कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्माणाधीन पुलको नक्सा नै गलत

काठमाडौँ — अनामनगरस्थित धोबी खोलामाथि निर्माणाधीन पुलको नक्सा नै गलत भएको पाइएको छ । निर्माण गर्दै जाँदा पिलर सडकभन्दा माथि उठेपछि मात्र ठेकेदारले यसबारे पत्तो पाएका हुन् । यो पुल ठेकेदार कम्पनी भण्डार थाङजी टेक बनाउँदै आएको छ । 

कम्पनीका उमेश लामाका अनुसार पुलको अवस्थिति अस्वाभाविक देखिएपछि जाँच्दा नक्सा नै गलत भएको फेला परेको हो । ‘झन्डै ६० प्रतिशत काम सकेका थियौं,’ उनले भने, ‘तर नक्सामै गल्ती रहेछ ।’ पुलको नक्सा चार वर्षअघि सडक विभागले बनाएको थियो ।


नक्सामै गल्ती भएपछि निर्माण कार्य अन्योलमा धकेलिएको छ । कम्पनीले ०७२ भदौ २१ मा पुल बनाउने ठेक्का पाएको थियो । सम्झौताअनुसार ०७३ माघमा काम सकिनुपर्नेमा विभागले ०७५ असार २५ सम्मका लागि म्याद थपिदिएको थियो । विभागका सूचना अधिकृत सुदर्शन कार्कीका अनुसार थप अवधिमा पुल बन्न सकेन ।


दुई लेनको १२ मिटर लामो पुल बनाउन ३ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको थियो । हालसम्म १ करोड ६९ लाख खर्च भएको कार्कीले जनाए । विभागले पुलको नक्सा अब फेरि बनाउने भएको छ । त्यसपछि मात्र बाँकी काम कसरी गर्ने भन्ने तय हुने कार्कीको भनाइ छ । ‘नक्सा बनाउने काम एक हप्तामा सकिन्छ,’ कार्कीले भने, ‘त्यसपछि मात्र बाँकी कुरा थाहा हुन्छ ।’ उक्त स्थानमा पुल नहुँदा यात्रुहरू १०–१५ मिनेट टाढाबाट घुमेर आउन बाध्य छन् ।


‘एक मिनेटको बाटो पार गर्न यतिको हिँड्नुपर्दा झन्झट भयो,’ मदन भण्डारी कलेजमा अध्ययनरत रोजिना मगरले भनिन् । पुल नबन्दा स्थानीय व्यापारीसमेत प्रभावित छन् । खोलापारिका ग्राहक आउनै छाडेको नजिकैका किराना पसले नरेन्द्र बोहोले बताए । ‘पुल नहुँदा खोला पारीका मान्छे आउनै छाडे, पैदल यात्रीसँगै सवारी साधनलाई समेत आवतजावत गर्न समस्या परेको छ,’ उनले भने ।


चार वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्‍याएको थियो । तीन वर्ष बित्दा पनि नबनेपछि गत वर्ष असारमा स्थानीयले आफ्नै पहलमा फडे हालेका थिए । त्यो पनि बाढीले बगाएपछि आवतजावतमा समस्या छ । स्थानीय सरकारले पक्की नसके पनि वर्षाअगावै पैदल यात्रुका लागि फलामे पुल निर्माण गर्ने योजना बनाएको छ । ‘वारिपारि गर्न साह्रै समस्या भयो,’ वडा नम्बर २९ का वडा सदस्य अर्जुन श्रेष्ठले भने, ‘तत्काललाई चारदेखि पाँच फिट चौडा फलामे पुल बनाउनुपर्ला ।’


माया श्रेष्ठ (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?