सुरु भयो रानीपोखरीको काम

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरीलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुरका सिपालु कर्मीहरू काममा जुटेका छन् । प्राचीन प्रविधिबाटै पोखरी पुनर्निर्माण गर्न भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको हो । यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुनर्निर्माण गरिरहेको छ ।

भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा काम रोकिएको थियो । राष्ट्रिय पुनर्निर्मार्ण प्राधिकरणले विभिन्न कामको विभाजन गर्दै सोमबारबाट कामको थालनी गरेको हो ।

त्यही क्रममा पानी तान्ने प्राचीन प्रविधिको काम उपभोक्ता समितिमार्फत हुने भएको छ भने बाँकी काम ठेकेदारलाई जिम्मा लगाइएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले बताए । मन्दिर, पश्चिमतिरको छेउबाट मन्दिरसम्म जाने पुल र रानीपोखरी बाहिरको कामको जिम्मा ठेकेदारलाई नै गर्ने भएका छन् ।

प्राविधिकले रानीपोखरीमा पानी तान्ने प्राचीन प्रविधि पहिल्याउनेछ । त्यही आधारमापोखरीमा पानी भरिनेछ ।

प्राचीन प्रविधिको कामका लागि लागि ५ सदस्यीय उपभोक्ता समितिसमेत गठन भइसकेको छ । समितिको अध्यक्षमा अजयरत्न स्थापित, रोशनकाजी तुलाधर सचिव, हर्मी खड्गी कोषाध्यक्ष, दीपकरत्न तुलाधर र दीपेन्द्र खड्गी सदस्य रहेका छन् । यसका लागि चाहिने बजेट समितिलाई प्राधिकरणले दिनेछ ।

‘बजेट दिने सम्बन्धमा उपभोक्ता समितिसँग सम्झौता हुन्छ,’ श्रेष्ठले भने, ‘यहाँ प्रयोग हुने दक्ष प्राविधिकलाई समितिले नै ज्याला दिएर काम लगाउनेछ ।’ यो कार्यका लागि सय जना प्राविधिक परिचालन गर्ने योजना प्राधिकरणको छ । त्यसका लागि ४० जना भक्तपुरबाट ल्याइएका हुन् । बाँकी काठमाडौंकैलाई सिकाउने योजना छ ।

‘सम्पदा सबैको साझा हो,’ भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतीले भने, ‘जोगाउने दायित्व साझा भएकाले हामीले प्राविधिक उपलब्ध गराइदिएका हौं ।’

प्राचीन प्रविधिबाट पानी तान्ने काम बर्खाअघि नै सक्ने योजना प्राधिकरणको छ । यहाँबाट पोखरीलाई चाहिने पूरै पानी आउन नसक्ने संभावना छ । यसको विकल्प पनि खोजेको श्रेष्ठले जानकारी दिए । पहिलो विकल्प टुँडिखेलमा बोरिङ गरेको पानी हाल्ने, दोस्रो रानीपोखरीकै कुनै छेउमा बोरिङ गर्ने र तेस्रो मेलम्चीको पानी राख्ने गरी योजना बनाएको उनले बताए । ‘फुल फ्लोमा पानी आउने सम्भावना धेरै कम छ,’ उनी भन्छन्, ‘त्यही भएर बिकल्प पनि सोचिराखेका हौं ।’ प्राचीन प्रविधि प्रयोग गर्दा तलबाट चुहिने सम्भावना कम हुने उनी बताउँछन् । ‘शतप्रतिशत चुहिँदैन,’ उनी भन्छन्, ‘चुहिने सम्भावना एक प्रतिशत मात्र हो ।’ रानीपोखरी मास्न लाग्दा किन यति धेरै विरोध जनाए ?

किनभने यो पोखरी मात्रै होइन, यहाँ थुप्रै संस्कृति जोडिएका छन् । पानी पानी मात्रै होइन, हाम्रो जीवनशैली हो । पोखरी पानी थुनेर राखिएका संरचना मात्रै होइन । यसका निर्माण किन भए ? कारण छन् । त्यसको गहिराइमा पुग्न नसक्दा महानगरका मेयरले समस्या झेल्नु पर्‍यो । रानीपोखरी त झन् शोकको प्रतीक पनि हो । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युको शोकमा डुबेकी रानीलाई भुल्याउन बनाएका हुन् यो पोखरी ।

अनेक दृष्टिकोणले महत्त्व छ यो पोखरीको । रानीपोखरी मासिँदा धेरैले सम्पदा नासिन्छ भन्ने आवाज उठाए । ‘रानीपोखरीमा सम्पदा मात्रै मासिँदैन,’ पानी विज्ञ प्रयागराज जोशी भन्छन्, ‘रानीपोखरीलाई तलमाथि गर्दा यहाँका सांस्कृतिक मूल्यमान्यता मासिन्छन् । यहाँको पर्यावरणीय चक्रमै असर गर्छ ।’

