२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ब्रेकले रोक्यो रथ दुर्घटना

दामोदर न्यौपाने

काठमाडौँ — फलामको बीड भएको सानो काठको टुक्रा । यसलाई बोकेर बसेका रथको दाया बाया बसेका छन् दुई युवा । हेर्दा सानो भएपनि चुकुलको रूपमा प्रयोग हुने यो साधनको काम ठूलो छ । परेको ठाउँमा रथ रोकिहाल्ने ‘ब्रेक’ यो । दुई दिनदेखि सुरु भएको सेतो मत्स्येन्द्रनाथको रथको ‘ब्रेक’ को नेतृत्व गरिरहेका छन् नरेश महर्जन । 

मत्स्येन्द्रनाथको रथ तान्ने परम्परा परापूर्वकालदेखिको हो । यसलाई लिच्छविकालीन मानिन्छ । रथ रोक्ने यो प्रविधि भने नयाँ हो । बारम्बार दुर्घटना भएपछि पुरातत्त्व विज्ञले पछिल्लो समय विकसित गरेको प्रविधि हो यो । यही प्रविधि प्रयोग गरे यता रथ दुर्घटनामा परेको छैन । सेतो मत्स्येन्द्रनाथको रथ २०६२ सालमा दुर्घटनाग्रस्त भएको थियो ।


जमलबाट गुडाउँदै रत्नपार्क ल्याएको बेला रथ पल्टेर गुडिरहेको गाडीमाथि पर्‍यो । बसमा सवार सर्वसाधारण घाइते भए । त्यो दुर्घटना किन भयो ? जात्रा सञ्चालकले कारण पत्ता लगाए, रथको पांग्रा राम्रोसँग रोकिन नसक्दा दुर्घटना भयो । परम्परागत रूपमा रथको ब्रेक व्यवस्थापन गर्दै आएका नरेश महर्जनका अनुसार पुरातत्त्वका जानकार तथा पुजारी स्वयम्भूरत्न बज्राचार्यले यो उपाय अपनाएका थिए । ‘परम्परागत रूपमा ब्रेकको काम गर्ने हामी नै हौं,’ मासंगा : नेवाः पुचका अध्यक्षसमेत रहेका महर्जन भन्छन्, ‘चुकुल राख्न लागेपछि सजिलो भएको छ ।’


चुकुलले ब्रेक लगाउने मात्र दुई जना छन् । एकातिर नरेश बस्छन्, अर्कोतिर गोपालकृष्ण डंगोल बस्छन् । दुई जनाले पालै पालो ब्रेक लगाउँछन् । परम्परागत रूपमा ब्रेक लगाउने काम डोरीले गरिन्थ्यो । डोरीले ब्रेक लगाउँदा भनेको ठाउँमा रोक्न समस्या हुन्थ्यो । अहिले पनि डोरी समाउने टिम पनि हुन्छ । त्यसको पनि नेतृत्वचाहिँ नरेशले नै गर्छन् । नवीन शाक्य, पूर्णभक्त श्रेष्ठ, रवि डंगोललगायत छन्, उनीहरू रथको अगाडिको भाग धमामामा बसेर रथ नियन्त्रण गर्छन् ।


दोस्रो दिन असनबाट तानेर बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै कालभैरव अगाडि राखिएको छ । चैत शुक्ल अष्टमीको दिनबाट सुरु हुन्छ रथ तान्न । जमलबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । असन पुर्‍याएपछि राष्ट्रपतिले अवलोकन गर्छन् । पहिला राजाले अवलोकन गर्थे । राजसंस्था हटेपछि राजाले गर्ने सांस्कृतिक गतिविधि राष्ट्रपतिले गर्न थालेका छन् । पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी थिइन् ।


राति १० बजे अवलोकन गर्न उनी रथ राखिएको ठाउँ असन पुगेकी थिइन् । उनले त्यहाँ सर्वसाधारणसँग फोटो खिचेर रमाएकी थिइन् । दोस्रो दिन बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै कालभैरव अगाडि राखिएको थियो । तेस्रो दिन कालभैरवबाट मरुगणेश, जैसीदेवल, जनवहाल हुँदै लगन लगिन्छ । लगनमा मत्स्येन्द्रनाथको आमा भएको विश्वास गरिन्छ । त्यहाँ तीन पटक घुमाइन्छ । लगनमा जात्रा सकिएको भोलिपल्ट विशेष पुजा गरेर रथबाट मत्स्येन्द्रनाथलाई निकालिन्छ । त्यहाँबाट सानो खटमा राखेरर जनबहालको कनक चैत्य महाविहारमा लगिन्छ । त्यहाँ बिहारको विचमा नलगी छेउमै राखिन्छ ।


