चापाखर्कमा पाराग्लाइडिङ

प्रशान्त माली

ललितपुर — उपत्यकावासी पाराग्लाइडिङको मज्जा लिन पोखरा पुग्छन् । बाहिरी जिल्लामा पुग्नुपर्दा बढी खर्चसँगै व्यस्तताले गर्दा कतिपयले मनोकांक्षा पूरा गर्न पाएका छैनन् । आकाशमा उड्ने रहर बोक्नेले अबदेखि ललितपुरलाई विकल्पका रूपमा लिन सक्ने भएका छन् ।

चापाखर्कमा पाराग्लाइडिङ

कारण काठमाडौं पाराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङले भूकम्पले बन्द भएको गोदावरीस्थित चापाखर्क डाँडाबाट पुन: पाराग्लाइडिङ सुरुवात गरेको हो ।


बुधबारदेखि उक्त डाँडाबाट पाराग्लाइडिङ सुरु भएको हो । चापागाउँका श्रीजन महर्जन आफैं पनि अहिले पाराग्लाइडिङ पाइलटको प्रशिक्षण लिइरहेका छन् । उनी भन्छन्, ‘अब सीप सिकेर आफ्नै जिल्लामा सपना साकार पार्न सक्ने सम्भावना भयो ।’ गोदावरी क्षेत्र धार्मिक, पर्यटकीय र वातावरणीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण क्षेत्र मानिन्छ । सरकारले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना पनि बनाएको छ ।


गोदावरी नगरपालिकाका अनुसार गोदावरी मार्बल कम्पनीले पहिले प्रयोग गरेको स्थानमा सांस्कृतिक संग्रहालय, पशुपन्छी अवलोकन केन्द्र, जैविक विविधताको केन्द्र, नमुना जलाधार क्षेत्र, होमस्टे र लजको सम्भावना छ । दृश्यावलोकन गर्न विशंखुनारायणस्थित कोटडाँडा, चापाखर्क, फूलचोकीको मध्यविन्दु लामाचौरमा भ्यु टावर निर्माण र गोदावरी बसपार्कमा आकर्षक प्रवेशद्वार निर्माण गर्न सकिन्छ । जहाँबाट हिमशृंखला, काठमाडौं उपत्यका, लेले उपत्यका, काभ्रे, पनौतीलगायत क्षेत्रको दृश्यावलोकन पनि गर्न सकिन्छ ।


साइक्लिङ गर्न कोटडाँडा– लाकुरे भन्ज्याङ– चापाखर्क– काभ्रेको साबिक खानी गाविस–फूलचोकी सडक, ग्वालिन्दह–कोडु भन्ज्याङ– फूलचोकी र कोटडाँडा–चापाखर्क मार्ग पनि छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन भन्छन्, ‘गोदावरी नौधारादेखि फूलचोकी डाँडासम्म सिँढी निर्माण गर्न एक करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसले फूलचोकीमा बाटो बिराएर हराउनेको संख्यामा कमी आउनेछ ।’ उनले मार्बल खानी डाँडामा भ्यु टावर निर्माण गर्न ५० लाख छुट्याएको बताए । ‘भ्यु टावर निर्माण गर्न टेन्डरको प्रक्रियामा छौं,’ उनले भने, ‘वनस्पति उद्यान–चापाखर्कस्थित पाराग्लाइडिङ स्थल सडक र चापाखर्क–मानेदोभान सडक सुघार गर्ने योजना छ ।’


नगरपालिकाका अनुसार कोटडाँडा– लाँकुरे भन्ज्याङ ३ किमि सडक विस्तार गर्न डेढ करोड, वनस्पति उद्यान–चापाखर्क पाराग्लाइडिङ साढे ४ किमि र विशंखुनारायण मन्दिर–कोटडाँडा–महालक्ष्मी नगरपालिका लाँकुरे भन्ज्याङ सडक विस्तार गर्न ४ करोड र पाराग्लाइडिङ–मानेदोभान ६ किमिका साढे २ करोड, भ्यु टावर निर्माण गर्न ३ करोड रुपैयाँ आवश्यक पर्छ ।


अन्य भौतिक संरचना निर्माण गर्न ६ करोड आवश्यक रहेको नगरपालिकाले बताएको छ । मेयर महर्जनले पर्यटन विकास गर्न नगरपालिकाको बजेटले मात्र सम्भव नरहेकाले प्रदेश र केन्द्र सरकारसँग पनि माग गरेको बताए । ‘गोदावरी कुण्ड, नौधारालगायत मठमन्दिरको जीर्णोद्धार गर्न बजेट छुट्याएका छौं,’ उनले भने । गोदावरी नगरपालिकाअन्तर्गतको झरुवारासीस्थित सन्तानेश्वर डाँडा अर्को पर्यटकीय उत्कृष्ट गन्तव्य स्थल हो । जहाँ मनोरेल बनाउन पुरात्तत्व विभाग, वन, पर्यटन मन्त्रालय र रेल विभागबाट स्वीकृत भइसकेको छ ।


