बालकुमारी मन्दिर जीर्णोद्धार

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमिको इष्ट (मुख्य) देवता बालकुमारी मन्दिरको जीर्णाेद्धार थालेको छ । भूकम्पको धक्काले तीनतले मन्दिरको तीनवटै छाना जीर्ण बनेका छन् । मन्दिरका टुँडाल र खम्बाहरू निस्किएका छन् ।

भूकम्पले चर्काएको बालकुमारी मन्दिर जीर्णोद्धार हुँदै । तस्बिर : रामकृष्ण श्रेष्ठ/कान्तिपुर

‘मन्दिरको छाना, गजुरलाई साबिक स्थानमा राख्न जीर्णोद्धार आवश्यक छ,’ मन्दिर जीर्णोद्धार उपभोक्ता समिति अध्यक्ष भरत श्रेष्ठले भने, ‘भंगी (गजुर रहने भाग), नागोल, तामाको पाता, कुमुसी (दलिन), टुँडाल, झलरलगायत निकालेर जीर्णोद्धार गर्ने लक्ष्य छ ।’

मध्यपुर थिमि ४ मा अवस्थित बालकुमारी मन्दिर जीर्णोद्धारका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा १ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । मन्दिर जीर्णोद्धारका लागि भरत श्रेष्ठको संयोजकत्वमा उपभोक्ता समिति गठन गरेको छ ।

बालकुमारी मन्दिर कसले र कहिले बनाएको भन्ने एकिन तथ्यांक छैन । संस्कृतिकर्मी प्रदीप श्रेष्ठका अनुसार बालकुमारी मन्दिर नेपाल संवत् ४७८ मा तीनतले छाने शैलीमा निर्माण गरिएको हो । थिमिको बिस्केट जात्रालाई व्यवस्थित गर्न र वैशाख संक्रान्तिको राति हुने ‘धापना पूजा’ मा गर्नुपर्ने विधिविधानसहितको व्यवस्था गरिएबाट यो मन्दिर पहिला नै बनेको भन्ने प्रमाणित हुने उनी बताउँछन् ।

स्थानीय कृष्णचरण श्रेष्ठका अनुसार बालकुमारी मन्दिरको पहिलो तलामै गजुर छ । उक्त गजुरले मन्दिर कुनै समय एकतले थियो भन्ने प्रमाणित हुन्छ । विभिन्न कालखण्डमा बालकुमारी मन्दिर निर्माण, मर्मत तथा जीर्णोद्धार भएको यथेष्ट प्रमाण फेला परे पनि कहिले, कसले निर्माण गरेको भने एकिन तथ्यांक छैन ।

मध्यपुर थिमिको बालकुमारीलाई थसी (सिद्धिपुर) बाट ल्याएको भन्ने कथन छ । प्रचलित कथनअनुसार थसीकी एकजना स्वास्नीमान्छे आफ्नो माइतीबाट पतिको घर भक्तपुर जाने क्रममा आफ्नो सुरक्षाका लागि बालकुमारीलाई बोकेर ल्याएको र थिमिमा बास बस्ने क्रममा हाल अवस्थित स्थानमा बिसाएको भनिन्छ । भोलिपल्ट निकाल्न खोज्दा निकाल्न नसकेपछि सोही स्थानमा बालकुमारी स्थापना गरेको भन्ने कथन छ । मध्यपुर थिमिको हरेक सांस्कृतिक तथा ऐतिहासिक जात्रा, पर्व तथा पूजापाठहरू बालकुमारी मन्दिर केन्द्रित सञ्चालित हुने गर्दछन् ।

संस्कृतिकर्मी श्रेष्ठका अनुसार मध्यपुर थिमिको प्रमुख बिस्केट जात्रा तथा वर्षभरि मनाउने जात्रा, पर्व बालकुमारी मन्दिर केन्द्रित हुन्छ । जात्रा अवधिमा सम्पन्न गर्ने कुम्भो: खुवाउने, द्य:दान गर्ने, य:मरी चढाउने, मिखु म्ये:को बलि दिने तथा य:सिं ठड्याउने गरिन्छ । थिमिमा इन्द्रजात्राको भोलिपल्ट मनाउने जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएको सुइरो बालकुमारी मन्दिरको खम्बामा गाड्ने प्रचलन छ । भैरव नाच, नवदुर्गा नाच, दसैंमा भुइफ:सि (कुभिन्डो) काट्ने खड्गजात्रा बालकुमारी प्रांगणमै गरिन्छ ।

उत्तराभिमुख बालकुमारी मन्दिरको अगाडि ढुंगाको शिलास्तम्भमा मयूरको प्रतिमूर्ति स्थापना गरिएको छ । जसलाई बालकुमारीको वाहनको रूपमा लिइन्छ । शिलास्तम्भको पूर्वपट्टिको भागमा कुँदिएको विवरणअनुसार नेपाल संवत् ९१८ मा जयसिंह भारो र उनका छोरा तबधिक भारोले स्तम्भ स्थापना गरी मन्दिरको जीर्णोद्धारमा सहयोग गरेको उल्लेख छ ।

