कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आगमछे मन्दिर बनाउने जिम्मा समुदायलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — हनुमान दरबार क्षेत्रको गोप्य मन्दिर आगमछे पुनर्निर्माणको जिम्मा समुदायलाई दिइने भएको छ  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा समुदायलाई दिन सहमति भएको हो  ।

मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र जापानका प्रतिनिधि संलग्न छलफलले यसको पुनर्निर्माणको जिम्मा समुदायलाई दिन सहमति भएको हो । यस अघि पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालले यसको निर्माणको जिम्मा जापानलाई दिने तयारी गरेका थिए । यसको स्थानीयवासीले विरोध गरेपछि जापानलाई दिने प्रक्रिया रोकिएको थियो ।

‘लामो समयको पहलपछि स्थानीय समुदायमार्फत मन्दिरको पुनर्निर्माण गर्न सहमति जुटेको छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘सबै पक्षको सहमति जुटेकाले अब मन्दिरको पुनर्निर्माण कार्य अघि बढ्ने विश्वास लिएको छु ।’ पुनर्निर्माणका लागि निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिए । ‘धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्री प्रयोग गरी नेपाली कालिगढले नै मन्दिर पुनर्निर्माण गर्नेछन्,’ उनले भने । हनुमानढोका दबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ– आगमछे । शाहवंशभरि बन्द भयो यो मन्दिर । अहिले पनि बन्द छ । तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता भएको यो मन्दिर जीर्णोद्धार गर्न जापानलाई दिने तयारी भएको थियो ।


आगमछे जीर्णोद्धार गर्न जापाले अनुदानसमेत दिइसकेको छ । जापानले दुई मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगमछेका लागि १३ करोड रुपैयाँ र पाटनको देगु तलेजुको लागि २० करोड रुपैयाँ छुट्याइएको थियो । दुवैमा जापानले ‘काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट’ मार्फत गराउने योजना बनाएको थियो । सरकारी अनुदान भएकाले एनजीओलाई दिन पुरातत्त्व विभाग नै मानेको थिएन । हनुमानढोका दरबारको पछाडि पर्छ आगमछे । लामो बार्दली भएको घर छ ।

त्यसको माथिल्लो तलामा छ आगमछे । पुरातत्त्वविद् विष्णुबहादुर कार्कीका अनुसार तलको दुई तला चन्द्रशमशेरले निओ क्लासिकल शैलीको बनाए । माथिल्लो तला आगमछे भने मल्लकालीन शैलीमै छ । मोहनकाली चोकका सम्पदाहरूमा तीन भिन्नभिन्न आकारका तीन बुर्जा छन् । तीमध्ये एउटा बुर्जा हो आगमछे मन्दिर । नेवार जातिमा प्रत्येक वंशको आआफ्नै आगम घर हुन्छन् । यो आगम घरचाहिँ मल्ल राजाहरूको हो । आगमछे भनेको कुलदेवता राख्ने घर हो ।

यस्तो घर कतै कोठामा बनाइएको हुन्छ । कतैचाहिँ मन्दिरै बनाइएको हुन्छ । इतिहासकार गौतमबज्र बज्राचार्यका अनुसार यस मन्दिरभित्र मल्ल राजाहरूले गुप्त तरिकाले पूजा गरिने आगम देवता स्थापना गरिएका छन् । आगमछेमा आफ्ना वंशबाहेक अरू छिर्न नमिल्ने कडा नियम बनाइएको हुन्छ । आफ्नो वंशका बाहेक अरू छिर्न नपाउने नियम भएकै कारण शाहवंश सुरु हुनासाथ यो मन्दिर बन्द भएको बज्राचार्य बताउँछन् । पृथ्वीनारायण शाहले विसं. १९२६ मा कान्तिपुर विजय गरेका थिए ।

कान्तिपुर विजय गरेपछि मसानचोक छेउमा बसेका थिए । पछि नौतले दरबार बनाएर सरेका थिए । नेपाल एकीकरण गरेपछि यहाँ प्रचलित सबै परम्परालाई पृथ्वीनारायण शाहले अंगिकार गरेका थिए । आगमछेमा नछिर्ने, कुमारी रथयाक्रालाई निरन्तरता दिनेलगायत सांस्कृतिक त्रियाकलापमा कुनै बाधा गरेका थिएनन् । आफ्ना कुनै संस्कृतिमा हस्तक्षेप नगरेकै कारण यहाँका नेवार समुदायले शासन सत्ता परिवर्तनलाई सजिलै स्वीकारेको इतिहासकार बताउँछन् ।


यसको निर्माण प्रताप मल्लले गरेका थिए । शाहकालमा भित्र नछिरे पनि बाहिर भागमा भने शाहवंशमा पनि केही काम भएका थिए । यस मन्दिरको बुइगलको सानो घण्टामा अभिलेख पनि छ । अभिलेखअनुसार यसमा घण्टा गीर्वाणयुद्धविक्रम शाह र सुवर्णप्रभादेवीले विसं. १८५७ मा चढाएका थिए । ‘दीक्षित भएका बाहेक अरू मन्दिरमा छिर्नै हुँदैन,’ सांसद कृष्णगोपाल श्रेष्ठले भने, ‘यस्तो मन्दिरसमेत विदेशीलाई दिने तयारी भएको थियो । अब विदेशीलाई नदिइने भयो । यसको आर्थिक पारदर्शितामा भने ध्यान दिनुपर्छ ।’ यो मन्दिरको चारैतिर तोरण छन् । तोरण नेपाली वास्तुकला भएका मन्दिरका जस्तै छन् । ढोकाको दायाँबायाँ याकु झ्याल छन् ।


याकुझ्यालले मन्दिरलाई चिटिक्क देखाएको छ । मन्दिरका केही संरचना भने छोपिएका छन् । लामो बार्दली भएको घरको छानाले दक्षिण र उत्तरतिरका ढोका छोपिएका छन् । पूर्वको ढोका पनि नासलचोकको सिसा बैठकको छानोले छोपिएको छ ।
पश्चिमतिरको ढोका मात्रै देख्न सकिन्छ । मन्दिरलाई पछिल्लो कालखण्डमा अन्य दरबारमा भएका जीर्णोद्धारले छोपिएका हुन् । प्रतापमल्लले स्थापना गर्ने बेलामा सबै भाग देखिने अवस्थामा थियो । मन्दिरका टुँडाल पनि कलाकृतिले भरिएका छन् । यहाँ शैव सम्प्रदायका देवीदेवताका चित्र अंकित छन् । यो मन्दिरका केही थप विशेषता छन्, जुन धेरै मन्दिरमा छैनन् । छानाको कुनाकुनामा कुँपा बनाइएका छन् । कुँपाको स्वरुप मयुरको जस्तो छ ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?