धरमरमा पाटन स्कुल

गणेश राई

ललितपुर — देशको दोस्रो जेठो स्कुल पाटन माध्यमिक विद्यालय यतिखेर संकटबाट गुज्रिएको छ । कुनै बेला हजारौं विद्यार्थी पढ्ने ऐतिहासिक सरकारी विद्यालयमा अहिले स्थानीय ३ जना मात्र छन् । तीमध्ये विद्यालय व्यवस्थापन समिति अध्यक्ष किरण महर्जनका छोरा निशान एक हुन् ।

गत वैशाखमा ३ सय ३ विद्यार्थी भर्ना भएका थिए । भर्ना भएकामध्ये यो चैतमा सुरु वार्षिक परीक्षा २ सय ३० जनाले दिँदै छन् । प्रधानाध्यापक ईश्वरमान बज्राचार्यका अनुसार ७३ जनाले बीचैमा पढाइ छाडेर अन्यत्र गएका छन् । किनभने अधिकांश उपत्यकाबाहिरबाट आएर ज्यामी, ज्याला मजदुरी, खुद्रा व्यापार गर्ने अभिभावकका छोराछोरी भर्ना गरिएका छन् । निश्चित समय सहरमा मजदुरी गर्ने र गाउँघर फर्किने गर्छन् । त्यसैले भर्ना भएका विद्यार्थी बीचैमा पढाइ छाडेरअभिभावकको साथ लाग्छन् ।

काठमाडौंको दरबार हाई स्कुल देशकै पहिलो विद्यालय हो । यो १९१० सालमा स्थापना भएको हो । त्यसपछि पाटन मावि सालमा १९८१ मा स्थापना गरिएको हो । यो स्कुल पाटनढोकासँगै जोडिएको छ । विद्यालय ललितपुर महानगरपालिका २२ पाटनढोकास्थित ९ रोपनी ५ आनामा छ । सहरको मध्यबिन्दुमा भए पनि स्थानीयको प्राथमिकतामा यो पर्न सकेको छैन । विद्यालयको भौतिक संरचना बलियो भए पनि स्थानीयले आफ्ना छोराछोरी निजी विद्यालयमै पढाउँछन् ।

यहाँ शिशुदेखि १२ कक्षासम्म पढाइन्छ । ‘भर्ना भएकामध्ये ३ जनामात्र स्थानीय बासिन्दाका छोराछोरी छन्,’ प्रधानाध्यापक बज्राचार्यले भने, ‘अधिकांश बाहिरबाट आएर रोजीरोटी गर्ने अभिभावकका छोराछोरी छन् । हामी उनीहरूलाई सुविधासहित पढाइरहेका छौं ।’ उनका अनुसार कक्षा ११ र १२ मा विद्यार्थी समस्या छैन । भन्छन्, ‘तर प्रारम्भिक कक्षादेखि प्राथमिक तहमा बालबालिका भर्ना पाउनै गाह्रो छ ।’

विद्यालयले गत असारमा महानगरपालिका शिक्षा शाखामा बुझाएको विद्यार्थी विवरणमा शिशु कक्षामा ८, कक्षा १ देखि ५ मा ९६, कक्षा ६–८ मा ९१ र कक्षा ९–१० मा ७० जना भर्ना भएको उल्लेख छ । खुलामोडबाट ४३ विद्यार्थी पढदै छन् । विद्यालयले आयस्रोत भएका अभिभावकबाट तहअनुसार प्रतिविद्यार्थी ५ सयदेखि बढीमा २ हजारसम्म शुल्क लिने गरेको छ । परीक्षा र स्वास्थ्योपचार शीर्षकमा शुल्क लिइन्छ । विद्यालय हातामा पाटनढोका छेउतर्फ केही सटर भाडामा लगाइएको छ ।

बज्राचार्यका अनुसार शुल्क र भाडाबाट वार्षिक ६० लाख रुपैयाँ आम्दानी हुन्छ । ‘त्यसबाट कम्प्युटर शिक्षक, लेखापाल र अन्य सहयोगी कर्मचारीको व्यवस्थापन गरेका छौं,’ उनले भने । प्रधानाध्यापक बज्राचार्यका अनुसार ०७२ को भूकम्पअघिसम्म साढे ४ सय विद्यार्थी पढ्थे । भूकम्पले भवन जीर्ण बन्यो । सहरको साँघुरो कोठा भाडामा बस्नेहरू अन्यत्र सरेर गए । विद्यार्थी संख्या हवात्तै घट्यो ।

भूकम्पपछि जीर्ण भवनबाहिरको खेलमैदानमा १४ कोठाको ६ अस्थायी प्रिफ्याब टहरा बनाइएका छन् । यसैमा पठनपाठन हुन्छ । दिउँसो सत्रमा कक्षा १० सम्म पढाइन्छ । पढाउन २२ स्थायी शिक्षक छन् । प्रावि तह ११, निमावि ४ र माविमा ७ जनाको दरबन्दी छ । बिहानी सत्रमा कक्षा ११ र १२ को पठनपाठन हुन्छ । शिक्षा, व्यवस्थापन र मानविकीतर्फ करिब ५ सय विद्यार्थी पढ्छन् । जिल्लागत रूपमा नतिजा अब्बल छ । त्यसैले यो तहमा भर्नाका बेला विद्यार्थीको चाप हुने गरेको प्रधानाध्यापक बज्राचार्य बताउँछन् ।

