कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक कि सम्पदा ?

सरकार र गाउँलेबीच कुरा नमिल्दा चापागाउँ सडक निर्माण अलपत्र
प्रशान्त माली

(ललितपुर) — मुख्य सडक आसपासका धुलाम्मे सडक विस्तारै कालो पत्रे हुँदै छन् । चापागाउँ ओहोरदोहोर गर्न भने धूवाँधूलोमय बाटोको विकल्पै छैन । धुलाम्य सडकको दायाँबायाँ उभिएका उस्तै पुराना घर र पाटीपौवालाई भत्काएरै भए पनि आवागमनको मार्ग चिल्लो र फराकिलो बनाउनुपर्ने सरकारी योजना छ । चापागाउँबासी भने सडक बरु अन्त सारेर पुरानो बस्ती र प्राचीन सम्पदालाई जोगाउनुपर्छ भन्छन् ।

सरकार र गाउँलेबीच यही कुरामा मिलनबिन्दु फेला नपर्दा चापागाउँको सडक यात्रा भने झन्झनै दनीय बनेको छ ।


साँघुरो हुँदा जामको सास्ती खेप्नुपर्ने र कच्ची हुँदा धूलोले उकुसमुकस पार्ने सडकलाई केही दिन अघि यातायात मन्त्री रघुवीर महासेठले अवलोकन गरे । गोदावरी पुगे, नगरपालिकाको तेस्रो स्थापना दिवसलाई सम्बोधन गर्न । ‘जति नै गरे पनि चापागाउँ सडक विस्तार हुन सकेन, हेर्नुस् न,’ गाउँ आएका मौका छोपेर मन्त्रीलाई सांसद राजकाजी महर्जनले स्थानीयको मर्का सुनाए, ‘संस्कृति नै मासेर सडक बनाउन खोज्दा न सडक बनेको छ न सम्पदा नै सफा राख्न सकिएको छ ।’


विस्तार गर्न नसके पनि हालकै सडकमा कालोपत्रे गराउन धेरैपटक पहल गरिसकेको ‘तर, ठेकेदार र सम्बन्धित निकायले नमानिरहेको’ पनि उनले बताए । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको गुनासो पनि उस्तै थियो । उनका अनुसार धेरै प्रयासपछि ठेकेदारले कालोपत्रे गर्न भनेर गत वर्ष पिच उप्कायो तर काम भने गरेन । नगर्नाको कारण थियो, सडक विभागको सर्त जो पालना गर्न किनाराका घर र सम्पदा भत्काउनै पर्थ्यो । सडक विस्तारसहितको कालोपत्रे मात्रै गर्न पाइने सम्झौता भएकाले साँघुरो पुरानै सडकको मर्मतसमेत हुन नसक्दा चापागाउँको सवारी भने सास्तीपूर्ण हुन गएको छ ।


सातदोबाटोबाट लेलेसम्म जाने १३.८ किमि बाटो जापागाउँ हुँदै गुज्रिन्छ जसको दायाँबायाँ १६ सय वर्ष पुराना सम्पदाहरू लस्करै छन् । सुनाकोठीस्थित तल्लो लाछी पाटी, कोत घर र मूल डबली ठेचोको नवदुर्गा नाचसँग प्रत्यक्ष सम्बन्ध छ । प्रत्येक वर्ष दसैंमा पाटन दरबार क्षेत्रमा नाच प्रदर्शनीपछि अनिवार्य कोत घर मूल डबलीमा नचाउनुपर्छ । यस्तै ठेचो, चापागाउँमा पनि पुरातात्त्विक महत्त्वका मौलिक शैलीका घर, मठमन्दिर, पाटीपौवा, पोखरी थुप्रै छन् । यही सम्पदा देखाएर पर्यटन प्रवर्द्धन गरी राजस्व संकलन गर्ने स्थानीय तहको लक्ष्य छ । अहिले हालको सडक कालोपत्रे गर्न भनी पठाइएको फाइल मन्त्रालयमा विचाराधीन छ । मन्त्री महासेठले भने, अहिलेको जस्ताको तस्तै कालोपत्रे गरेमा पछि विस्तार गर्न गाह्रो पर्ने बताए । ‘मुआब्जा, क्षतिपूर्ति दिएर अहिले नै सडक विस्तार गरेर कालोपत्रे गरिनेछ,’ उनले भने, ‘सडकमा परेका मठमन्दिर अन्यत्र सारिनेछन् ।’


उनले चापागाउँ सडक विस्तार गर्ने वातावरण बनाउन गोदावरीका मेयर महर्जनले भूमिका खेल्नुपर्ने बताए । ०७३ को मन्त्रीस्तरीय निर्णयअनुसार सुनाकोठी, ठेचो, चापागाउँलगायत ५४ वटा सम्पदा बस्तीअन्तर्गत पर्दछ । मन्त्री महासेठले सम्पदाको महत्त्व नबुझीकन मठमन्दिर अन्यत्र सार्ने भनी फ्रतिक्रिया दिन नहुने चत्रपथ–तिलेश्वर सडक विस्तारपीडित संघर्ष समितिका निर्वतमान अध्यक्ष कमल विष्टको भनाइ छ । उनी भन्छन्, ‘मन्त्रीले चाहेमा हालको सडकमा तत्काल कालोपत्रे गर्न सकिन्छ तर, नगर्नुको पछाडि केही कारण लुकेको छ,’ उनले भने । सांसद नवराज सिलवालले मन्त्रीले सडक बनाउन ध्यान दिनेमा विश्वास व्यक्त गरे । ‘सर्वसाधारणलाई ढुक्क हुन आग्रह गर्छु,’ उनले भने, ‘ग्वार्को–इमाडोल–लुभु हुँदै बीपी राजमार्ग जोड्ने सडकको समस्या पनि उस्तै छ ।’


सातदोबाटो– ढोलाहिटी ३.२ किमि सडक दिवा र शैलुङ कन्स्ट्रक्सन जेभीले २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा ०७५ कात्तिकमा सकिने गरी ०७३ मा म्याद थप गरेका थिए । ठेकेदारले सरकारसँग २ करोड ८३ लाख १८ हजार रुपैयाँ लिइसकेका छन् । शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी पनि हुन् । दाहाल यही सडक खण्डअन्तर्गत खुमलटारमा बस्छन् । ढोलाहिटी–सुनाकोठी–ठेचो–चापागाउँ ४ किमि सडक कन्टेक कम्पनीले २६ करोड ७१ लाख ९३ हजारमा २०७५ भदौमा सम्पन्न गर्ने गरेर ०७३ मा ठेक्का पाएका थिए । कन्टेकका सञ्चालकले सरकारसँग काम सुरु गर्ने भनेर ३ करोड ३० लाख ९८ हजार रुपैयाँ लिइसकेका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?