मल्लकालीन शैलीमा विद्यालय

प्राधिकरण नमानेपछि मौलिक शैलीमा भवन बनाउन मध्यपुर ठिमी नगरपालिकाले एक करोड छुट्ट्याएको छ
कान्तिपुर संवाददाता

भक्तपुर — भूकम्पले क्षतिग्रस्त आदर्श मावि लायुको भवन मल्लकालीन मौलिक शैलीबाटै बन्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको कार्यालयले आरसीसी भवन बनाउनपर्ने अडान गरे पनि स्थानीयको माग मौलिक शैलीबाटै बन्नुपर्ने थियो । 

लामो अलमलपछि मध्यपुरथिमि नगरपालिकाले क्षतिग्रस्त विद्यालय भवनलाई आफ्नो खर्चमा मल्लकालीन शैलीलै पुनर्निर्माण थालेको हो । भूकम्पको धक्काले विद्यालय प्रशासन र तीनवटा भवनमा सञ्चालित १० वटा कक्षाकोठा क्षतिग्रस्त भएको थियो । विद्यालय भवन पुनर्निर्माणका लागि सोमबार प्रदेश नम्बर ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठले शिलान्यास गरे ।

प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा (सीएलपीआईयू) ले क्षतिग्रस्त विद्यालय भवन मौलिक शैलीमा पुनर्निर्माण गर्न अस्वीकार गरेको हो । ‘क्षतिग्रस्त मल्लकालीन भवन पुनर्निर्माणका लागि करिब ७० लाख रुपैयाँ विनियोजन भएको थियो,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठले भने, ‘सीएलपीआईयूले मौलिक शैलीको नक्सा अस्वीकार गर्दै विनियोजित बजेट फिर्ता गर्‍यो ।’

सीएलपीआईयूले डन्डी, सिमेन्टको प्रयोग गरी आरसीसी भवन निर्माण गर्ने अडान नछोडेको उनले बताए । स्थानीय बासिन्दा, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले मौलिक शैलीमै बन्नुपर्ने अडान लियो । उक्त क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि मध्यपुरथिमि नगरले चालू आर्थिक वर्ष ०७५/७६ मा १ करोडरुपैयाँ विनियोजन गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

भक्तपुरका अन्तिम राजा रणजित मल्लले आफ्नी गंगा महारानीका लागि निर्माण गरेको नौतले दरबार विभिन्न कालखण्डमा भत्किएको र जीर्णोद्धार गर्ने क्रममा दुई तलामा सीमित भएको स्थानीय बताउँछन् । तलेजु भवानी मन्दिर परिसरको उक्त भवन गंगा महारानीको इच्छाबमोजिम चारैतिर बाटो राखेर बनाएको भन्ने कथन छ । गंगा महारानीले ७ वटा घर हटाउन लगाएर उक्त भवन निर्माण गर्न लगाएको कथन छ । २०२१ मा स्थापना भएको आर्दश माविको भवन २०२३ मा जीर्णोद्धार भएको तथ्यांक रहेको विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार घोले बताए ।

नगरपालिकाले आदर्श मावि लायुलाई नगरको नमुना विद्यालय घोषणा गरी सुविधासम्पन्न संरचना निर्माणलाई जोड दिएको नगरप्रमुख श्रेष्ठले बताए । नमुना विद्यालयमा पूर्वाधार, स्वच्छ खानेपानी, शौचालय व्यवस्थापन, ल्याब निर्माणलगायत छन् । क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको प्रक्रियामा रहेको प्रधानाध्यापक घोले बताए ।

उपभोक्ता समितिमार्फत प्रशासन, १० वटा कक्षाकोठासहितको दुईतले तीनवटा भवन निर्माण गरिने उनले बताए । भवन पुरातात्त्विक चुना, सुर्कीको प्रयोगमा दलिन राखेर बनाउने जनाएको छ । विद्यालयको दुईवटा भवन प्रवलीकरण गरिसकेको छ ।

आदर्श माविमा स्वच्छ खानेपानी स्वच्छ विद्यालय कार्यक्रमअन्तर्गत प्रदेश ३ सामाजिक विकास मन्त्रालय ‘शिक्षा विकास निर्देशनालय’ बाट १० लाख रुपैयाँ विनियोजन भएको विद्यालय प्रशासनले जनाएको छ । उक्त बजेटको लागतमा शौचालय स्तर वृद्धि, अन्डरग्राउन्ड रिर्जभ ट्यांकी निर्माण गरिने प्रधानाध्यापक घोले बताए । हाल विद्यालयमा एक हजार ५० विद्यार्थी अध्ययनरत छन् ।

विशेषगरी दृष्टिविहीन विद्यार्थीको लागि विद्यालयले छुट्टै शिक्षकको व्यवस्था गरेको जनाएको छ । नयाँ शैक्षिक सत्रमा करिब ३ सय विद्यार्थी भर्ना गराउन सफल भएको उनले बताए । गुणस्तर शैक्षिक सुधारका लागि विद्यालयले कक्षा ८ र ९ मा अंग्रेजी तथा नेपाली मिडियममा छुट्टाछुट्टै सेक्सनको व्यवस्था गरेको जनाएको छ । आदर्श माविमा कक्षा ११ र १२ मा सिनियर राष्ट्रिय सेवा दल र ९ कक्षाका विद्यार्थीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।