अत्याधुनिक भवनको उपयोग कसरी ?
भूकम्पले जीर्ण पाटन माविको ३ अत्याधुनिक भवन बन्ने क्रममा छन् । पुनर्निर्माण प्राधिकरणको समन्वयमा जापान सहयोग नियोग (जाइका) ले यो भवन बनाएको हो । डेढ वर्षभित्र ४८ कोठा तथा सेमिनार हलसहितको ३ भवन ठडिनेछन् । एउटा साढे चारतले र दुईवटा दुई र तीन तलाका हुनेछन् । त्यसपछि हाल अस्थायी टहरा रहेको ठाउँ खेलमैदानकै रूपमा रहनेछ ।

विद्यालयको भौतिक संरचना नयाँ स्वरूपमा बनेपछि कसरी सुचारु होला ? त्यसै विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका प्रधानाध्यापक बज्राचार्य पुरानो पाराले चल्न नसक्ने अनुमान गर्छन् । ‘सरकारी स्कुल पुरानै हिसाबले भन्दा पनि गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गर्न सक्नुपर्छ,’ साढे ३ दशकदेखि यसै विद्यालयमा कार्यरत बज्राचार्यको उमेरले अब साढे ३ वर्षसम्म प्रधानाध्यापक रहनेछन् । भन्छन्, ‘विद्यालय सञ्चालन जिम्मेवारी महानगरपालिका मातहतमा आएकाले ऐतिहासिक शिक्षालयको विकासमा केही नयाँ पहल हुनेछ ।’

पाटन माविबाट ५ मिनेट दूरीमा ३ सरकारी मावि छन् । छिमेकमा रहेका बालविनोन, त्रिपद्म र मदन स्मारक माविमा पनि विद्यार्थी न्यून हुनु नै मूल समस्या हो । विद्यार्थी पर्याप्त नहुँदा विद्यालयलाई आपसमा गाभ्न पनि सकिन्छ । किनभने मुलुककै सबैभन्दा महँगो रातो बंगला स्कुल पनि पाटन माविसँगै छ र अन्य निजी विद्यालय पनि छन् ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले संवैधानिक व्यवस्थाअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारको जिम्मेवारी आएको उल्लेख गर्दै नयाँ ढंगबाट सुधारको पहल अघि बढाएको बताए । ‘सरकारी विद्यालयको शैक्षिक गुणस्तर धेरै पहिलेदेखि खस्किएको हो,’ उनले भने । पाटन मावि मात्र नभई महानगरपालिकाका सबैजसो सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थी न्यून रहेको उनले बताए । ‘शिक्षा क्षेत्रका विशेषज्ञहरूको सुझाव, सल्लाहलाई आत्मसात् गरी सामुदायिक विद्यालय सुधार्नेतर्फ पहल गर्दैछौं,’ अभिभावकले छोराछोरीको शैक्षिक भविष्य सुनिश्चित गर्न निजी विद्यालयप्रति आकर्षित भएको उल्लेख गर्दै उनले भने, ‘शैक्षिक गुणस्तर बोर्डिङ स्कुलको हाराहारीमा पुर्‍याउने लक्ष्य राखेका छौं । परिणाम देखिन समय लाग्छ ।’

अंग्रेजीका निम्ति अक्षयकोष
पाटन माविमा २०५० मा स्थापना गरिएको ५ लाख रुपैयाँ राशिको ‘तुल्सीप्रसाद ढुंगेल स्मृति अक्षयकोष’ छ । पूर्वविद्यार्थी झणेन्द्रशमशेर जबराले आफ्ना अंग्रेजी विषयका गुरु तुल्सीप्रसाद ढुंगेलको सम्झनामा उक्त अक्षयकोष स्थापना गरेका हुन् । कोषको ब्याजबापत प्राप्त रकमबाट हरेक वर्ष एसएलसी (अहिले एसईई) मा यस माविबाट अंग्रेजी विषयमा उत्कृष्ट अंक हासिल गर्ने १ जनालाई १ तोलाको स्वर्णपदक दिने सर्तमा कोष सञ्चालनमा छ ।

‘सर्तअनुसार केही वर्ष चल्यो तर सुनको भाउ महँगो हुनु र अक्षयकोषको ब्याज रकम कम प्राप्त हुनुले चाँदीमा थोरै सुनको पदक बनाएर पुरस्कृत गर्ने गरिएको छ,’ प्रधानाध्यापक वज्राचार्य भन्छन्, ‘यसै कोषको ब्याजबाट अरू कक्षामा अंग्रेजी विषयमा उत्कृष्टलाई नगद छात्रवृत्ति दिने गरेका छौं ।’ अक्षयकोषको रकम न्यून भएकाले विद्यालय स्वयंले थपेर विद्यार्थीलाई हौसला दिने गरेको उनले जनाए ।

