२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सडक बनाउन समन्वय भएन

काठमाडौँ — सरोकारवालाबीच समन्वय नहुँदा बूढानीलकण्ठ नगरपालिका–३ मुहानपोखरीमा निर्माणाधीन पुल अलपत्र परेको छ । स्थानीयले चासो राख्दा सडक विभागले ठेकेदारलाई र ठेकेदारले खानेपानी, विद्युत्प्राधिकरण तथा सडक विभागलाई दोष दिने गरेका छन् । त्यसमाथि सडक विभागबाट पूरा पैसा नपाएको कारण काम हुन नसकेको तर्क ठेकेदारहरूले गर्ने गरेको वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । 

उनका अनुसार ठेकेदारले बिजुलीको पोल बीचमा राखी ढलान गरेर कमसल काम गर्दा पनि सडक विभागले औंला उठाउन सकेको छैन । यता सडक विभागले अधिग्रहणमा परेको घरको मुआब्जा नदिएपछि काममा थप ढिलाइ हुन गएको श्रेष्ठले बताए ।


बाटो बनाउन ढिला भएपछि स्थानीयलाई समस्था भएको छ । सडकमा हिउँदमा ढल र वर्षामा खोला बग्ने गरेको छ । बाटो बनाउन सुरु गरेदेखि ठेकेदारले बाटोको ढल निष्काशन बन्द गरिदिएकाले यस्तो समस्या आएको स्थानीय मधुकर अधिकारीले बताए । एकातिर बटुवाले मोटर गुड्दा फोहोर पानीको छिट्टालाई टकट्याउँदै हिँड्नुपर्ने समस्या छ भने अर्को तिर स्थानीय पसलमा आउने ग्राहकहरू हिलो भएर फर्किनुपर्ने बाध्यता छ । पसल व्यापारबाट दैनिक गुजारा चलाउँदै आएकी स्थानीय बिमला गौतमले आम्दानी स्रोत घट्न थालेको गुनासो गरिन् ।


सडक डिभिजन काठमाडौंले जिम्मा लिइएको उक्त सडक बनाउन ढिलाइ भएको कारणबारे सूचना अधिकारी तथा इन्जिनियर सुदर्शन कार्की भन्छन्, ‘सडकमा बिजुलीको पोल र खानेपानी पाइपको मुठा हटाएको छैन, स्थानीयले पनि हटाउनुपर्ने भौतिक निर्माणहरू नहटाइदिएकाले काममा ढिलाइ भएको हो ।’ उनका अनुसार महांकाल खानेपानी लिमिटेडसँग खाने पानी व्यवस्थापन गर्न छलफल गरे पनि काम थालेको छैन । बिजुलीको पोल नहटाएको कारण पनि काममा अवरोध आइरहेको छ । महांकाल खानेपानी लिमिटेडका प्रबन्धक उमेश महठ्ठाका अनुसार सडकको पेटीमा होल बनाएर पाइप राख्ने काम आधा सकिसकेको छ । अरु पूरा काम गर्न स्थानीयले अर्को खाने पानी व्यवस्था नभएसम्म नदिएको बताए । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बूनपा उपवितरण केन्द्रका इन्जिनियर जनार्दन पराजुली भन्छन्, ‘विद्युत् प्राधिकरण केन्द्रीय कार्यलयबाट अनुमति आएको छैन, बिजुलीको पोल सार्न कुनै बजेट पनि छुट्याएको छैन ।’ उनका अनुसार सडक डिभिजनलाई पोल सार्नको निमित्त बजेटका लागि चिठी पठाएको चार महिना भइसक्यो, अहिलेसम्म कुनै उत्तर आएको छैन ।


सडक डिभिजन काठमाडौंले जिम्मा लिएको उक्त बाटो दायाँ र बायाँ गरी ३१ मिटरको छ । करिब १६ करोड बजेटमा बन्न लागेको यो बाटो बनाउन दुई भिन्न ठेकेदार कम्पनीले काम गर्दै आएका छन् । जसमा दायाँतर्फ निर्माण व्यवसायी बिरुवा कन्सट्रक्सन कम्पनीले ठेक्का लिएको छ । बायाँतर्फ स्वच्छन्द पञ्जकन्या जेबीले काम गरिराखेको छ । दुवैतर्फ फुटपाथसहित आठ फुट चौडाइ कालोपत्र हुनेछ भने लम्बाइको भाग ढलान गर्नुपर्नेछ ।

२०७३ को जेठ र भदौमा सम्झौता भएको दुवैतर्फको यो सडक एक वर्षभित्रै सकिनुपर्नेमा हालसम्म गति लिन सकेको छैन । सडक डिभिजन काठमाडौंले जिम्मा लिएको उक्त सडक बनाउने काम ढिला हुनुमा आफूहरूको दोष नभएका सूचना अधिकारी तथा इन्जिनियर सुदर्शन कार्कीको दाबी छ । मन्दिर पछाडिदेखि शिवपुरी राष्ट्रिय निकुञ्जसम्म पुग्ने बाटो बनाउने अवधि सकिएको एक वर्षसम्म पनि अलपत्र छ । बाटोमा हिँड्दा गुडिरहेको मोटरले पानी छ्याप्ला कि भनेर डराउनुपर्ने अवस्था आएको धेरै भएको स्थानीयको गुनासो छ । –प्रशिक्षार्थी

प्रकाशित : वैशाख ४, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?