मुख्य चोकमा ट्राफिक बत्ती

दुई महिनामा जडान गरिसकिन्छ : सडक विभाग
दीपेन्द्र विष्ट

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती जडान गर्ने काम अघि बढाएको छ । मन्त्रालयले अत्यधिक सवारी चाप हुने चोकमा बत्ती जडान गर्न लागेको हो ।

मुख्य चोकमा ट्राफिक बत्ती

टेन्डर आह्वान गरी काम सुरु गरिएको सडक विभाग ट्राफिक महाशाखाका प्रमुख दीप बराहीले जानकारी दिए । ‘प्राथमिकताका आधारमा चोक छनोट गरेर टेन्डर आह्वान गरेका छौं, ठेकेदार कम्पनी पनि छनोट भइसकेको छ,’ उनले भने, ‘दुई महिनाभित्र ट्राफिक बत्ती बाल्छौं ।’ गौशाला, मित्रपार्क र पुरानो बानेश्वरमा सोलारसहित नयाँ ट्राफिक बत्ती जडान गरिनेछ ।


सिंहदरबार, पद्मोदय मोड, बागबजार र तीनकुनेमा विद्युतीय बत्तीसहितको ट्राफिक बत्ती मर्मत गर्न लागिएको उनले बताए । उनका अनुसार कालीमाटीमा सोलार ट्राफिक बत्ती मर्मत गरिनेछ भने कलंकीमा परीक्षण सुरु गर्न लागिएको छ ।


उनका अनुसार विभिन्न जेब्रा क्रसिङमा बत्ती जडान गर्न लागिएको छ । शिक्षण अस्पताल महाराजगन्ज, पुल्चोकस्थित जेब्रा क्रसिङमा बत्ती जडान गर्न लागिएको छ । ठेकेदार कम्पनी प्रजिल कन्स्ट्रक्सनले बत्ती जडानको जिम्मा पाएको छ ।


चार महिनाको कार्यादेश दिएको भन्दै उनले चाँडै बत्ती बाल्ने दाबी गरे । ‘काम गर्दै छ, छिटो काम गर्न भनेका छौं,’ उनले भने । प्रजिल कन्स्ट्रक्सनका म्यानेजर रामचन्द्र खन्डाले दुई महिनाभित्र बत्ती जडान गरिसक्ने बताए । ‘सामग्री जडान गर्दै छौं, अब चोकमा ल्याएर राख्ने प्रक्रिया मात्र बाँकी छ,’ उनले भने, ‘मुलुकका विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिराखेका छौं, उपत्यकामा चाँडै गर्छौं ।’


यसअघि उपत्यकाका ७ स्थानमा स्मार्ट ट्राफिक बत्ती बालिसकेको भन्दै ट्राफिक महाशाखा प्रमुख बराहीले आवश्यकताका आधारमा अन्य स्थानमा पनि बत्तीबालिने बताए । चैतमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिकाले मर्मत तथा नयाँ जडान गरेर महाराजगन्जस्थित नारायणगोपाल चोक, सोल्टी मोड, नयाँबानेश्वर चोक, पुतलीसडकस्थित पद्मोदय मोडमा लाइट राखिएको हो । कुमारी बैंक र काठमाडौं महानगरपालिकाअगाडि स्मार्ट ट्राफिक लाइट जडान गरिएको छ । पहिलो चरणमा नमुनाका रूपमा यी चोकमा जडान गरिएको थियो । लाइट जडान यार्सा टेक्नोलोजीले गरेको थियो ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले मर्मत र नयाँ टेन्डर गरेर बत्ती जडान गरिने बताए । ‘यो काम चलाउ मात्र हो, अब नयाँ प्रविधिअनुसार बत्ती जडान गर्ने सोचाइमा छौं,’ उनले भने, ‘एक स्थानबाट सबै चोकको ट्राफिक जाम नियन्त्रण गर्छौं ।’ सडक विभागले बिग्रेका बत्ती मर्मत नगर्दा १० लाखभन्दा बढी सवारीलाई १ हजार २ सय ट्राफिक प्रहरीले हातको इसारामा व्यवस्थापन गर्दै आएका छन् ।


बिग्रेका बत्तीको मर्मत र जडान हुन नसकेको भन्दै यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको चर्को आलोचना भएपछि सरोकारवाला निकायले प्रक्रिया अघि बढाएको हो । पैदलयात्रीलाई समेत अप्ठ्यारो भएकाले जेब्रा क्रसिङमा समेत बत्ती राख्न सुरु गरिनेछ ।


लाइट जडानपछि ट्राफिक प्रहरीलाई केही राहत हुने ट्राफिक महाशाखा प्रमुख वसन्तकुमार पन्तले बताए । ‘थोरै भए पनि ट्राफिकलाई राहत मिल्छ,’ उनले भने, ‘सवारी साधनको संख्या कहाँबाट कहाँ पुगिसक्यो, हामी हातकै इसारामा ट्राफिक जाम नियन्त्रण गर्दै छौं ।’ विभागका अनुसार उपत्यकामा ३ सय ६५ बत्ती भए पनि मर्मत हुन सकेका छैनन् ।


झन्डै दुई दशकअगाडि जापान सरकारको सहयोगमा राजधानीका ११ वटा मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । ती सबै बिग्रिसकेका छन् । सरकारले थप २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । राजधानीमा कालोपत्रे सडक १५ सय किमि छ, जसमध्ये ५ सय किमि सडक विभाग र बाँकी हजार किमि सडक महानगर र नगरको जिम्मामा छन् ।

प्रकाशित : माघ १४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?