काष्ठमण्डप पुरानै जगमा

उत्खनन गरेर काष्ठमण्डपको प्राचीनता पत्ता लागेको थियो । भुइँचालो गएपछि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्व विभागले काष्ठमण्डपको जग अनुसन्धान गरेको थियो ।
दामोदर न्यौपाने

काठमाडौँ — भुइँचालो गएपछि बनेका अधिकांश सम्पदाको विवाद जगमा छ । पुरातत्त्व विभागले जगमा कंक्रिट राख्न दिएपछि राजधानी र बाहिरका केही सम्पदा विवादित छन् । उपत्यकाकै प्राचीन मानिने दक्षिणकालीको गोपालेश्वर मन्दिरमा रातारात जगमा कंक्रिट राखियो ।

पुरानै जगबाट काष्ठमण्डप पुनर्निर्माण गरिँदै । तस्बिर : दामोदर/कान्तिपुर

स्थानीयवासीले विरोध गरे । पुरातत्त्व विभागका तत्कालिन महानिर्देशक भेषनारायण दाहाल त्यहीं गएर जगमा कंक्रिट राख्न नदिने हो भने बजेट काटिदिने धम्की दिए । दाहालको धम्कीपछि स्थानीयवासी, जनप्रतिनिधि जगमा कंक्रिट राखेरैबनाउन सहमत भए ।

लिच्छविकालीन टुँडालदेवीमा पनि पुरातत्त्व विभागले जगमा कंक्रिट राख्न दियो । सम्पदा संरक्षण अभियन्ताले विरोध गर्दा गर्दै पनि पुरातत्त्व पछि हटेन । जगमा कंक्रिट राखेरै टुँडालदेवि सम्पन्न हुने चरणमा छ । यहाँ मात्रै होइन लिच्छविकालीन अनन्त लिंगेश्वर, ललिपुरको रातो मत्स्येन्द्रनाथ, गोरखा दरबार लगायत स्मारकमा पुरातत्त्वकै अनुमतिमा जगमा कंक्रिट राखियो ।

यी स्मारकभन्दा पृथक् गरी निर्माण भइरहेको छ लिच्छविकालीन काष्ठमण्डप । ‘भुइँचालो गएपछि कुनै पनि सम्पदा यसका मूल्यमान्यताअनुसार बनेका छैनन् । ललितपुरमा जथाभागी बनेका छन् । भक्तपुरमा पनि बनेका छन् तर कसरी बनेका छन् भनेर निगरानी भएको छैन,’ निर्माण व्यवस्थापनविद् कुलभक्त शाक्य भन्छन्, ‘भुइँचालोपछि बनेका सम्पदामध्येमा काष्ठमण्डपम नमुना बन्छ ।’

सम्पदा संरक्षणमा जगलाई विशेष रूपमा लिइन्छ । जग मासियो भने सम्पदा मासिन्छ । पछि उत्खनन् गर्दा जग नै हेरिन्छ । ‘जग चलाउनु भनेको सम्पदा मास्नु हो,’ आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जन भन्छन्, ‘जगमा के राख्ने भनेर इस्टमेटमै राख्ने गरिएको छ सम्पदामा । यो गलत हो । पुरातत्त्व भनेकै जगमा हुन्छ । जग खोल्यो भने पुरातत्त्व मासिन्छ ।’

जग खोल्नै पर्ने अवस्था आउँछ कतिपय सम्पदामा । खोल्नै परेको अवस्थामा कुनै बिग्रेको क्षेत्र सच्याएर जीर्णाेद्धार गर्न सकिन्छ । तर यसो नगरी डोजर लगाएर जग खनिएका उदाहरण छन् सम्पदा पुनर्निर्माणमा । ‘जुन पार्ट बिग्रेको छ, त्यही पार्ट बनाउनुपर्छ,’ महर्जन भन्छन्, ‘नेवारीमा काहिंल्यु भन्छ । त्यो भनेको कम्बर बिग्रेको छ भने कम्मर फेर्ने, अरू नचलाउने भनेको हो । संरक्षणको सिद्धान्त पनि यही हो । संरक्षण भनेको भावी पुस्ताका लागि सम्पदा जोगाइदिने हो । भावी पुस्ताका लागि जोगाइदिने भनेको जगै हो ।’

