१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भक्तपुर अस्पताल नयाँ स्वरूपमा

भक्तपुर — मुलुककै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालले नयाँ स्वरूप पाउने भएको छ । वीर अस्पतालपछिको दोस्रो ११४ वर्ष पुरानो भूकम्पले क्षतिग्रस्त भक्तपुर अस्पतालको भवन रेक्ट्रोफिटिङ गर्ने तथा सुविधायुक्त डिपार्टमेन्टसहितको नयाँ भवन थपिने भएको हो ।

भक्तपुर अस्पताल नयाँ स्वरूपमा

बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, बेलायती विकास नियोग (डीएफआईडी) लन्डनका महानिर्देशक रिचार्ड क्लार्कलगायतले अस्पतालको रेक्ट्रोफिटिङ तथा नयाँ भवन निर्माणबारे औपचारिक घोषणा गरेका छन् ।


डीएफएआईडीको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको स्वास्थ्य क्षेत्र कार्यक्रम (एनएचएसएसपी) अन्तर्गत अस्पताल भवन संरचनाहरू रेक्ट्रोफिटिङ गर्ने कार्यक्रम छ । रेक्ट्रोफिटिङअन्तर्गत भूकम्पीय प्रबलीकरण स्वास्थ्योपचारका लागि उपयोगी हुने गरी स्तरोन्नति र खानेपानी, ढल, फोहोर, भित्री हावाको गुणस्तर व्यवस्थापनलगायत समावेश गरेको जनाएको छ ।


नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति वार्ड, आईसीयू सेवा सञ्चालन, ओपीडी सेवा र पार्किङ व्यवस्थापन गर्ने अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया कक्ष, ओपीडी कक्ष, भान्सा घर, शौचालय, शव गृह तथा पोस्टमार्टम कक्ष, पार्किङ लगायतको भौतिक संरचना निर्माण हुनेसमेत जनाएको छ । अस्पतालको सहजीकरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण तथा रेक्ट्रोफिटिङ प्रक्रिया थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताइन् ।


कुल २० करोड ३४ लाख २५ हजार ५ सयमा नयाँ र मौजुदा भवन रेक्ट्रोफिटिङका लागि १२ करोड ४१ लाख ८४ हजार ३ सय रुपैयाँ गरी ३२ करोड ७६ लाख ९ हजार ८ सय रुपैयाँ बजेट विनियोजन भएकोसमेत जनाइएको छ ।


अस्पतालमा बढ्दो बिरामीको चापलाई नवनिर्मित भवनले राहत प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । पुरानो र भूकम्पका कारण आंशिक क्षति पुगेको पानी चुहिने अस्पतालमै सेवा दिन बाध्य भएको अस्पताल विकास समिति अध्यक्ष मिलन सुवालले बताए । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल हाल २०६० देखि ७५ शय्या सञ्चालित छ ।


दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले अस्पताल प्रशासनले ७५ शय्यालाई थप गरी १ सय २५ शय्या पुर्‍याउन माग गरेको छ । अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको उल्लेख गर्दै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने उनले बताए । अस्पतालमा डिपार्टमेन्टको व्यवस्था छैन ।


अस्पतालको नयाँ भवनसँगै आईसीयू सञ्चालन गर्ने लक्ष्य लिएको मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताइन् । अस्पतालको स्तरवृद्धि गर्ने, पार्किङ व्यवस्थापन, बगैंचा निर्माण, एक्सरे, प्रोटेबल यूएसजी, ल्याबक्रोस्कोपी, इन्डेस्कोपीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् । अपांगमैत्री नयाँ भवनमा लिफ्ट जडान गरी मौजुदा भवनहरूमा समेत आवागमनमा सहजता ल्याउने गरी डिजाइन गरिएको छ ।

प्रकाशित : माघ २४, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?