भाजु पुखु

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — ऐतिहासिक सम्पदाका रुपमा रहेको भक्तपुरको भाजु पुखु (पोखरी) पुनर्निर्माण भइरहेको छ । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार प्राप्त सामग्री र प्रमाणका आधारमा उक्त पोखरी १२औं शताब्दीमा बनेको देखिन्छ, जुन काठमाडौंको रानीपोखरीभन्दा पाँच सय वर्षअघि हो ।

पोखरी १२ औं शताब्दीमा बने पनि १६ औं शताब्दीमा तत्कालीन भक्तपुरका राजा जितामिक्र मल्लका सशत्त भारदार भाजुकसले पुनर्निर्माण गरेकाले पोखरीको नाम भाजु पुखु भएको हुन सक्ने श्रेष्ठको भनाइ छ ।

भाजु पोखरी र उत्तरपट्टि रहेको सिद्धपोखरी एउटै समयमा निर्माण भएको अन्वेषणबाट देखिएको श्रेष्ठले बताए । यो पोखरीको बीचमा रानीपोखरीमा जस्तै मन्दिर छ । मन्दिरबारे लेखिएको कुनै ग्रन्थ भने हालसम्म फेला परेको छैन । उत्खननका क्रममा फेला परेका त्यहाँ प्रयोग गरिएका इँटा १२औं शताब्दीका देखिन्छन् ।

विसं १७३८ मा गएको विनाशकारी भूकम्पले उक्त मन्दिर तहसनहस पारेको र त्यसपछि पुनर्निर्माण नभएको हुन सक्ने अनुमान छ । पोखरी बीचमा रहेको मन्दिर शिखरशैलीमा तान्त्रिक विधिपूर्वक निर्माण गरेको पाइएको श्रेष्ठले बताए ।

पुखु पुनर्निर्माण तथा मन्दिर उत्खनन प्रक्रिया जारी रहे पनि मूल देवता भने फेला परेको छैन । देवीको सानो मूर्ति मात्र फेला परेको छ । झाडीमा परिणत पोखरीको सरसफाइ, उत्खनन कार्य २०५८ सालमै सुरु गरे पनि बीचमै रोकिएको थियो ।

स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपश्चात उत्खनन् तथा पुनर्निर्माणले तीव्रता पाएको भाजुपोखरी निर्माण उपभोक्ता समिति अध्यक्ष कृष्णप्रसाद डुमेरुले बताए । चालू आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी भक्तपुर नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

श्रीमहल जगैदेखि भत्काइने

दामोदर न्यौपाने

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक सम्पदा श्रीमहल भत्काउने तयारी थालेको छ । यसका लागि टेन्डरसमेत आहान गरिसकेको छ ।

रेट्रोफिटिङ गरेर जोगाउन सकिने हुँदाहुँदै जगैदेखि भत्काउन लागिएकोमा संरक्षणविद्ले आपत्ति जनाएका छन् । उक्त भवन ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग (डोलीडार) ले प्रयोग गर्दै आएको थियो । जोगाउन नसकिने निष्कर्षपछि भवन भत्काउने निर्णय भएको डोलीडारका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । ‘एउटै कन्ट्राक्टरबाट भत्काउने र बनाउने गरी टेन्डर आह्वान भएको छ,’ उनले भने ।

भुइँचालोले श्रीमहलभन्दा बढी क्षति पुर्‍याएको टंगालको सीता दरबारसमेत रेट्रोफिटिङ गरिँदै छ । ‘नेपाली प्राचीन निर्माण सामग्रीले बनेका भवन पूरै भत्काउनै पर्दैन,’ संरक्षणविद् काइ वाइजे भन्छन्, ‘जुन भाग बिग्रिएको छ, त्यो मात्रै मर्मत गर्न मिल्छ । सिमेन्टले बनेका संरचना मात्रै एक ठाउँ बिग्रेपछि अरु ठाउँमा मर्मत गर्न नमिल्ने हो । निओ क्लासिकल बिल्डिङ कुनै पनि भत्काउन पर्ने छैनन् ।’

इतिहासविद् पुरुषोत्तमशमशेर राणाका अनुसार श्रीमहल राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९८० सालमा निर्माण गराएका हुन् । उनले कान्छी महारानी बालकुमारी, जेठा छोरा विष्णुशमशेर र कान्छा छोरा मदनशमशेरका लागि बनाएको यो दरबार राणाकालकै भव्य संरचनामध्ये पर्छ । यसले १ सय ४० रोपनी ओगटेको छ ।

