भनेकै होमियोप्याथी हो । हामीकहाँ एलोप्याथीबाट उपचार सम्भव नभएकाहरू बढी आउनुहुन्छ ।’ उनका अनुसार मानसिक कारणले हुने बिरामी, पेट दुख्ने, स्त्री रोग, ज्वाइन्ट, बच्चाहरूमा हुने निमोनिया, वृद्धवृद्धामा हुने दम, बाथ, सुगर, प्रेसरका बिरामी यहाँ आउने गर्छन् ।


यसको सुविधा सरकारी तहमा ललितपुरको हरिहर भवनमा छ । निजी तहमा भने विभिन्न जिल्लामा छन् । ‘यो पद्धति आवश्यक छ, एलोपेथिक मेडिसिनको विकल्प होमियोप्याथी होइन,’ डा.ज्ञवालीले भने । ‘होमियोप्याथीमा कम औषधि र साइड इफेक्ट छैन,’ उनले भने, ‘सरकारले उचित प्राथमिकता दिएको छैन ।’


डा.ज्ञवालीका अनुसार, होमियोप्याथीको उपचार जर्मनीबाट सुरु भएको हो । भारतमा ५ लाख जति होमियोप्याथिक डाक्टर छन् । नेपालमा भने यसको पढाइ छैन । ‘जति चिकित्सक छन, बाहिर पढेर आएका छन्,’ उनले भने, ‘भारतमा ३७ प्रतिशतले होमियोप्याथिक उपचार पद्धति प्रयोग गर्छन् ।’ होमियोप्याथिक अन्तर्राष्ट्रिय तहको २७ औं सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदै छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?