प्रकाशित : चैत्र २०, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

ब्रुमर पुग्नै ढिलो

विद्या राई

काठमाडौँ — महानगरले इटालीबाट हालै ल्याएको पाँचवटा ब्रुमर (यान्त्रिक कुचो) चलाउन थालेको साता भयो । तर चाबहिल रुटमा भने ब्रुमर नपुगेको महानगरबासीले गुनासो गरेका छन् । 

चक्रपथभित्र पर्ने चाबहिल मेडिकेयर, ओम, हेल्पिङहेन्डस र दीर्घायु गुरुजस्ता नाम चलेका अस्पताल भएको क्षेत्र हो । स्वास्थ्य तथा वातावरणका हिसाबले संवेदनशील क्षेत्र मानिने अस्पताल क्षेत्रका राजमार्गमा समेत धूलो बढार्नका लागि महानगरले तदारुकता देखाएको छैन ।

महानगरले ब्रुमर भित्र्याएको थाहा पाएपछि रातारात सडक सफाचट हुने कपनकी ७० वर्षीया चन्द्रमाया तामाङको अपेक्षा थियो । राष्ट्रिय सभागृहमा गत चैत १२ मा तामझामका साथ शुभारम्भ गरेको भएर पनि यो खबर उनीसम्म पुगेको थियो ।

चाबहिलस्थित ओम हस्पिटलमा स्वास्थ्योपचारका लागि पालो कुर्दै भेटिएकी उनले भनिन्, ‘यता नि धूलो बढार्ने मेसिन बाटो बढार्न आउँछ भनेका थिए, धूलो उस्ताको उस्तै छ, नाक, मुख नछोपी हिँडिसक्नु छैन,’ थपिन्, ‘पानी पर्दा झ्याप्पै हिलो, घाम लाग्दा कुहिरीमण्डल ।’

उनलाई चिनी रोग लागेको १० वर्ष भयो । ओम हस्पिटलमा निरन्तर चेकजाँच र उपचार गराउँदै आएकी छन् । उनलाई स्वास्थ्योपचार र घरायसी कामले बाहिर निस्किरहनुपर्छ । धूलोधूवाँले गर्दा बुढ्यौली उमेरकी उनलाई खुब समस्या हुन्छ ।

चाबहिल मित्रपार्कमा आरके स्टोरका रामकृष्ण श्रेष्ठले पसलका सामान टक्टकाउँदै भने, ‘यी सामानका धूलो एकछिन टक्टकायो, एकैछिनमा उस्तै हुन्छ ।’ महानगरले ब्रुमर चलाउने रुट यता पनि पारेकाले धूलोको हैरानी कम हुने आशा नराखेका भने होइनन् । एक सातासम्म पनि सडकमा ब्रुमर नचलेपछि आशा मारिसके । ‘सबैभन्दा धूलोधूवाँ यतै हुन्छ, यतैचाहिँ प्राथमिकतामा परेन,’ उनले दुःखेसो पोखे । उनको पसल अगाडि सेकेन्ड–सेकेन्डमा सवारीसाधनका ताँती गुड्छन् । सडकका धूलोजति सबै उनकै पसलमा पुग्छ ।

तामाङ र श्रेष्ठ पात्र प्रतिनिधि माक्रै हुन् । धूलोधूवाँले आत्रान्त हुने मुख्य ठाउँ चाबहिल चोक र आसपासका स्थानीयको सामूहिक असन्तुष्टि हो यो । ब्रुमर चलाउनका लागि महानगरको प्राथमिकतामा नपरेपछि सर्वसाधारण धूलोधूवासँगै गुज्रन बाध्य छन् ।

ब्रुमर शुभारम्भकै बेला टेकुबाट सुरु भएर चक्रपथभित्र पाँचवटा रुटमा सञ्चालन हुने भनिएको थियो । टेकुबाट सुरु भएर कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपास, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल, वसन्तपुर, मध्यबानेश्वर, भद्रकालीलगायत क्षेत्रका सडकमा प्रयोग गरिने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताएका थिए ।

बेलुकी आठदेखि बिहान चार बजेसम्म प्रतिदिन ८ घण्टाका दरले ब्रुमर सञ्चालनमा छन् । पाँचवटा ब्रुमरले प्रतिदिन ४० घण्टा सफाइ गर्छन् ।

चाबहिललाई प्राथमिकतामा नपारेको जिज्ञासामा प्रवक्ता डंगोलले भने, ‘टेकुबाट सुरु भएर तोकिएको सबै रुटमा ब्रुमर चलिरहेको छ, नपुगेको ठाउँमा केही दिनमै पुग्छ ।’ यसअघि सञ्चालन भएका ठाउँबाट ५६ टन धूलो उठाइसकेको पनि उनले बताए ।

प्रकाशित : चैत्र २०, २०७५ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्