मन्दिर पुनर्निर्माण : मौलिक सामग्री पाउनै गाह्रो

भक्तपुर — विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरको फसिदेवल (सिलु महादेव) मन्दिर ०७२ वैशाखको भूकम्पको धक्काले पूर्णरूपमा क्षतिग्रस्त भयो ।

१९९० सालको भूकम्पअघि शिखर शैलीको फसिदेवल भूकम्पपछि राणाकालीन समयमा गुम्बज शैलीमा निर्माण भयो । उक्त क्षतिग्रस्त गुम्बज शैलीको मन्दिरलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग)ले १९९० सालको भूकम्प अघिकै शिखर शैलीमा पुनर्निर्माण थालेको छ ।


मौलिकता जोगाउन शिखरशैलीमै पुनर्निर्माण थाले पनि पुरातात्त्विक निर्माण सामग्रीको अभावले फसिदेग मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको पुरातत्त्व विभाग भक्तपुर प्रमुख मोहनसिं लामा बताउँछन् । फसिदेग मन्दिरको पेटीमा ४ इन्च मोटाइ, १ फिट चौडाइ, २ फिट लम्बाइको पेटी इँटा आवश्यक पर्छ । उक्त पेटी इँटा उत्पादन नै हुन छोड्यो । ‘जति थियो, मन्दिरको पेटीमै थियो,’ उनले भने, ‘अहिले त्यो साइजको इँटा उत्पादन नै हुँदैन । किन्न खोज्दा व्यवसायीले पेटी इँटाको साँचो नै नभएको र बनाउन नसक्ने बताए ।’ पेटी इँटा

नपाउने भएपछि इँटा साइजकै ढुंगा राख्ने निर्णयमा पुगेको विभागले जनाएको छ ।


पुरातात्त्विक संरचना निर्माणका लागि पुरातत्त्वको माग अनुसारका परम्परागत कलात्मक इँटा, ढुंगा, काठ र दक्ष जनशक्ति अभाव हुँदा प्रभावकारी रूपमा सम्पदा पुनर्निर्माणको गति अघि बढ्न नसकेको लामा बताउँछन् । ‘सम्पदा संरक्षणको महत्त्वपूर्ण निर्माण सामग्री कलात्मक बुट्टे इँटा, नेपाली सालको काठ, नेपाली ढुंगा नै हो,’ उनले भने, ‘सर्वसुलभ रूपमा परम्परागत इँटा अभाव छ, काठ पाउन मुस्किल छ ।’ पर्याप्त इँटा उत्पादन हुने जिल्लामा परम्परागत इँटा अभाव हुनु दुर्भाग्य भएको उनी बताउँछन् ।


सम्पदा पुनर्निर्माणका लागि नभई नहुने सालको काठ अभावले पुनर्निर्माण प्रभावित भएको पुरातत्त्व विभाग भक्तपुरले जनाएको छ । ‘सर्वसुलभ रूपमा काठ नपाउँदा योजनाअनुरूप पुनर्निर्माण हुन सकेको छैन,’ पुरातत्त्व विभाग भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले भने, ‘मलेसियन, इन्डियन, बर्मिज काठ पाउन गाह्रो छैन तर हामी विशेषगरी सम्पदा पुनर्निर्माणमा नेपाली सालकै काठ प्रयोग गर्छौं ।’ टेम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)ले सर्वसुलभ रूपमा पुनर्निर्माणका लागि सालको काठ उपलब्ध गराउने भनिए पनि हालसम्म सम्पदा पुनर्निर्माणलाई चाहिने काठ उपलब्ध गराउन नसक्दा पुनर्निर्माण प्रभावित भएको उनले बताए ।


टीसीएनले आफ्नो साइजको काठ उपलब्ध गराउँछ तर सम्पदा संरक्षणका लागि चाहिने काठ उपलब्ध नभएकाले पुनर्निर्माणमा कठिनाइ भएको विभागको भनाइ छ । विभागले क्षतिग्रस्त साना/ठूला २१ सम्पदा पुनर्निर्माण सम्पन्न गरेको र फसिदेवल मन्दिरको पुनर्निर्माण ४० प्रतिशत मात्र सम्पन्न गर्न सकेको जनाएको छ ।


त्यसैगरी, दरबार स्क्वायर परिसरकै तव सत्तलको ७० प्रतिशत, राष्ट्रियकला संग्रहालय (लाल बैठकबाहेक) सिंह ढोकाको भागको ४० प्रतिशत, जेठा गणेश द्यो छें २० प्रतिशत, नासमना भजन सत्तल २० प्रतिशत पुनर्निर्माण गरेको विभाग प्रमुख लामाले बताए । त्यस्तै, हनुमानघाटस्थित सत्तल ६० प्रतिशत, सूर्यविनायक मन्दिर परिसरको सत्तल ३० प्रतिशत, बाराही पीठ सत्तल ६० प्रतिशत, राममन्दिर परिसरको सत्तल २० प्रतिशत, दक्षिणबाराही मन्दिर परिसरको सत्तल २० प्रतिशत पुनर्निर्माण भएको जनाएको छ ।


बालाखु गणेश द्यो छें पुनर्निर्माण, दरबार क्षेत्रको प्रहरी भवन पुनर्निर्माण, महामञ्जुश्री मन्दिर परिसर संरक्षण, गणेश मन्दिर सत्तल नगदेश पुनर्निर्माण, चित्रपुरस्थित गणेश मन्दिरसहित भजन सत्तल पुनर्निर्माण, दधिकोट स्थित हिन्चोक भैरवस्थित सत्तल पुनर्निर्माण, वप्पा (विश्वेश्वर महादेव) मन्दिर संरक्षण, चाँगुनारायण मन्दिर चौघेरा सत्तल पुनर्निर्माण, अनन्तलिंगेश्वर मन्दिर संरक्षण, जंगम मठ संरक्षण, ज्योतिर्लिंगेश्वर मन्दिर परिसर सत्तल पुनर्निर्माण, महेश्वरी पीठस्थित सत्तल भजन मण्डल संरक्षण र नीलबाराही परिसरको सत्तल निर्माणका लागि केन्द्रबाट बजेट स्वीकृति भएको विभागले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?