फैसलाविरुद्ध मुद्दा

‘सम्पदा मिच्नेलाई छुट, बचाउनुपर्छ भन्नेलाई ५३ दिने म्याद ? यो फैसला दुराशयपूर्ण छ ’
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठमेलको एक चैत्य र सँगै रहेको बाटो तथा इनार सार्वजनिक भएको फैसला गरे । यी तीनैवटा सार्वजनिक सम्पत्ति भएकाले चैत्य छेउमा लगाएको पर्खाल भत्काएर बाटो खुला छाड्न आदेश दिए । तर घरभित्र आधा परेको सार्वजनिक इनारको विषयमा केही बोलेनन् । 

प्राचीन अशोक चैत्य परिसरमा रहेको इनारको आधा भाग अतिक्रमण गरी घर बनाउनेलाई समयमै रोकेर कानुनको दायरामा ल्याउनुपर्नेमा प्राचीन इनार मिचिखानेलाई नै प्रश्रय दिएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । शाक्यले उपमेयरको कार्यक्षेत्र मिचेर सम्पदासम्बन्धी यो विवादको गत महिना फैसला गरेका थिए । फैसलाविरुद्ध जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, ललितपुर महालक्ष्मी बस्ने सञ्जय अधिकारी र मध्यपुर थिमि नगरपालिकाका जीवन घिमिरेले मुद्दा दर्ता गरेका हुन् ।


ठमेलमा जीर्णाेद्धार गरिएको लिच्छविकालीन चैत्यका सँधियारले सार्वजनिक इनार मिचेको महानगरले फैसलामा उल्लेख गरेको थियो । ‘घरले इनार मिचेको छ । महानगरले पनि इनार सार्वजनिक भनेको छ । तर इनार कसरी सार्वजनिक प्रयोजनमा ल्याउने केही भनिएको छैन,’ अशोक विहार जीर्णाेद्धार एवं संरक्षण समितिका अध्यक्ष सञ्जीव श्रेष्ठ भन्छन्, ‘सम्पदा मिच्नेलाई केही नभन्ने अनि हामी बचाउनुपर्छ भन्नेलाई ५३ दिने म्याद दिइएको छ । यो फैसला दुराशयपूर्ण छ । यो निर्णयविरुद्ध हामी अदालतको ढोका ढकढक्याउन गएका हौंं ।’ काठमाडौं महानगरपालिका २६ नम्बर वडा कार्यालय र जग्गाधनी विष्णु श्रेष्ठ र मीरा श्रेष्ठलाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको हो ।


इनार भएको जग्गा अहिले व्यक्तिको नाममा छ । ठमेल क्षेत्रका दुईवटा नक्सा प्राप्त भएका छन् । एउटा नक्सा २००१ सालको नापीमा आधारित छ भने अर्को ०३३ सालमा । २०३३ सालको नक्सा जारी हुनुअघि यो क्षेत्रलाई ‘ठमेल मौजा’ भनेर चिनिन्थ्यो । त्यतिबेला कोहीसँग पनि लालपुर्जा थिएन । भोगचलनको अधिकार मात्रै थियो ।


२०२४ सालमा यहाँ घर बन्यो । ‘घर बन्दा मिचिएको जग्गालाई घरधनीकै नापमा कायम गरिदिए । मिचिएको झन्डै ४ फिटको बाटो चैत्यको जग्गातिर कायम गरिदिएको नक्सामा देखिन्छ । यसो गर्दा नापीले सार्वजनिक बाटो मिचेको देखाइएन,’ श्रेष्ठ भन्छन्, ‘समस्या त्यतिबेलादेखि भयो ।’


पुरानो नक्साअनुसार विहार कित्ता नं. २ सय २३ मा छ । नयाँमा १ सय ३५ कित्ता कायम गरिएको छ । विहारसँगैको पश्चिमतिरको घर ०३२ सालसम्मको नक्सामा कित्ता नम्बर २ सय २२ मा छ । नयाँमा १ सय ३४ कित्तामा पर्छ । कित्ता नम्बर २ सय २२ को जग्गाको पूर्वतिर बाटो प्रस्ट देखिन्छ ।


विहार पुनर्निर्माण गर्ने क्रममा बाटो मिचिएको भन्दै काठमाडौं महानगरपालिकामा उजुरी दिएपछि यो तथ्य बाहिर आएको थियो । ‘सार्वजनिक बाटो मिची गरिने निर्माण रोकिपाउँm’ भन्दै जग्गाधनी विष्णु श्रेष्ठ र मीरा श्रेष्ठले महानगरपालिकामा उजुरी दिएका थिए । मुद्दाको अहिले महानगरले अन्तिम निर्णय गर्ने तयारी गरेको छ । ‘बहस धेरै दिन होला भनेर हामीले सबै प्रमाण बुझाएनौं,’ श्रेष्ठले भने, ‘तर एकै दिनमा बहस सिध्याइदिए । पछि मेयरलाई प्रमाण बुझाउन गयौं । मेयरले प्रमाण पछि लिन मिल्ने वा नमिल्ने कानुन विभाग प्रमुखसँग सोधेर निर्णय गर्ने बताउनुभयो ।’


सातौं शताब्दीको मानिएको यो स्तूप बेवारिसे अवस्थामा थियो । २०३७ सालमा जग्गाको उत्तरतिर काठको ढोका हालिएको थियो ।

प्रकाशित : माघ १४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?