मल्लकालीन दरबार पुरानै शैलीमा पुनर्निर्माण गरिने

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर–थिमि नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त मल्लकालीन दरबार (लायकु) पुरानै शैलीमा पुनर्निर्माण गरिने भएको छ । उक्त दरबारमा आदर्श मावि सञ्चालन भइरहेको छ । विद्यालय प्रशासन र तीनवटा भवनमा सञ्चालित १० वटा कक्षाकोठा क्षतिग्रस्त छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा (सीएलपीआईयू) ले क्षतिग्रस्त विद्यालय भवन मौलिकशैलीमा पुनर्निर्माण गर्न अस्वीकार गरेपछि नगरपालिकाले पुनर्निर्माणको तयारी थालेको हो । ‘क्षतिग्रस्त मल्लकालीन भवन पुनर्निर्माणका लागि करिब ७० लाख रुपैयाँ विनियोजन भएको थियो,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकृष्ण श्रेष्ठले भने, ‘सीएलपीआईयूले मौलिकशैलीको नक्सा अस्वीकार गर्दै विनियोजित बजेट फिर्ता गर्‍यो ।’ सीएलपीआईयूले डन्डी, सिमेन्टको प्रयोग गरी आरसीसी भवन निर्माण गर्ने अडान नछोडेको उनले बताए ।

स्थानीय बासिन्दा, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले मौलिक शैलीमै बन्नुपर्ने अडान लिएका थिए । भवन पुनर्निर्माणका लागि मध्यपुरथिमि नगरले चालु आव ०७५/७६ मा १ करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

भक्तपुरका अन्तिम राजा रणजित मल्लले आफ्नी गंगा महारानीका लागि निर्माण गरेको नौ तले दरबार विभिन्न कालखण्डमा भत्किएको र जीर्णोद्धार गर्ने क्रममा दुईतलामा सीमित भएको स्थानीय विकेश श्रेष्ठ बताउँछन् । तलेजु भवानी मन्दिर परिसरको उक्त भवन गंगा महारानीको इच्छाबमोजिम चारैतिर बाटो राखेर बनाएको भन्ने कथन छ ।

गंगा महारानीले ७ वटा घर हटाउन लगाएर उक्त भवन निर्माण गर्न लगाएको कथन रहेको जनाएको छ । २०२१ मा स्थापना भएको आदर्श माविको भवन २०२३ मा जीर्णोद्धार भएको विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार घोले बताए ।

नगरपालिकाले आदर्श मावि लायकुलाई नगरको नमुना विद्यालय घोषणा गरी सुविधासम्पन्न संरचना निर्माणलाई जोड दिएको नगरप्रमुख श्रेष्ठले बताए । नमुना विद्यालयमा पूर्वाधार, स्वच्छ खानेपानी, शौचालय व्यवस्थापन, ल्याब निर्माण लगायत छन् । क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको प्रक्रियामा रहेको प्रधानाध्यापक बुद्धिकुमार घोले बताए । उपभोक्ता समितिमार्फत प्रशासन, १० वटा कक्षाकोठा सहितको दुईतले तीनवटा भवन निर्माण गरिने उनले बताए । भवन पुरातात्त्विक चुना, सुर्कीको प्रयोगमा दलिन राखेर बनाउने जनाएको छ । विद्यालयको दुईवटा भवन प्रबलीकरण गरिसकेको छ ।

प्रकाशित : माघ १४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

सदरमुकाममा व्यापार घट्यो

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला सदरमुकाम मन्थलीका पसल व्यवसाय सुनसान छन् । व्यवसाय निरन्तर ओरालो लागिरहेको छ । गाउँपालिका तहमा शासन पुग्नु र गाउँमै बैंकिङ सेवा पुग्नुले मात्र हैन, होलसेल व्यवसायीबाट सामान लैजाने क्रम स्वात्तै घटेको छ । 