मन्दिरभित्र भैरव, कुमारी, काली, महालक्ष्मी, गणेशको निराकार मूर्ति छ । मन्दिरको सिलिङमा इँला रहेको र देवीदेवता कमलको फूलमा आसन भएको स्पष्ट मूर्ति देख्न सकिन्छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

दरबन्दी नुवाकोटमा, काम काठमाडौं

जिल्ला अस्पतालका बिरामीले पाए सास्ती 
कृष्ण थापा

नुवाकोट — गाइनोलोजिस्ट डा. जस्मिन श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मधुसूदन कायस्थ र जनरल फिजिसियन डा. नियन्तादेवी कार्की । तीनै जनाको दरबन्दी जिल्ला अस्पताल नुवाकोट हो । एक जना पनि अस्पतालमा छैनन् ।

नुवाकोटको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामी । ६ महिनादेखि विषेशज्ञ चिकित्सक अभावमा गम्भीर बिरामीहरू उपचारका लागि काठमाडौं रिफर गर्न बाध्य छन् । यहाँ दैनिक २ सय बिरामी उपचारका लागि धादिङ, नुवाकोट र रसुवादेखि आउने गर्छन् ।तस्बिर : कृष्ण/कान्तिपुर

तीनै जना काजमा काठमाडौंमा छन् । जिल्ला अस्पताल त्रिशूलीमा धाउने बिरामी भने उपचार नपाएर छटपटीमा छन् ।

श्रेष्ठ परिवार नियोजन क्षेत्रपाटी, कायस्थ कान्तिबाल अस्पताल महाराजगंज र कार्की वीर अस्पतालमा काजमा छन् । बिरामीको चापले २५ बेडको अस्पताल बढाएर ३७ बेडसम्म बिरामी राखिएको त्रिशूली अस्पताल विकास समितिले जनाएको छ । ‘डाक्टरलाई फर्काइदिन संघीय र प्रदेश मन्त्रालय कैयौं पल्ट धाइसकें,’ अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेल भने, ‘काज गएका फिर्ता भएनन् । नयाँ आएनन् । धाएको धायै छु ।’

तीन जिल्लाबाट बिरामी आउने त्रिशूली अस्पतालमा विशेषज्ञ चिकित्सक नआउँदा बिरामी अन्यत्र जान बाध्य छन् । अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामी उपचारका लागि आउने गरेका छन् । जनरल, ओपीडी गरी दैनिक डेढ सयदेखि २ सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सक नभएपछि अस्पतालले गम्भीर बिरामीहरू धमाधम काठमाडौं रिफर गर्न थालेको छ । ‘विशेषज्ञ डाक्टर नहुँदा साह्रै सास्ती पाइयो,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट देवकी खतिवडाले भनिन्, ‘गम्भीर बिरामी हामीले सक्ने जति उपचार गरेर रिफर गरेर पठाउनुबाहेक अर्को विकल्प छैन ।’ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट गरी १७ जना स्थायी मेडिकल चिकित्सकको दरबन्दी छ ।
स्थायी चिकित्सक अभावले जेनतेन ओपीडीको टिकट, ल्याब, बेड चार्जलगायतबाट उठेको रकमबाट सेवा प्रवाह गरेको समितिले जनाएको छ । अस्पतालमा लेखापाल र सहलेखापालसमेत छैनन् । जिल्ला अस्पतालले चिकित्सक माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक विशेषज्ञ चिकित्सक पठाइदिन पत्र पठाइसकेको छ ।

मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘५० बेडको क्षमताको अस्पताल भए पनि दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारीहरू नहुनाले सेवा प्रवाहमा धेरै कठिनाइ भइरहेको छ ।’ अस्पतालले बढी समस्या प्रसूति सेवा परेको जनाएको छ । अल्ट्रासाउन्ड, दुई जना एमडीजीपी, १/१ जना बालरोग विशेषज्ञ, एनेस्थेसिया सहायक, मेडिकल अधिकृत पठाइदिन भनेको छ ।

खतिवडाले यहाँ आउने चिकित्सकले बिरामीको उपचार सेवा गरेबापत् दुर्गमको जस्तो बढुवाको नम्बर नपाइने बताइन् । ‘यहाँ डाक्टर आउन मान्दैनन्,’ उनले भनिन्, ‘दुर्गममा जस्तो नम्बर आउँदैन र निजीमा पार्टटाइम गर्न पाइँदैन । तलबको भरमा २४ घण्टा काम गर्नुपर्दा आउन मान्दैनन् ।’ यहाँ पार्टटाइम काम गर्न क्लिनिकहरू छैनन् । यहाँ बस्नु र भ्यालीमा बस्नु कुनै फरक नभएकाले डाक्टर नुवाकोट आउन नमानेको समितिको बुझाइ छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्