जग उत्खनन गरेर काष्ठमण्डपको प्राचीनता पत्ता लागेको थियो । भुइँचालो गएपछि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले काष्ठमण्डपको जग अनुसन्धान गरेको थियो । यसको उत्खनन् गरेर प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षण गर्दा काष्ठमण्डप सातौं शताब्दीको पत्ता लागेको थियो । परीक्षण गर्नुअघि यो बाह्रौं शताब्दीको भनिँदै आएको थियो ।

‘जग मासिएको थियो भने काष्ठमण्डपको इतिहास यति पर सर्ने थिएन,’ महर्जन भन्छन्, ‘जगको महत्त्व पुरातत्त्व विभागले नै बुझेन । हामीले जग नचलाऊ भन्दाभन्दै धेरै ठाउँको जग मासियो । अहिले ठडिएको त देखिन्छ । तर पछिल्लो पुस्ताले यसको इतिहास थाहा पाउने छैनन् ।’

बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गर्दा यो तथ्य पत्ता लागेको हो । भुइँचालो आएको केही महिनापछि काष्ठमण्डपको केही भाग उत्खनन भएको थियो । उत्खनन गरेर त्यहाँको जगमा कोइला भेटिएको थियो । कोइला र जगको माटो, बालुवा परीक्षण गरिएको थियो ।

कोइलाको सी—१४ डेटिङ, जगको बालुवा, माटो, काठको ओएसएल डेटिङ टेस्ट गरिएको थियो । ‘६/७ महिना लगाएर परीक्षण गरिएको हो,’ पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले भने, ‘५ सय वर्षको इतिहास बढ्यो ।’

परीक्षण गर्दा तीन किसिमको तथ्य पत्ता लागेको कुँवरले जानकारी दिए । अँगार परीक्षण गर्दा काष्ठमण्डप बन्नु पहिला यो ठाउँमा मानवबस्ती रहेको पाइएको छ । अँगार २२ सय वर्ष पुरानो भएको पत्ता लाग्यो । ‘२२ सय वर्ष पहिला यहाँ खेती रहेको पाइयो,’ कुँवर भन्छन्, ‘पहिलाको इतिहास कथा, जनश्रुतिका आधारमा थियो, अहिले वैज्ञानिक रूपमा पुष्टि भयो ।’

उत्खनन गर्दा जगमा दुई तह भेटिएको थियो । पहिलो तहको गारो १८/१८ फिटको पाइएको छ । भित्रको १२/१२ फिट भेटिएको छ । बाहिरको र भित्रको वाल गारो जोड्न बीचमा सानो पर्खाल लगाइएको छ । यीमध्ये बाहिरी र भित्री पर्खाल सातौं शताब्दीको र बीचमा जोड्ने पर्खालचाहिँ नवौं शताब्दीमा बनेको पाइएको छ ।

उत्खनन गरेर दुराहम विश्वविद्यालयले जग बलियो रहेको जनाएको थियो । ‘त्यही भएर हामीले जग चलाएनौं,’ काष्ठमण्डप पुनर्निर्माण समितिका सचिवव गौतम डंगोल भन्छन्, ‘तल्लो भाग सामान्य मिलायौं । विज्ञले चलाउनु पर्दैन भनेपछि हामीले किन आँट नगर्ने ? हाम्रो प्राचीन प्रविधि र ज्ञानमा हामीले विश्वास गर्नुपर्छ । अनि मात्रै सम्पदाको पुनर्निर्माण सही रूपमा गर्न सकिन्छ ।’