जोशीका अनुसार रानीपोखरीको अनेक काम थिए । पहिलो बर्खाको पानी जमाउने र जलभण्डार रिचार्ज गर्ने । दोस्रो इकोसिस्टम जोगाउने । तेस्रो आगलागी रोक्ने । चौथो पोखरीको पानी ढुंगेधारासम्म लैजाने ।

पोखरीको पानीको मुख्य स्रोत राजकुलो र बर्खाको पानी नै थिए । विष्णुमति नदीबाट राजकुलोबाट लैनचौरमा पोखरी बनाएर झारिन्थ्यो । त्यो पोखरी समयक्रममा नासियो । त्यहाँ स्काउटको भवन छ अहिले । राजकुलो लिच्छविकालमै बनेका हुन् । उपत्यकाका ढुंगेधारामा पानी सप्लाई हुने सबै राजकुलो र माटोको पाइपबाट पानी ल्याइएका थिए । लिच्छविकालमा बनेका राजकुलोबाट ल्याइएका पानी मल्लकालमा वितरण प्रणाली अझ व्यापक बनाइयो ।

अर्को प्रणाली हो बर्खामा जमिनमुनि बगेको पानीबाट पोखरी रिचार्ज गर्ने । यसको लागि प्राचीन प्रविधि प्रयोग गरिएको शर्मा बताउँछन् । पोखरी निर्माण गर्ने आफ्नो प्रविधि छ । पोखरीमा सबैभन्दा माथि कालोमाटोको सतह बनाइन्छ । त्यहाँ मुनि बालुवा हुन्छ । पोखरीमा पानी आउने र पानी जाने फरक फरक इनार हुन्छन् । पुरातत्त्वविद् सुदर्शनराज तिवारीको अनुसार पोखरीमा विभिन्न सात वटा इनार छन् । पानी आउने पनि इनार छन् । पोखरी सफा गर्ने पनि इनार छन् । पाखरीबाट पानी वितरण गर्ने पनि इनार छन् । यहाँबाट तीनधारा संस्कृत छात्रावास, सुन्धरा र भोटाहिटीमा यहीको पानी जाने हुन् ।

इनारबाट कसरी माथि आउँछ पानी ? उपत्यकाको पानी वितरणको प्राचीन प्रविधि अध्ययन गरेका जोशीका अनुसार पोखरीको सतहभन्दा तल बग्ने पानीलाई कालोमाटोले थुनिन्छ । माटोले थुनेको छेउमा इनार खनिन्छ । कालोमाटोले थुनेपछि पानी माथितिर जान्छ । अनि पोखरी भरिन्छ । कालोमाटो थलथले हुन्छ । थलथले माटो पानी परेपछि ढाडिन्छ । ढाडिएपछि पानी कतै जाँदैन । रोक्छ । ‘पानी भएन भने पटपटी फुट्छ,’ पुल्चोक इन्जिनियरिङ कलेजमा हिस्ट्रिकल आर्किटेक्टका प्रोफेसरसमेत रहेका तिवारी भन्छन्, ‘पानी हाल्यो भने फुल्छ । यही बुझेर ढुंगेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो ।’

पुरातत्त्वविद् तिवारीका अनुसार रानीपाखरीको डिलमा कालोमाटो राखिएको छ । त्यो पानी अड्याउन राखिएको हो । ‘पोखरीको वालको एकातिर माटो, अर्कोतिर पानी हुन्छ,’ तिवारी भन्छन्,’ यो कुरा नबुझेर वा बुझ्न नचाहेर रानीपोखरीमा आधुनिक प्रविधि प्रयोग गरियो । आधुनिक निर्माण सामग्री राखियो । अब संरक्षणको नियमअनुसार जानुपर्छ । संरक्षणको नियम भनेको प्राचीन प्रविधि भए प्राचीन प्रविधि प्रयोग गर्नुपर्छ । प्राचीन निर्मण सामग्री प्रयोग भएको छ भने प्राचीन निर्माण सामग्री र प्राचीन आकारकोलाई प्राचीन आकारमै बनाउनुपर्छ ।’

तिवारीका अनुसार पोखरी प्राचीन वास्तुशास्त्रअनुसार निर्माण गरिएको छ । पोखरीमा पानी आउने इशान (उत्तरपूर्व ) र पानी बाहिर जान आग्नेय (दक्षिण पूर्व) दिशामा इनार हुनुपर्ने उनको अनुमान छ । पानी विज्ञ जोशी पनि धेरै पछिसम्म दक्षिण दिशामा इनार देखिएको बताउँछन् । ‘अहिले महानगरीय प्रहरी महाशाखा भवन भएको ठाउँमा रानीपोखरीको इनार थियो,’ उनी भन्छन्, ‘त्यहाँ तातो पानी आएको देखिन्थ्यो ।’ पानी वितरण गर्ने प्राचीन प्रविधिमा इनारबाट इनारमै लैजाने व्यवस्था मिलाइएको हुन्छ ।

