२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उठेन सम्पदा बस्ती

प्रशान्त माली

काठमाडौँ — खोकनाको सरकारसँग धेरै मुद्दा छन् । फास्टट्रयाक, ३३ केभी प्रसारण लाइन, बाहिर चक्रपथबाहेक बस्तीलाई विश्व सम्पदामा सूचीकृत गराउने अर्को मुख्य मुद्दा हो । खोकनाले यसबारेमा सरकारको ध्यानार्कषण गराउँदै आएको २१ वर्ष बितिसक्यो ।

उठेन सम्पदा बस्ती

तर, अझै पनि सूचीमा परेको छैन । २१ औं भूकम्प सुरक्षा दिवसको अवसरमा जावलाखेलमा आयोजित अन्तक्र्रियामा खोकनाका अशोक महर्जनले यो विषय उठाएका थिए । भने, ‘सहकारीको मोडेल बेलायतबाट सुरु भएको नभई ५२८ वर्षअघि नै खोकनामा सुरु भइसकेको थियो । स्वस्तिक आकारको बस्तीका बासिन्दाको रहनसहन, परम्परा र रीतिरिवाज १५ औं शताब्दीको एउटा जीवित संग्रहालय हो ।’

पुरातत्त्व विभागले खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न २०५४ मा आधारसहितको अध्ययन प्रतिवेदन तयार पारेको थियो । त्यतिबेला विभागले मल्लकालीन बस्ती, तेल मिललगायतलाई प्रमुख आधार बनाएर प्रतिवेदन तयार गरेको थियो । तैपनि यसबारेमा सरकार गम्भीर नभएको भनी उनले गुनासो गरे । प्रतिउत्तरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले लक्ष्य अनुसार काम अगाडि बढिरहेको दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ माघमा बुङमती पुगेर सम्पदा बस्ती पुनर्निर्माण अभियान सुरु गरे । त्यतिबेला भूकम्पले ध्वस्त रातो मस्त्येन्द्रनाथ, हयग्रव भैरव मन्दिरसँगै पुरातात्त्विक महत्त्वका वास्तुकला शैलीका घर पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड थियो । बस्ती मौलिक शैलीमा पुनर्निर्माण गर्न संयुक्त राष्ट्र संघ ह्याबिट्याडको प्राविधिक सहयोगमा डिजाइन र लगत इस्टिमेटसहितको गुरुयोजना पनि तयार भइसकेको छ ।

तर, भूकम्प गएको तीन वर्ष बढी बितिसक्यो । यहाँ न मत्स्येन्द्रनाथको मन्दिर बने न त नेवारी शैलीका घर नै । अधिकांश स्थानीयले टहरामा रात कटाइरहेका छन् । बुङमतीका अनिल तुलाधर भन्छन्, ‘यसको मुख्य जड आर्थिक र नक्सापास प्रक्रियामा झन्झटिलो हो ।’ उनका अनुसार १९९० को भूकम्पमा पुनर्निर्माण गर्न सरकारले नि:शुल्क काठ उपलब्ध गराएका थिए । ‘अहिलेको सरकारले सहुलियत ऋणको व्यवस्था गर्‍यो । तर, मापदण्ड पुर्‍याउनै गाह्रो छ ।’

उनका अनुसार मौलिक शैलीमा घर बनाउन ४० देखि ५० लाख रुपैयाँ लाग्छ । ‘सहकारीको चर्को ब्याजबाट ऋण लिएर बनाउन सक्ने सम्भावना छैन,’ उनले भने । भूकम्पको तीन वर्षभन्दा बढी अवधिमा पाँच जना प्रधानमन्त्री फेरिइसकेका छन् । यही बीचमा भूकम्पपीडितकै सहायताका लागि स्थापना गरिएको पुनर्निर्माण प्राधिकरणमा पनि पाँच पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भए ।

सुरुमा गोविन्द पोखरेल त्यसपछि सुशील ज्ञवाली, फेरि पोखरेल नै आए । त्यसपछि युवराज भुसाल आए । अहिले पुन: सुशील ज्ञवाली नै छन् । यो अवधिमा राजनीतिक आवरणमा कुर्सी र कार्यशैली फेरिए पनि भूकम्पपीडितको समस्या भने उस्तै रहे । उनले राजनीतिक भागबन्डाका कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण थला परेको बताए ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले दैवी प्रकोपबाट उद्धार गर्न लाखौं स्वयंसेवक तयारी पार्न आवश्यक रहेको बताए । ‘जनचेतना, क्षमता अभिवृद्धि गर्न आवश्यक छ,’ उनले भने, ‘सीमित स्रोत साधनबाट बढी उपयोगिता गर्नुपर्ने अवस्था छ ।’ उनले विपत् जोखिम न्यूनीकरण गर्न नीतिनियम तर्जुमा गर्नुपर्ने बताए । ‘संघ, प्रदेश र केन्द्रबीच विपत् व्यवस्थापन अधिकार बाँडफाँड गर्नुपर्छ,’ उनले भने ।

बुङमतीमा भूकम्पबाट ७ जनाको मृत्यु भएको थियो । भने ५३ जना घाइते भएका थिए । ८ सय ५३ वटा घर पूर्ण क्षति र ३ सय १५ वटा आंशिक क्षति भएको थियो । खोकनामा एक हजार ६ सय ६२ घरधुरी छ, जसमा ८ सय ३७ वटा पूर्ण क्षति भएको थियो । दुवै बस्ती मौलिक शैलीमा पुनर्निर्माण डिजाइनमा भुइँ तलामा ‘क्युरी सप, काष्ठकला, प्रशिक्षण केन्द्र, क्याफे, होटल तथा रेस्टुरेन्ट, पहिलोमा होम स्टे, लज, सर्भिस अपार्टमेन्टका र दोस्रोमा किचन रहनेछ । घरधनीलाई लक्षित गरी बनाइएकामा भुइँ तलामा क्युरी सप, पहिलो र दोस्रोमा घरधनी बस्ने र माथिल्लो तलामा किचेन रहनेछ ।

सार्वजनिक तथा निजी संरचना पुनर्निर्माणमा सटर, रेलिङ, स्टिलको झ्याल ढोका, रङ, साइनबोर्ड, छत, पानी ट्यांकीलगायत आधुनिक सामग्री प्रयोगलाई निरुत्साहित गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने गरी बनाइने चारतले घर निर्माण गर्न ५५ देखि ६५ लाख रुपैयाँसम्म पर्छ । सामान्यतया घरघनी बस्ने घर निर्माण गर्दा ३० देखि ४० लाख रुपैयाँसम्म लागत इस्टिमेट निकालिएको थियो ।

प्रकाशित : माघ ६, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?