प्रयोगशालामा परीक्षण गर्नुअघि काष्ठमण्डप कहिले बन्यो भनेर इतिहासमा एउटै तिथिमिति उल्लेख थिएनन् । वंशावलीअनुसार काष्ठमण्डप लक्ष्मीनरसिंह मल्लको पालामा बनेको उल्लेख गरेको छ । वंशावलीअनुसार लक्ष्मीनरसिंहको पालामा बिसेत नाम गरेका तान्त्रिकले गोरखनाथको कृपाबाट पाएको कल्पवृक्षबाट काष्ठमण्डप नामक सत्तल बनाए र यही सत्तलको नामबाट काठमाडौं नाम रहन गएको उल्लेख छ ।

तर लक्ष्मीनरसिंह मल्लको शासनभन्दा निकै अगाडि काष्ठमण्डपबारे उल्लेख भएको थियो । त्यही भएर लक्ष्मीनरसिंह मल्लले बनाए भन्ने वंशावलीमा उल्लेख कथालाई विश्वास गर्ने आधार थिएन । लक्ष्मीनरसिंह मल्ल साह्रौ शताब्दीका राजा हुन् । वंशावलीले काष्ठमण्डपको कथा लक्ष्मीनरसिंह जोडे पनि त्योभन्दा पहिला नै लेखिएको पुस्तकमा काष्ठमण्डपबारे उल्लेख भएको पाइन्छ ।

इतिहासकार डा. महेशराज पन्तले जनैपूर्णिमादेखि रानीपोखरीसम्म पुस्तकमा लक्ष्मीनरसिंहले बनाएको भनाइको प्रमाणहरूले खण्डन गरेको उल्लेख गरेका छन् । उनले लक्ष्मीनरसिंह मल्लको पालाभन्दा अगाडि नै काष्ठमण्डप बनेको जनाएका छन् । विसं १२०० मा लेखिएको ‘नामसंगीत’ नामक पुस्तकमा काष्ठमण्डप उल्लेख गरिएको छ । यो पुस्तक हातले लेखिएको थियो ।

राजा सिंहदेवको कालमा पनि काष्ठमण्डपबारे उल्लेख भएको इतिहास पाइन्छ । सिंहदेवा विसं ११६७ देखि ११८५ सम्म राजा भएका थिए । हरिराम जोशीले निकालेको रोलम्ब पत्रिकामा काष्ठमण्डप बाह्रौं शताब्दीमा बनेको उल्लेख छ । नेपाल प्रज्ञा प्रतिष्ठानले २०४४ सालमा निकालेको स्थानमान शब्दकोशमा ११ औं शताब्दी उल्लेख छ ।

यो शब्दकोश कृष्णप्रकाश श्रेष्ठले लेखेका हुन् । २०६७ सालमा यज्ञमानपति बज्राचार्यले लेखेको पुस्तक नेपालका प्राचीन बज्राचार्य लीलाबज्र पुस्तकमा भने काष्ठमण्डप सातौं शताब्दीमा लीलाबज्रले बनाएको उल्लेख छ । नेपाल भाषा एकेडेमीका प्राज्ञसमेत रहेका बज्रचार्य भन्छन्, ‘हामीले सातौं शताब्दीमा बनेको भन्दै आएका थियौं । विज्ञानले पनि यही पुष्टि गर्‍यो ।’ इतिहासकार पन्त भने लीलाबज्रले बनाएको भनाइमा सहमत छैनन् । संस्कृतिविद् काशीनाथ तमोट पनि लीलाबज्रले बनाएको भन्ने भनाइ बज्रयानभित्रको कर्मकाण्ड गर्ने समूहले मात्र भन्ने गरेको बताउँछन् ।