रानीपोखरीको कनेक्सन टुँडिखेलसँग थियो । टुँडिखेललाई जलभण्डार थियो । आउटलेटका लागि मिलाइएको पानी इनारको पिँधमा राखिएको बालुवाबाट जलभण्डारतिर पठाइएको हुन्थ्यो । ‘इनारमा पानी भरिन्छ,’ जोशी भन्छन्, ‘अनि तल बालुवाबाट रसाएर पानी जलभण्डारमा जान्छ ।’

टुँडिखेलभित्र पानी बगिरहने जलभण्डार रहेको जोशी बताउँछन् । तर यो भण्डार सुक्दै गयो । ‘टुँडिखेलमा दुई मिटर खन्नासाथ पानी आउँछ,’ जोशी भन्छन्, ‘यहाँ आउने पानीको मुख्य स्रोत रानीपोखरी नै हो ।’

टुँडिखेल, भद्रकालीलगायतको क्षेत्र सिमसार हो । बस्ती बसेपछि यो सिमसार पनि मासिएको छ । टुँडिखेलको जलभण्डार पनि ढल राखेपछि मासिँदै गयो । ‘२०३४ सालतिर यहीबाट त्रिपुरेश्वरसम्म ढल बिछ्याइयो,’ जोशी भन्छन्, ‘ढल बिछ्याउँदा जलसतह खनियो । सतहभन्दा तलबाट ढल राखियो । ढल राखेको ठाउँबाट पानी रसाउँदै गयो । जलभण्डार घट्यो,’ उनी भन्छन्, ‘जल भण्डार घटदै गएपछि सुन्धारालगायत पनि सुक्दै गए ।’ विस्तारै सुक्दै गएको सुन्धारा कर्मचारी सञ्चय कोष भवन बनाउँदा जग गहिरो बनाइयो । सुन्धरामा जाने पानीको बाटो बन्द भयो । सुन्धरा पूरै सुक्यो ।

रानीपोखरीको पानी आपूर्ति कम हुँदै गयो । ‘राजकुलोबाट रेगुलर पानी आउँथ्यो,’ जोशी भन्छन्, ‘अब त्यो सिस्टम छैन । राजकुलो मासियो । लैनचौर पनि सुक्यो । अब बर्सातको पानीमा मात्रै भर परेको थियो रानीपोखरी । सतह निकै घटेको थियो । त्रिचन्द्र क्याम्पसको छतको पानी यहाँ पठाउने व्यवस्था गरिएको थियो ।’

दिगो स्रोत त छँदै छ, त्योभन्दा पहिला गर्नै पर्ने केही धार्मिक र सांस्कृतिक विधि छन् । ती विधि असम्भव छैनन् तर अफ्ठेरा छन् । अब यही चुनौती छ । रानीपोखरीसँग संस्कृति जोडिएको छ । त्यो संस्कृति कायम राख्नु अर्को चुनौती हो । यहाँ विभिन्न ५१ तीर्थस्थलका पानी ल्याएर पोखरी बनाइएको हो ।

वनारसको वैद्यनाथ, गण्डकी, नीलकण्ठ, कौशिकी, विष्णुमति, बाग्मती, बागेश्वरी, सकुनतीर्थ, मुस्ताङको मुक्तिनाथ, सुनसरीको बराहक्षेत्र, रसुवाको गोसाइँकुण्ड नुवाकोटको त्रिशूली लगायत तीर्थस्थलबाट जल ल्याएर रानीपोखरी निर्माण गरिएको थियो । ‘हामी यो प्रक्रिया पनि जान्छौं,’ प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, ‘प्रताप मल्लले जसरी बनाएका थिए, त्यही शैलीमै बनाउँछौं ।’

रानीपोखरीमा पुरातात्त्विक मापदण्डविपरीत काम भएपछि सम्पदा अभियन्ता आन्दोलनमा उत्रिएका थिए । महानगर र पुरातत्त्व विभागले बनाउने क्रममा विवाद भएपछि गत महिना मात्रै यसको निर्माण जिम्मेवारी प्राधिकरणले लिएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

बाग्मती 'ब्युटिफिकेसन’ आयोजनाको सहयोग रोक्ने एडीबीको चेतावनी

दीपेन्द्र विष्ट

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ । मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो । 


आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैंचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोधन गरेर नदीमा पठाउने कार्यक्रम छ । यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका स्थानीयले आफूहरूको जग्गा परेको भन्दै मुआब्जा मागेपछि एक महिनादेखि काम ठप्प छ ।

‘स्थानीयले विवाद झिकेका छन्,’ अधिकार सम्पन्न बाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले भने, ‘एडीबीले हात झिक्ने चेतावनी दिएको छ, अब आयोजना अलपत्र पर्ने भयो ।’

स्थानीयले बाग्मती नदीभित्रको १ सय ८८ रोपनीको मुआब्जा मागेको जनाउँदै उनले मन्त्रालयले तत्काल समस्या नसुल्झाए आयोजना अलपत्र पर्ने बताए । ‘प्रमाणसहित आउन पर्‍यो, हामीले भनेका छौं, उहाँहरू (स्थानीय) सँग करिब ४१ रोपनीको मात्र प्रमाण छ, अन्य १ सय ४७ रोपनीको लालपुर्जा छैन, कसरी मुआब्जा दिने ?,’ उनले भने, ‘मुआब्जा दिने समय आयोजनाले लालपुर्जा मागेको भए समस्या आउने थिएन, विवाद भएका स्थानमा लगानी गर्दिनँ भनेर एडीबीले भनिसकेको छ ।’

२२ वर्षअघि तत्कालीन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले किनारका जग्गाको मुआब्जा दिइसकेको छ । लामो समयपछि पुनः मुआब्जा विवाद झिकेको सुन्दा आश्चर्य लागेको तत्कालीन अध्यक्ष विदुर पौडेल बताउँछन् । ‘उचित मुआब्जा दिइसकिएको छ, नदीभित्रको जग्गाको मुआब्जा दिने चलन कहां छ ?,’ उनले भने, ‘निर्णय सबै सुरक्षित होला, हेर्दा हुन्छ, कसैले उचालेको भरमा मुआब्जा दिँदा के हुन्छ, त्यो सरकारले बुझ्नुपर्छ ।’

आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको हो । आयोजनाप्रमुख घिमिरेका अनुसार नदीको बीचबीचमा ‘चेकड्याम’ निर्माण गरिनेछ । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछ जसबाट मानिस सजिलै नदीसम्म पुग्न सक्नेछन् । उद्यान २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको घिमिरेले बताए । ‘यो मृत बाग्मतीलाई जिवित तुल्याउने अभियान हो,’ उनले भने ।

गोकर्णेश्वर नगरपालिका(४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले एडीबीले आयोजनाबाट हात झिके ठूलो विडम्बना हुने बताए । ‘नदी किनारमा काम धमाधम भइरहेको थियो, अलपत्र पर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘उचित माग सबैका सम्बोधन हुन्छन्, नजायज माग कसैका पूरा हुँदैनन् ।’

श्रेष्ठका अनुसार गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुह्येश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामंगलसम्म करिव ३० मिटर बहाव कायम गर्दै दायाबाया हरित उद्यान निर्माण गरिनेछ । टेकुतिरका २३ वटा पुराना मन्दिरको जीर्णोद्धार गरिनुका साथै बल्खुमा ढल प्रशोधन केन्द्र बनाइनेछ । हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइने उनले बताए । ‘माकलबारी, जोरपाटीलगायत क्षेत्र निकै आकर्षक देखिन्छ,’ श्रेष्ठले भने, ‘पहिलो चरणमा यो क्षेत्र छनोट गरिए पनि त्यसपछि गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रसम्म हरित उद्यान निर्माण भइरहेको छ ।’

उनका अनुसार गुहेश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण गरिनेछैन । गोकर्ण(सुन्दरीजल खण्ड र सिनामंगल(बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान रहनेछ । ‘फुटपाथमा मर्निङवाक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा चौतारी बनाउँछौं, जहाँ बसेर नदीको बहाव नियाल्न सजिलो होस् ।’ धापक्षेत्रमा वर्षातको पानी संकलनका लागि २४ मिटर अग्लो ड्याम बनाइँदै छ । ‘वर्षातको पानी संकलन गरेर सुक्खा याममा बाग्मतीमा बगाइन्छ,’ उनले भने, ‘नदीको विशेषता पानी हुनु हो ।

त्यस कारण पानीको बहाव बढाउनै पर्छ ।’ ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा ४ सय लिटर प्रतिसेकेन्डका दरले नदीमा छोडिने र यसका लागि अहिले शिवपुरी वन्यजन्तु आरक्षभित्र काम भइरहेको उनले बताए ।

ड्याम बनाउन एडीबीले करिब ५२ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसै गरी बाग्मतीको नागमतीमा ९० मिटर उचाइको ड्याम निर्माणको अध्ययन भइरहेको छ । नागमतीको ड्यमबाट २ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्