बन्यो अपांगमैत्री विद्यालय

कान्तिपुर संवाददाता

काठमाडौँ — जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष व्यावसायिक माविको अपांगमैत्री भवन निर्माण भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै थप विद्यार्थीले भर्ना पाउने भएको छ । यो शारीरिक अपांगता भएका बालबालिकाले पढ्ने मुलुकको पहिलो विद्यालय हो ।

२०७२ को विनाशकारी भूकम्पपछि उक्त विद्यालयको दुई छुट्टाछुट्टै नयाँ भवन संरचना निर्माण भएका हुन् । प्लान इन्टरनेसनल र अस्ट्रेलियन युथ डेभलपमेन्ट एसोसियसनको सहयोगमा १० कोठे भवन बनेको छ । उक्त भवन २ करोड ३१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

त्यसैगरी पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला कार्यक्रम कार्यान्वयन इकाई काठमाडौंले ८ कोठे विद्यालय भवन निर्माण गरेको छ । यो भवन १ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । नयाँ संरचनामा १६ वटामध्ये ४ वटा अपांगमैत्री शौचालय निर्माण गरिएका छन् । भूइँतलामा ह्वीलचियर गुड्न मिल्ने र्‍याम्प तथा दृष्टिविहीनले सेतो छडीका माध्यमबाट हिँड्न सक्ने टेकतायल बिछ्याइएको छ ।

निर्माण सम्पन्न भएका संरचनाको माथिल्लो तलासम्म पुग्नका निम्ति यूएनओपीएस संस्थाको सहयोगमा दुईवटा भवन जोड्ने र्‍याम्पसहितको तेस्रो भवन निर्माण प्रक्रियामा रहेको प्रधानाध्यापक राघव दवाडीले जनाएका छन् । ‘तेस्रो भवन निर्माण भएपछि सबैखाले अपांगता भएका विद्यार्थीले माथिल्लो तलामा आफैं प्रवेश गर्न सक्ने छन्,’ उनले भने । नयाँ भवन संरचना निर्माण सम्पन्न भएसँगै विद्यार्थीका निम्ति आईसीटी कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ ।

‘शैक्षिक सत्रको भर्ना अभियान सुरु भएसँगै नयाँ भवनमा विद्यार्थी भर्ना गर्न पाएका छौं,’ प्रधानाध्यापक दवाडीले भने, ‘यो वर्षबाट अपांगताको प्रकृतिअनुसार दृष्टिविहीन विद्यार्थी समेट्ने योजना बनाएका छौं ।’ दृष्टिविहीनका निम्ति ब्रेल पाठ्यपुस्तकको व्यवस्था गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग) र अन्धा कल्याण संघसित समन्वय गरेको उनले बताए ।

वैशाख दोस्रो दिनबाट भर्ना अभियान सुरु भएको छ । ‘अपांगता भएका विद्यार्थीलाई यो वैशाखभरि भर्ना लिनेछौं,’ प्रधानाध्यापक दवाडीले भने । यो वर्षबाट कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयनमा स्थानीय विषयका रूपमा ‘सम्पदा र संस्कृति’ विषय पढाइने जनाए ।

भर्ना भएका विद्यार्थीले नि:शुल्क रूपमा पाठ्यपुस्तक, स्टेसनरी, डायरी, क्यालेन्डर, परिचयपत्र, टाई र पेटी उपलब्ध गराइने छ । गत वर्षबाट शिक्षा मन्त्रालयका तीन अधिकृतले एक(एक जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । ती बालबालिकाले स्कुल ड्रेस, स्टेसनरीलगाय सहयोग निरन्तर पाउने प्रधानाध्यापक दवाडीले बताए । उक्त विद्यालयमा अहिलेसम्म शारीरिक अपांगता, बहुअपांगता भएका र अपांगता भएका परिवारका बालबालिका पढ्दै आएका छन् । गत शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्म सांग र अपांगता भएकासमेत गरी ३ सय ८३ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये ८३ जना बहुअपांगता भएका छन् । चैतमा सम्पन्न एसईईमा २५ जना परीक्षार्थी सहभागी छन् ।

विद्यालयमा १६ स्थायी दरबन्दी र ५ जना दाताको सहयोगमा शिक्षक तथा ९ कर्मचारी कार्यरत छन् । विद्यार्थी र शिक्षकका निम्ति विद्यालयको ३ वटा गाडी छन् । विद्यालयलाई बालमैक्री शिक्षण त्रियाकलाप, व्यावसायिक तथा व्यावहारिक शिक्षा र हाम्रा विद्यालय हरित विद्यालय कार्यक्रम सुचारु राख्ने जनाइएको छ । स्वयं अपांग खगेन्द्रबहादुर बस्नेतले २०२६ सालमा नेपाल अपांग अन्धा संघ स्थापना गरेका थिए । उक्त संस्था अपांगता भएका व्यक्तिका निम्ति सहारा बनेको थियो । २०३४ संघका संस्थापक बस्नेतको निधनपछि उनकै नाममा ‘खगेन्द्र नवजीवन केन्द्र’ नामकरण गरिएको थियो ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

तीन सातादेखि फोहोर उठेन

कान्तिपुर संवाददाता

ललितपुर — तीन सातादेखि फोहोर उठाउने काम बन्द हुँदा ललितपुर महानगरपालिकाका विभिन्न बस्तीहरू दुर्गन्धित भएका छन् । फोहोरको थुप्रो लाग्दा टोल नै दुर्गन्धित बनेको शंखमूलका स्थानीयले गुनासो गरेका छन् । 

ललितपुर महानगरपालिका वडा न: ८ का वडा सदस्य प्रकाश महर्जनका अनुसार यसरी फोहोरका थुप्रा देखिनुमा ललितपुर महानगरपालिकाले समयमै उठाएर व्यवस्थापन गर्न नसक्नु हो । ‘हामी यसको व्यवस्थापन कसरी गर्ने भन्ने छलफलमा छौं,’ उनी भन्छन्, ‘छिट्टै नै यसको टुंगो लाग्नेछ ।’ ‘घरमा तीन हप्तादेखिको फोहोर थुपारेर राख्दा घर नै गन्हाउने भएको छ,’ शंखमूलका रविन बलामीले बताए ।

समयमै नउठेपछि यतिखेर ललितपुरका चोक गल्लीहरूमा प्रशस्त फोहोर जम्मा भएका छन् । यसबाट दुर्गन्ध फैलिएर वरपरको वातावरण निकै प्रदूषण बनेको छ भने बाटोमा आवतजावत गर्नसमेत समस्या भएको सर्वसाधारणको अनुभव छ ।

‘आजभोलि बाटोमा हिँड्दा आनिवार्य मास्क बोक्ने गरेको छु । यदि मास्क लगाएन भने हिँड्डुल गर्नै गाह्रो हुन्छ,’ बाटोमा हिँड्दै गरेका हीरा शाहीले बताए । स्थानीयहरू फोहोरले आजित भएको गुनासो गर्छन् । ‘टोलका गल्लीगल्लीमा हिँडिसक्नु छैन, जताततै फोहोरको गन्धले त्रसित बनाएको छ,’ च्यासलकी लक्ष्मी शोभा शाक्यले भनिन् । घरमा धेरै दिनको फोहोर थुपार्दा कीरा परिसकेको शाक्यले बताइन् ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्