‘व्यापार ३५ प्रतिशतको हाराहारीमा झरेको छ,’ अनुराग इन्टरप्राइजेज मन्थलीका सञ्चालक रामसुदिस साहले भने, ‘पहिलेको जस्तो व्यापार कुनै व्यवसायीले पनि गर्न सकेका छैनन्, बजारमा मानिसको चहलपहल भए पनि सामानको खरिद–बिक्री भने नगण्य हुने गरेको उनको अनुभव छ ।’

केही महिनायता आर्थिक मन्दीको संकट बैंक तथा वित्तीय संस्थाले भोगिरहेका छन् । मन्थलीमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी रोकेका छन् । विगतमा लगानी गरेका ऋणीसँग रकम भुक्तानी माग गर्ने तर पुन: लगानी नगर्ने नीति बैंकले लिएका छन् । निजी क्षेत्रका बैंकमा आर्थिक अभावकै कारण व्यवसायीहरूले चाहेको बेला ऋण पाइरहेका छैनन् ।

बैंक मात्र हैन, नगदको कारोबार गर्ने मनी ट्रान्सफर र बिमा कम्पनीले पनि आफ्नो पहिलेको जस्तो ग्राहक पाएका छैनन् । ‘हाम्रो व्यवसाय पनि पहिलेको झैं छैन,’ आईएमई सेन्टर मन्थलीका सञ्चालक सुरेश उदासले भने । उनका अनुसार विदेशबाट रकम आए पनि आन्तरिक पैसा आदानप्रदानको काम भने घटेको छ । यसैगरी बिमा व्यवसायीले समेत लक्ष्य भेटाउन सकेका छैनन् । बिमा व्यवसायी विपिन भट्टराईले भने, ‘हामीलाई दिइएको टार्गेट पूरा गर्नै हम्मे परेको छ ।’

भूकम्पपछि अप्रत्याशित रूपमा व्यवसाय वृद्धि भएको थियो । व्यवसायीले लगानी पनि वृद्धि गरेका थिए । त्यो बेला हरेक क्षेत्रमा व्यवसाय चुलिएको थियो । हार्डवेयर पसलले रातिसम्म सामान बेच्थे । भूकम्पपीडितहरू बैंकमा अनुदानको किस्ता झिक्न आउँदा लजको व्यापार उच्च थियो । बजारमा खुद्रा सामान त्यत्तिकै बिक्री हुन्थ्यो । मन्थलीका व्यवसायी रमेश तामाङ भन्छन्, ‘अहिले सुनसान छ, अलिअलि भूकम्पपीडित आउँदै छन् र थोरै भए पनि व्यापार चलेको छ ।’

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाका अनुसार भूकम्पपछिको पुनर्निर्माणको काम सकिन लाग्दा व्यवसायमा गिरावट देखिएको हो । सडक सुविधाहरू गाउँमा पुगेकाले गाउँमै सामान पाइने र मूल्य पनि उस्तै भएकाले सदरमुकामको कारोबारमा मन्दी आएको हुन सक्ने संघका अध्यक्ष थापाले भने । मन्थलीमा दर्जनभन्दा बढी ठूला लगानीका होटल तथा लजमा पनि पहिलेको झैं पाहुना छैनन् । प्राय: कोठा नपाउने मन्थली बजारका लजहरू बिरलै भरिन्छन् ।

जेएस होटल सञ्चालक गणेश थपलिया भन्छन्, ‘लजका कोठाहरू भरिन छाडेको धेरै भयो ।’ नाम चलेका जीएस, पाहुनाघर, एसएस इभरग्रिन जस्ता होटलको तुलनामा अन्यको व्यापार घर भाडा तिर्न पनि हम्मे पर्ने खालको छ । मन्थलीमा भाडा महँगो छ, व्यापार नभएकाले भाडा तिर्न पनि मुस्किल हुन थालेको एक व्यवसायीले बताए ।

प्रकाशित : माघ १४, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्