भोलिपल्ट स्वस्ती शान्ति, होम गरेपछि पहिलाकै ठाउँमा विराजमान गराइन्छ । रथमा राख्न पनि महाविहारबाट सानो खटमा पुजारीले बोकेर जमल लैजान्छन् ।


३६ हात अग्लो रथले बेलाबेला घरलाई समेत छोइदिन्थ्यो । ९ तला बनाइन्छन् । रथ निर्माण अनुगमन समितिका संयोजक सत्यनारायण डंगोलका अनुसार हरेक तलाको अर्थ छ । एक तला ४ हातको हुनु पर्छ । ‘यो परम्परागत शैलीको उचाइ हो,’ डंगोल भन्छन्, ‘हरेक तलाको सम्बन्ध ब्रह्माण्डसँग छ । तन्त्र विधिअनुसार तला निर्माण गरिन्छ ।’ सेतो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थापन समितिका अध्यक्ष नीलकाजी शाक्यका घर छोइदिएकै निहुँमा झगडासमेत पर्थ्यो । रथ मोड्न अफ्ठेरो हुन्थ्यो । बाटो पनि गतिला थिएनन् । ‘कोही बेला रथ बाङगो पनि बनाइदिंदा रहेछन्,’ शाक्य भन्छन्, ‘त्यही भएर घरमा छुन्थ्यो । लड्थ्यो । अहिले यस्तो समस्या छैन ।’


झगडा पर्ने कारणले केही वर्ष रथयात्राको रौनकमा कमी आएको शाक्यले बताए । पहिला रौनकमा कमी आए पनि अहिले फेरि यो परम्परा ब्युँतेको उनले बताए । ‘८ वर्षअघि रथ यात्रा व्यवस्थापन समिति बनायौं,’ शाक्य भन्छन्, ‘समिति बनएपछि यसले व्यवस्थापन गर्न थाल्यो । नत्र यो ठूलो पर्व लोप हुने अवस्थामा थियो ।’ सामान्यतः चार दिन चल्छ यो जात्रा । जात्रा चार दिन चल्ने भए पनि कोही बेला रथ दुर्घटना भएर जात्रा लम्बिएको उदाहरण छन् । ‘रथ ठाउँमा नपुर्‍याएरसम्म जात्रा सकिँदैन,’ शाक्य भन्छन्, ‘रथमा खराबी आयो वा दुर्घटना भयो भने जात्रा लम्बिन्छ । जात्रा लम्बियो भने खर्च पनि बढ्छ । समस्या हुन्छ ।’


नेवार समुदायका सबै जाति मिलेर यो जात्राको तारतम्य मिलाउने गर्छन् । रथ बनाउन नेवार समुदायका बेग्ला बेग्लै जातिबीच कामको बाँडफाँड गरिएको हुन्छ । मानन्धर समुदायले देउतामाथि बस्ने चाँदीको इँला राख्छ । मुख्य गेटमा टुँडाल राख्ने काम पनि मानन्धरले नै गर्छन् । चित्रकारले रथको पाङग्रामा चित्र कोर्न काम गर्छन् । रथमा आँखाको चित्र बनाइन्छ । डंगालका अनुसार आँखालाई नागको प्रतीकका रूपमा लिइन्छ । कंसाकारले रथ तान्ने बेलामा बाजागाजा बजाउँछन् । पूजा गर्ने काम शाक्यले गर्छन् । फूलको व्यवस्थापन गर्ने काम मुनिकार समुदायले गर्छन् ।


मुख्य जिम्मेवारीचाहिँ ज्यापू समुदायको हुन्छ । रथ बनाउने, रथयाक्राको त्रममा प्रत्येक तलामा बस्ने काम पनि ज्यापू (कृषक) समुदायकै हुन्छ । मत्स्येन्द्रनाथको उत्पत्तिको कथा पनि किसान समुदायसँगै जोडिएको छ । किसानले जमलमा खेत खन्दा सेतो मत्स्येन्द्रनाथको मूर्ति भेटिएको विश्वास छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?