कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सबै सेवा एकै ठाउँ

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिकाले विषयगत कार्यालयहरूको सहकार्यमा एकीकृत घुम्ती शिविर आयोजना गरेको छ । सूर्यविनायक–७ गुन्डुमा आयोजित शिविरमा नगरपालिका कार्यालयबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण, घर नक्सापास, भवन अभिलेखीकरण, व्यवसाय दर्ता, कृषि बीउबिजन वितरण तथा प्राविधिक सल्लाह, गोबर परीक्षण र नाम्ले रोगको औषधि वितरण, ज्येष्ठ नागरिक/अपांग परिचयपत्र वितरण गरिएको छ । 

शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी, नाबालक परिचयपत्र तथा आदिवासी जनजाति सिफारिसको सेवा प्रदान गरेको छ । डिभिजन वन कार्यालयले बिरुवा वितरण तथा जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयले खानेपानीको गुणस्तर परीक्षण, निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन, घरेलु तथा साना उद्योगले उद्योग दर्ता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले भूकम्पपीडितको गुनासो व्यवस्थापन कार्य गरेको छ ।


त्यस्तै, भूमिसुधार तथा मालपोत, नापी, सडक र सिंचाइ कार्यालयले सेवाग्राहीलाई परामर्श सेवा, नेपाल टेलिकमले सिमकार्ड वितरणलगायतका कार्य एकै स्थानबाट प्रदान गरेको सूर्यविनायक नगरपालिका ८ का अध्यक्ष रवीन्द्र सापकोटाले बताए ।


कार्यक्रममा नेपाली सेना वीरदल गणले बृहत् स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, नाक, कान, घाँटी, बालरोग, हाडजोर्नी, छाला रोगलगायतको विशेषज्ञ तथा सर्जनद्वारा स्वास्थ्य परीक्षण र नि:शुल्क औषधि वितरण गरेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले बताए । शिविरमा प्रहरी वृत्त जगातीले प्रहरी साझेदारी, जनचेतनामूलक परामर्श सेवा दिएको थियो ।


शिविरमा ४ हजार २ सय ४७ सेवाग्राहीले सेवा पाएको नगरपालिकाले जनाएको छ । जसमध्ये ५० जनालाई नागरिकता वितरण, ३ सय ६५ ज्येष्ठ नागरिकलाई वृद्धभत्ता, ८ सय १७ को स्वास्थ्य परीक्षण तथा औषधि वितरण, ५ सय १७ लाई पशु स्वास्थ्यसम्बन्धी सेवा, ९ सय २५ लाई कृषिसम्बन्धी सेवा, ३ सय ५० लाई सिमकार्ड वितरण, २८ जनाको भूकम्पपीडित गुनासो व्यवस्थापन, १६ जनालाई मालपोत सेवा, १४ को घरेलु उद्योग दर्ता, ८ को व्यवसाय दर्ता, १९ को नक्सापास, १ सय ६० लाई आयुर्वेद सेवा, ५ सय ५० लाई बिरुवा वितरण तथा परामर्श र ४२ लाई जैविक मल वितरणलगायत सेवा प्रदान गरेको गणपति पौडेलले बताए । विषयगत कार्यालयको सहकार्यमा नगरपालिकाले प्रत्येक वडामा एकीकृत घुम्ती शिविर सुरु गरेको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?