२०७२ को भुइँचालाले काष्ठमण्डप पाताल बनाइदिएको थियो । त्यस अघि २०२७ सालतिर काष्ठमण्डपको जीर्णाेद्वार भएको थियो । काष्ठमण्डपको मुख्य टेको थाम हो । चारवटा थाम उठाएर बनाइएको छ यो । थामको चुकुल ढुंगामा खोपिएको प्वालमा छिराएर अड्याइन्छ । जीर्णाेद्वार गर्दा एउटा थामकोचाहिँ चुकुल ढुंगामा अड्याइएको रहेनछ ।

‘त्यही एउटा थाममा त्रुटि भएकाले काष्ठमण्डप जगैदेखि भत्कियो,’ योजनाकार तथा वास्तुविद् काई वाइजे भन्छन्, ‘किन भत्कियो भनेर हामीले अध्ययनै गरेका छैनौं । जीर्णाेद्धार गर्दा कतै आधुनिक सामग्री प्रयोग गरियो । त्यही भएर पनि भत्किए । गलत निर्माणको कारण सम्पदा भत्किए । काष्ठमण्डपमा पनि भएको यही हो ।’ काष्ठमण्डप १९९० सालको भुइँचालोमा समेत भत्किएको थिएन । ‘त्यतिबेला किन भत्किएन ?’ काई वाइजे भन्छन्, ‘त्यो बुझ्नुपर्‍यो । प्राचीन निर्माण प्रणालीमा खराबी छैन । त्यतिबेला सबै मिलेको भएर भत्किएन । अहिले काठ नमिलेको भएर भत्कियो ।’

वास्तुकलाविद् प्राध्यापक सुदर्शनराज तिवारी नट सिस्टमभन्दा हाम्रो चुकुल सिस्टम धेरै बलियो भएको बताउँछन् । ‘हामीले पश्चिमाको अन्धाधुन्ध नक्कल गर्‍यौं,’ उनी भन्छन्, ‘हाम्रा चुकुल प्रणाली बलियो भएको पचपन्न झ्याले दरबार लगायतले पुष्टि गरेका छन् । काष्ठमण्डप चुकुलले नै बलियो हुन्छ । भुइँचालो आउँदा पनि लचकलचक गर्ने गुणले गर्दा चुकुल बलिया हुन्छन् । हाम्रा पुर्खाले अध्ययन गरेर पत्ता लगाएको विधि हो यो ।’

बलियो बनाउने नाममा सिमेन्ट राख्दा सम्पदामा समस्या हुने काई वाइजे बताउँछन् । ‘नेपाली वास्तुकला एउटा भाग बिग्रेको छ भने त्यही भाग मात्र बनाउन सक्ने खालको छ,’ उनी भन्छन्, ‘सिमेन्ट राख्यो भने पार्ट पार्ट जीर्णाेद्धार गर्न सकिँदैन किनभने सिमेन्ट एक ढिक्का हुन्छ । जीर्णाेद्वार गर्दा विचार गर्नुपर्ने यही हो ।’

पटकपटक विवाद भएको सम्पदा हो काष्ठमण्डप । २०७२ माघ २ गते काष्ठमण्डपबाटै सम्पदा पुनर्निर्माणको थालनी गर्ने योजना बनेको थियो । यहाँ यही जगको विवाद भयो । जग बलियो बनाउने नाममा सिमेन्ट र फलामको चुकुलसमेत राख्ने गरी डिजाइन भयो । त्यसको संरक्षणविद्लगायतले विरोध गरे ।

विरोध भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी शिलान्यास गरेर सम्पदा पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । असार मसान्तमा पहिलो तला निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको समितिकी अध्यक्ष तथा प्रदेश नम्बर ३ का सांसद राजेश शाक्यले जानकारी दिए । यहाँ माटो, बालुवा, इँटाजस्ता प्राचीन निर्माण सामग्री प्रयोग गरिएको छ । यसको निर्माण अमानतबाट भइरहेको छ । ‘काष्ठमण्डप ढिला भयो,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘ढिला भए पनि राम्रो बन्ने भयो ।’