तीनतले श्रीमहल इँटा, बज्र प्लास्टर र काठको मिश्रणबाट बनेको छ । बज्र प्लास्टरमा कलात्मक बुट्टा कुदिएका छन् । मूलद्वारको दायाँ–बायाँ कौसीमा मानवाकृति कोरिएका छन् । कतै जरायोका सिङ छन् । भण्डारण कक्षमा पनि पुराना कला छन् । ती भत्काएपछि बनाउनै मिल्दैन । ‘माटोका यी मिहिन चित्र बनाउन कसले जाँगर लगाउँछ अब ?,’ पुरातत्त्वविद् भीम नेपालले भने । भवन मास, चाकु, सरेस, सुर्की, पिना, चुनजस्ता प्राचीन निर्माण सामग्रीले बनेको छ ।

‘अब यी निर्माण सामग्री जम्मा गर्नै मुस्किल छ,’ उनले भने, ‘उही रूपमा निर्माण गर्न सम्भवै छैन । उस्तै रूपमा बनाऊ भन्नु अगाडि ज्याकेट लगाऊ, भित्र जेसुकै गर भन्नु मात्रै हो । पत्र नै गलत मनसायले लेखिएको देखिन्छ ।’ भवनको बाहिरी र भित्तासँगै जोडिएका पिल्लर पनि उही रूपमा बनाउन नसकिने नेपालको ठम्याइ छ ।

उनका अनुसार यस्ता दरबार भत्काउनु भनेको ‘नेओ क्लासिकल आर्किटेक्ट’ मास्नु हो । यसलाई अठारौं शताब्दीको मध्यतिर ग्रिसबाट विकसित भएको वास्तुकला मानिन्छ । यो शैली नेपालमा भित्र्याउने जस भीमसेन थापालाई जान्छ । उनले धरहरा, बागदरबार, छाउनीलगायत संरचना यही शैलीमा बनाउन लगाए । पछि जंगबहादुरले यसलाई अझ व्यापक बनाए ।

वीरशमशेरले, चन्द्रशमशेरले पनि थपथाप गरे । ‘यो शैली अब इतिहास भइसक्यो,’ नेपालले भने, ‘संरक्षणको सिद्धान्त भनेकै विगतको प्रमाण जोगाउनु हो ।’

धेरैजसो राणाकालीन दरबारमा जस्ताको छाना रहे पनि श्रीमहलमा झिँगटी छ । विसं. १९८६ मा चन्द्रशमशेरको मृत्युपछि बालकुमारी भारत प्रस्थान गरिन् । भोलनपुरमा भव्य दरबार बनाएर उनी उतै बसिन् । जेठा छोरा विष्णुशमशेर पनि भारत हुँदै अमेरिकातिर गए । यो दरबारमा मदनशमशेर बस्न थाले ।

उनकी पत्नी जगदम्बाले धेरै जग्गा बक्सिस दिइन् । केही बिक्रीवितरण गरिन् । बाँकी जमिन मदनशमशेरका छोरा गोपालशमशेर र भाइले बिक्री गरे । यही भवनमा लामो समय स्थानीय विकास मन्त्रालय बस्यो । मन्त्रालय सिंहदबार छिरेपछि डोलीडार राखियो । २०७२ को भुइँचालोले भवन क्षतिग्रस्त बनाएपछि डोलीडार गुम्बा विकास समितिको भवनमा सारिएको छ । ‘हामीलाई कोठा खाँचो छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘बनाएपछि कसले प्रयोग गर्ने भनेर निर्णय हुन्छ । अहिले प्राधिकरणकै खर्चमा पुनर्निर्माण हुन लागेको हो ।’

पुरातत्त्व विभागका अधिकृत प्रकाश खड्काले डोलीडारले यसअघि नै भवनको स्वरूप बिगारिसकेको बताए । उनका अनुसार मर्मतका नाममा प्राचीन वास्तुकला मेटाइएका छन् । आधुनिक निर्माण सामग्री प्रयोग गरेर तला थपिएका छन् । ‘बेलाबेला आधुनिक निर्माण सामग्री प्रयोग गरिएको देखिएको छ,’ अध्ययनपछि खड्काले बुझाएको प्रतिवेदनमा उल्लेख छ, ‘स्थानीय विकास मन्त्रालय सरेपछि भवनको मर्मतसम्भार तथा सजावट व्यवस्थापनमा करिब ५ करोड रुपैयाँ खर्च भएको स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले जनाएको छ ।’

पुरातत्त्व विभागले भने भवन भत्काउन अनुमति नदिएको दाबी गरेको छ । ‘म आएपछि पुरातात्त्विक स्थल मासिने गरी कहीं कतै अनुमति दिएको छैन,’ विभागका कामु महानिर्देशक दामोदर गौतमले भने, ‘पहिला केभएको रहेछ, बुझ्छु ।’

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्