विद्यालय भवनको पुनर्निर्माण विद्यालय व्यवस्थापन समितिमार्फत गरिने जनाएको छ । भवन निर्माणका लागि स्थानीय विकेश श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय पुनर्निर्माण उपसमिति गठन भई कार्य प्रारम्भ भएको समिति अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र १२, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

'गुरुआमा’ को जजमानी

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपतिनथा मन्दिममा जानुभएको भए कुनै पण्डितकोमा तपाईंले अवश्यै टीका थाप्नुभएको होला । मन्दिर वरपर भक्तजनलाई टीका लगाइदिएर आएको दक्षिणाले गुजारा गर्ने ब्राह्मण पुरुष भेटिनु सनातनी परम्परै हो ।

अचेल भने यो परिदृश्य पाशुपत क्षेत्रमा बदलिएको छ जहाँ महिला ब्राह्मणहरू पनि जजमानी गरेझैं टीका लगाएर दक्षिणा लिने काममा दिनहुँ लागिरहेका छन् जसलाई पशुपति क्षेत्र विकास कोषले नाम दिएको छ, ‘गुरुआमा’ । तिनैमध्येकी एक हुन्, तिलगंगामा बस्ने ३३ वर्षीया देवकी पोखरेल । भक्तजनहरूलाई उनी टीका लगाइदिन्छिन्, मन्त्र भन्दै डोरो बाँधिदिन्छन् र श्रद्धाले कसैले शिर झुकाए आशीर्वाद पनि दिन्छिन् ।

आठ कक्षा पढेकी उनी विवाह गरेपछि यसरी ‘गुरुआमा’ को काम गर्न थालेकी हुन् । उनका पति पहिल्यैदेखि यो काम गर्थे । ‘मचाहिँ एउटा म्यानपावरमा जागिर खान्थें र फाइनान्समा पनि काम गर्थें,’ उनी भन्छिन्, ‘तर बच्चा भएपछि घरपरिवार र जागिर दुवै सम्हाल्न समय मिलेन ।’

काम छाडे आर्थिक समस्या, नछाडे बच्चालाई हेर्ने मान्छेको अभाव । उनलाई यस्तो अप्ठ्यारो स्थितिले बाटो देखायो, पतिले झैं पण्डित्याइँ गर्ने । यसो गर्दा आफूलाई मिलेको समयमा उनी काम गर्न पाउँथिन् र बच्चालाई समय पनि दिन सक्थिन् । महिलाको सहभागितै नभएको पेसामा हाम फाल्दा सुरुमा उनलाई केही धक लाग्यो ।

‘सुरुसुरुमा त मसँग कोही टीका थाप्न पनि आएन, कसैले डोरो पनि बाँधिमागेन,’ उनी भन्छिन्, ‘तर, रहँदा बस्दा मैले पनि भक्तहरू पाएँ, पेसा पनि चल्न थाल्यो ।’

देवकी आफ्नो यो कामले अरू महिलालाई पनि टीका लगाइदिने काममा उक्साएको ठान्छिन् जसमा उनलाई खुसी नै छ । अहिले पशुपतिमा अरू ९ महिला पनि टीकाटालो गरेर दक्षिणा बटुल्छन् जसभित्र उनकी सासूसमेत पर्छिन् ।

यसरी छोरो स्कुल गएदेखि उसको छुट्टी नहुन्जेलको समय टीका लगाइदिँदा सामान्य दिनमा औसत ३ सय रुपैयाँ र चाड पर्वमा हजार बाह्र सय कमाइ हुने गरेको उनी बताउँछिन् । यसरी कसैको खटनमा नपरी आफ्नो समयमा काम गर्न पाउँदा देवकी सन्तुष्ट छिन् ।

बितेका आठ वर्षमा उनले बिभिन्न तीतामीठा अनुभवहरू बटुलेकी छिन् । पुरुषहरूभन्दा बढी महिलाहरू नै उनकोमा टीका थाप्न आउँछन्, त्यसमा पनि किशोरीहरू बढी छन् । आफूभन्दा पाका र आफ्ना उमेरकाहरूले नपत्याएकामा उनलाई केही चित्त पनि दुखेको छ । नयाँ पुस्ताले आफूलाई साथ दिएकामा भने उनको मन हौसिएको छ । महिला र पुरुष बराबरी भएकाले पेसा र धर्मसंस्कृतिमा पनि बराबर हुनुपर्ने उनी ठान्छिन् ।

यो पेसालाई देवकी कर्मकाण्डकै एउटा पाटो ठान्छिन् । पशुपति क्षेत्र विकास कोषका अनुसार महिलाहरू थोरै भएकाले ‘गुरुआमाहरू’ को संख्या कति छ भन्ने थाहा भए पनि ‘गुरुबा’ हरूको संख्या भने ज्यादा भएकाले यति नै भन्न सकिने अवस्था छैन ।
परम्पराअनुसार जसले पनि गर्न सक्ने यो पेसामा आवद्ध हुन कहीँ कतै दर्ता गर्नुपर्ने नियम नभएको कोषले जनायो । त्यसो हुनाले पनि को कति पेसामा छन् भन्ने आधिकारिक तथ्यांक नभएको हो ।

सरोजकुमारी चौधरी
(प्रशीक्षार्थी)

प्रकाशित : चैत्र १२, २०७५ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्