प्रकाशित : माघ २०, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

पुन:स्थापना केन्द्रमा शंकास्पद मृत्यु : फरार दुई जना पक्राउ

प्रशान्त माली

ललितपुर — प्रहरीले इमाडोलस्थित एक पुन:स्थापना केन्द्रमा शंकास्पद ढंगले मृत्यु भएको घटनामा सलंग्न आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर बस्ने सुधीर कार्की र सिन्धुपाल्चोक घर भई कोटेश्वर बस्ने मुकुन्द केसी छन् ।

दुवै जना दुई साताअघि फरार थिए । दोलखाका सीताराम घिमिरेलाई परिवारका सदस्यले रक्सीबाट छुटकारा दिलाउन माघ ३ मा महालक्ष्मी नगरपालिका ४ सेतिपाखास्थित ‘वी केयर’ पुन:स्थापना केन्द्रमा भर्ना गरेका थिए ।

भर्ना गरिएको ३ दिनपछि सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृतकका छोरा साजन र भतिजा गान्दिपकुमार घिमिरेले शंकास्पद मृत्यु भन्दै माघ ८ मा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ४ जनाविरुद्ध कर्तव्य ज्यानमा जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरीका आधारमा ९ गते सोलुखुम्बु पासाङलामु गाउँपालिका ५ का पुन:स्थापना केन्द्र सञ्चालक छिरिङ गेल्जेन शेर्पा र झापा बिर्तामोड नगरपालिका ४ का काउन्सुलर सुनिल खड्का क्षेत्रीलाई पक्राउ गरेको थियो । दुवै जनालाई दुई पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । दोस्रो पटक थपेको म्याद १९ गतेशनिबार सकिएको छ ।

घिमिरेको पोस्टमार्टम रिपोटमा बायाँ छातीको ५ वटा करन भाँच्चिएको, थाइ, घुँडा र खुट्टामा निलडाम र दाहिने कुहिनुमा घाउ देखिएको छ । ‘पुन:स्थापना केन्द्रमा कुटपिट गरेर उपचार गर्ने गरेको छ,’ मृतकका सालो चन्द्र लामाले भने, ‘केन्द्रका सञ्चालकले उपचार गराउन भनी सुरुमा मासिक शुल्क १५ हजार रुपैयाँ पनि लिए ।’

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रले पक्राउ पर्नेसँग बयान लिइरहेको बताए । ‘घटना शंकास्पद छ,’ उनले भने, ‘चाँडै अनुसन्धान सकेर रायसहित सरकारी वकिलको कार्यालयमा पेस गरी अदालतमा मुद्दा दायर गरिनेछ ।’ उनका अनुसार घटना हुँदा पक्राउ परेका चारै जना घटना स्थलमै उपस्थित थिए ।

समाजमा पछिल्लो समय परिवारका सदस्य कुलतमा फस्दा पुन:स्थापना केन्द्रमा उपचार गराउने क्रम बढदो छ । ललितपुरमा १८ वटा पुन:स्थापन केन्द्र सञ्चालनमा छन् । लागूऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा बर्सेनि २ लाख ५३ हजार दुव्र्यसनीका कारणले मृत्यु हुने गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागको दाताअनुसार गत वर्षको तुलनामा लागूऔषध कारोबार गर्नेविरुद्ध लगाइएको मुद्दाको संख्या पनि वृद्धि छ । उपत्यकामा चालू आवको माघसम्म एक सय ७२ वटा पुगिसकेका छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार दुव्र्यसनी बढ्नुको विभिन्न कारणमध्ये लागूऔषध सम्बन्धी नियमावली नहुन मुख्य हो ।

डिएसपी मिश्र भन्छन्, ‘प्रक्राउ परेका लागूऔषध प्रयोगकर्तालाई सम्बन्धित परिवारलाई जिम्मा लगाइदिने वा तिनैको सिफारिसमा पुन:स्थापना संस्थामा पठाउनेबाहेक अन्य उपाय छैन ।’

प्रकाशित : माघ २०, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्