कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सडकमा पानी छताछुल्ल

विमल खतिवडा

काठमाडौँ — पिउने पानी उपत्यकाको प्रमुख समस्या हो । राजधानीका घरघरमा पानीको अभाव छ । पानीकै लागि हिटी (सार्वजनिक धारा) मा लाइन लाग्नुपर्ने बाध्यता छ । हिटी पनि सुक्दै गएकाले थप चिन्ता छाएको छ । वर्षौंदेखि मेलम्चीको पानी आउने आशमा रहेका उपत्यकावासी ढिलाइले गर्दा निराश छन् ।

सडकमा पानी छताछुल्ल

ठेकदार भागेपछि मेलम्चीको पानी कहिले आउँछ भन्ने अन्योल छ । यस्ता समस्याका बाबजुद पनि सडकमा पानी बगिरहेको छ । घरमा पानी छैन, तर सडक जलमग्न बन्छन् । ती सडकमा यत्रतत्र मूल फुटेझैं निस्किएको पानी बोतल, जारमा भरिरहेको दृश्य नौला लाग्दैनन् ।


उपत्यकाका तीन जिल्लामा दैनिक ४२ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग आधाभन्दा कम १७ करोड लिटर मात्र वितरण गर्दै आएको छ । ०६८ को जनगणनाअनुसार ललितपुरमा ४ लाख ६८ हजार १ सय ३२, भक्तपुरमा ३ लाख ४ हजार ६ सय ५१ र काठमाडौंमा १७ लाख ५४ हजार २ सय ४४ जनसंख्या छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार सुक्खा सिजन लागेपछि पानीको माग धेरै छ । तर आपूर्ति कम छ । पानीको माग धेरै भइरहेको समयमा ठाउँठाउँमा पाइप फुटेर पानी खेर गइरहेको छ । ‘लिकेजले मागअनुसारको पानी वितरणमा थप समस्या भएको छ,’ उनले भने, ‘एकातिर मर्मत गर्‍यो, अर्कातिर समस्या देखा पर्छ ।’


उपत्यका खानेपानी लिमिटेडले जुन दिन पानी छाड्छ, त्यो दिन प्रायः सडक जलमग्न बन्छन् । कतै दिन बिराएर त कतै सातामा एक पटक पानी वितरण गरिन्छ । वितरण गरेको दिन राणाकालीन पाइपका कारण फुटेर पानी निस्कने गरेको छ । ‘पाइप पुराना छन्, हेभी गाडीका कारणले गर्दा समस्या भएको छ,’ उनले भने, ‘जसले गर्दा पाइप फुटेर पानी लिक हुने गरेको छ ।’ चाबहिल, मैतीदेवी, कोटेश्वर, नयाँबानेश्वर, कालोपुल, मित्रपार्कलगायत स्थानमा यो समस्या बढी छ । ‘बिग्रिएको धेरै ठाउँमा मर्मत गरेका छौं,’ उनले भने, ‘तर ठूलो रोडमा खनेर बनाउनुपर्ने हुन्छ, त्यसका लागि सडकको स्वीकृति लिनुपर्छ, सडकले गर्दा पनि मर्मतमा ढिलाइ हुने गरेको छ ।’ पाइप प्रायः सडक छेउबाटै विस्तार गर्ने गरिन्छ । बीच सडकबाट ठूला पाइप मात्र विस्तार गरिन्छ ।


कतै ढलका पाइप फुटेर पनि समस्या छ । ‘पाइप फुटेर पानी निस्कने समस्या प्रायः भइरहेकै हुन्छ,’ उनले भने, ‘अहिले अलि बढी नै समस्या देखिएको छ ।’ मेलम्चीको पाइप विस्तार गर्ने क्रममा पुराना पाइप फुटेर पनि समस्या थपिएको छ । ‘जथाभावी पाइप फुटेकाले त्यसलाई नियन्त्रणका लागि कन्ट्र्याक्ट प्याकेज ल्याउँदै छौं,’ उनले भने, ‘तुरुन्तै यो सञ्चालनमा आउनेछ, हामी कन्ट्र्याक्टमा गइसकेका छौं ।’

यो कन्ट्र्याक्टले सडकसँग समन्वय गरेर साना/ठूला लिकहरूको मर्मत गरिनेछ । कम्तीमा तीन फिटसम्म पाइप गाड्ने गरिएको छ । मेलम्ची खानेपानी वितरण विकास बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेलका अनुसार काठमाडौं भित्रको रिङरोडमा करिब ६० किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ । ‘राणाकालीन पाइपहरू छन्, अलिकति पानीको प्रेसर हुनेबित्तिकै फुट्ने र लिकेज हुने धेरै नै समस्या छ,’ उनले भने, ‘पुराना पाइप विस्थापन गर्नकै लागि यो प्रोजेक्ट बनेको हो ।’ उनका अनुसार मेलम्ची खानेपानी आयोजना हेडर्वकस बाहेक ९५ प्रतिशत काम सकिएको छ । ठेकदार भागेको साढे ३ महिना पुग्न लाग्यो । पानी मात्र डाइभर्ट गर्नका लागि ३ प्रतिशत मात्र काम बाँकी छ ।


‘अहिले काम ठप्प भएको छ, यसलाई अगाडि बढाउनका लागि फास्टट्र्याकमा काम गर्न सकिए छिटो पानी ल्याउन सकिन्छ भन्ने हो,’ उनले भने, ‘फास्टट्र्याकमा काम गर्न सरकारले निर्देशन दिनुपर्ने हुन्छ, त्यसका लागि पर्खिएर बसेका छौं ।’ जथाभावी पाइप फुटेपछि पिच गरेको वर्ष दिन नपुग्दै सडक बिग्रिएका छन् । पिच उप्किएको छ । जहाँ पानी निस्किएको छ, त्यही खाल्डाखुल्डी बढी छन् । पानी सुकेपछि धूलो उडेर हिँडिसाध्य हुँदैन ।


ट्राफिक प्रहरीका अनुसार जथाभावी पानी निस्किएको ठाउँमा खाल्डाखुल्डी बढी छन् । त्यस्तो ठाउँमा गाडीको गति घट्छ । जसले गर्दा जाम हुन्छ । उता सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता अर्जुन सुवाल जथाभावी निस्कने गरेको पानीले गर्दा सडक बिग्रिएको बताउँछन् ।

प्रकाशित : चैत्र १५, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?