'गुरुआमा’ को जजमानी

काठमाडौँ — पशुपतिनथा मन्दिममा जानुभएको भए कुनै पण्डितकोमा तपाईंले अवश्यै टीका थाप्नुभएको होला । मन्दिर वरपर भक्तजनलाई टीका लगाइदिएर आएको दक्षिणाले गुजारा गर्ने ब्राह्मण पुरुष भेटिनु सनातनी परम्परै हो ।

अचेल भने यो परिदृश्य पाशुपत क्षेत्रमा बदलिएको छ जहाँ महिला ब्राह्मणहरू पनि जजमानी गरेझैं टीका लगाएर दक्षिणा लिने काममा दिनहुँ लागिरहेका छन् जसलाई पशुपति क्षेत्र विकास कोषले नाम दिएको छ, ‘गुरुआमा’ । तिनैमध्येकी एक हुन्, तिलगंगामा बस्ने ३३ वर्षीया देवकी पोखरेल । भक्तजनहरूलाई उनी टीका लगाइदिन्छिन्, मन्त्र भन्दै डोरो बाँधिदिन्छन् र श्रद्धाले कसैले शिर झुकाए आशीर्वाद पनि दिन्छिन् ।


आठ कक्षा पढेकी उनी विवाह गरेपछि यसरी ‘गुरुआमा’ को काम गर्न थालेकी हुन् । उनका पति पहिल्यैदेखि यो काम गर्थे । ‘मचाहिँ एउटा म्यानपावरमा जागिर खान्थें र फाइनान्समा पनि काम गर्थें,’ उनी भन्छिन्, ‘तर बच्चा भएपछि घरपरिवार र जागिर दुवै सम्हाल्न समय मिलेन ।’


काम छाडे आर्थिक समस्या, नछाडे बच्चालाई हेर्ने मान्छेको अभाव । उनलाई यस्तो अप्ठ्यारो स्थितिले बाटो देखायो, पतिले झैं पण्डित्याइँ गर्ने । यसो गर्दा आफूलाई मिलेको समयमा उनी काम गर्न पाउँथिन् र बच्चालाई समय पनि दिन सक्थिन् । महिलाको सहभागितै नभएको पेसामा हाम फाल्दा सुरुमा उनलाई केही धक लाग्यो ।


‘सुरुसुरुमा त मसँग कोही टीका थाप्न पनि आएन, कसैले डोरो पनि बाँधिमागेन,’ उनी भन्छिन्, ‘तर, रहँदा बस्दा मैले पनि भक्तहरू पाएँ, पेसा पनि चल्न थाल्यो ।’


देवकी आफ्नो यो कामले अरू महिलालाई पनि टीका लगाइदिने काममा उक्साएको ठान्छिन् जसमा उनलाई खुसी नै छ । अहिले पशुपतिमा अरू ९ महिला पनि टीकाटालो गरेर दक्षिणा बटुल्छन् जसभित्र उनकी सासूसमेत पर्छिन् ।


यसरी छोरो स्कुल गएदेखि उसको छुट्टी नहुन्जेलको समय टीका लगाइदिँदा सामान्य दिनमा औसत ३ सय रुपैयाँ र चाड पर्वमा हजार बाह्र सय कमाइ हुने गरेको उनी बताउँछिन् । यसरी कसैको खटनमा नपरी आफ्नो समयमा काम गर्न पाउँदा देवकी सन्तुष्ट छिन् ।


बितेका आठ वर्षमा उनले बिभिन्न तीतामीठा अनुभवहरू बटुलेकी छिन् । पुरुषहरूभन्दा बढी महिलाहरू नै उनकोमा टीका थाप्न आउँछन्, त्यसमा पनि किशोरीहरू बढी छन् । आफूभन्दा पाका र आफ्ना उमेरकाहरूले नपत्याएकामा उनलाई केही चित्त पनि दुखेको छ । नयाँ पुस्ताले आफूलाई साथ दिएकामा भने उनको मन हौसिएको छ । महिला र पुरुष बराबरी भएकाले पेसा र धर्मसंस्कृतिमा पनि बराबर हुनुपर्ने उनी ठान्छिन् ।


यो पेसालाई देवकी कर्मकाण्डकै एउटा पाटो ठान्छिन् । पशुपति क्षेत्र विकास कोषका अनुसार महिलाहरू थोरै भएकाले ‘गुरुआमाहरू’ को संख्या कति छ भन्ने थाहा भए पनि ‘गुरुबा’ हरूको संख्या भने ज्यादा भएकाले यति नै भन्न सकिने अवस्था छैन ।

परम्पराअनुसार जसले पनि गर्न सक्ने यो पेसामा आवद्ध हुन कहीँ कतै दर्ता गर्नुपर्ने नियम नभएको कोषले जनायो । त्यसो हुनाले पनि को कति पेसामा छन् भन्ने आधिकारिक तथ्यांक नभएको हो ।


सरोजकुमारी चौधरी

(प्रशीक्षार्थी)

प्रकाशित : चैत्र १२, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?