सन्तानेश्वर महादेव कैलाश पर्वत संरक्षण तथा संवर्धन सेवा संघ अध्यक्ष इन्जिनियर विनोद खड्काले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन साताभित्र तयार हुने बताए । ‘सम्पूर्ण प्रक्रिया पुर्‍याई मन्त्रालयमा पेस गरिसकेका छौं,’ उनले भने । पाइलट प्रोजेक्टका रूपमा रहेको रेल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्ने अध्यक्ष खड्काको भनाइ छ ।


संघले सन्तानेश्वरबाट विशंखुनारायण मन्दिर–गोदावरी कुण्ड– नौधारा, लेले तिलेश्वरधाम– वज्रबाराही चापागाउँ–ठेचो ढल्केश्वर– सुनाकोठी भृगांरेश्वर– धापाखेल नागदह हुँदै पुन: झरुवारासी ट्रेकिङ रुट बनाएको छ । पशुपतिमा आउने भक्तजनलाई दुई दिनको प्याकेज टुर बनाएर ल्याउने पनि योजना बनाएको छ ।


धापाखेलको नागदह सरकारको ‘हन्ड्रेड डिस्टिनेसन’ अन्तर्गत पर्छ । दह क्षेत्रको विकास गर्न सांसद कोषबाट यस वर्ष ५० लाख बजेट परेको छ । दक्षिण भेगमा भने एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् । जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा शयर, पाराग्लाइडिङ, गुफा ध्यान, घोडचढीलगायत छन् । यस क्षेत्रमा कृषि, खेल, धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । सांसद चेतनाथ सञ्जेल भन्छन्, ‘प्रायले ललितपुर भन्नेबित्तिकै जावलाखेल, पुल्चोक, कुपण्डोल सम्झन्छन् । तर, सहरी क्षेत्रसँग दाँजेर मिल्दैन । यहाँ दक्षिण भेगमा मोटरबाटो, बिजुली, पानी, टेलिफोन टावर नपुगेका थुप्रै गाउँ छन् । जहाँको विकास पर्यटन र कृषिबाट हुने बढी सम्भावना छ ।’


उनले दक्षिणमा पर्यटन प्रवद्र्धन गर्न ५० करोड रुपैयाँ आवश्यक पर्ने बताए । ‘यस वर्ष प्रदेश सरकारबाट ३ करोड बजेट छुट्याएको छ,’ उनले भने, ‘कालेश्वरमा होटल, कोसेली घर बनाउने तयारीमा छांै ।’ उनले दलचोकीमा भ्यु टावर बनाउन तयारी भइसकेको बताए । गोटीखेलको त्रिवेणी वैतर्णीधाम धरानको बराह, गुल्मीको रिडी र मुस्तानको मुक्तिनाथ जस्तो पुरातात्त्विक महत्त्वको तीर्थस्थल हो । यहाँ घडघडा नदी पनि बग्छ । वैतर्णीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व डरेको खोर नामक टापु छ ।


यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानपुर र भारतबाट समेत अवलोकन गर्न सकिन्छ । यसको संरक्षण प्रवद्र्धन गर्न महांकाल गाउँपालिकाले गुरुयोजना बनाउन विज्ञ टोलीसहित सर्वे थालिसकेको जनाएको छ ।


महाकांल गाउँपालिका प्रमुख रामचन्द्र दाहालले महांकालको सेरोफेरोमा घुम्ती मार्ग बनाउने योजना रहेको बताए । ‘शिवालय मन्दिर र टापु वरिपरि विभिन्न अनुसन्धान केन्द्र र जडीबुटी खेती केन्द्र बनाउँछौं,’ उनले भने, ‘यसका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिसकेका छौं ।’ उनका अनुुसार कालेश्वरस्थित मृगबिसौना, काभ्रेसँगको सीमास्थल मानिने देउरालीस्थित थुम्काडाँडा, इकुडोलको रमितेडाँडा जिल्लाकै सबैभन्दा अग्लो भ्यु प्वाइन्ट हुन् । यहाँबाट उत्तरमा हिमशृंखला, पूर्वमा काभ्रे र रामेछापका विभिन्न स्थान, पश्चिम र दक्षिणमा मकवानपुर र सिन्धुलीदेखि तराईका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।


भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, र प्युटारको नाग गुफा उत्कृष्ट गन्तव्य स्थल हुन् । दक्षिण भेगमा अधिकांश जंगल क्षेत्र छ । केही क्षेत्रलाई समेटेर जंगल सफारीको प्याकेज बनाउन सकिन्छ । मूल मोटरबाटोको दायाँबायाँ मृग, खरायो, कालिज, हरिण, जरायो, मृग जस्ता वन्यजन्तु देख्न सकिने भएकाले जंगलमा यात्राको सम्भावना छ । भारदेउ–गुप्तेश्वर डाँडामा निस्केर टुटुवा हुँदै कालेश्वरको मृगबिसौना हँुदै बतासेडाँडासम्म एकदिने जंगल सफारी रुट विकास गर्न सकिन्छ ।


त्यस्तै चौघरेबाट जंगल सफारी गरेर मृगबिसौना पुगेका पर्यटकलाई देउरालीमा तामाङ समुदायको ढ्यांग्रो र झाँक्री नाच देखाउन सकिनेछ । महांकाल गाउँपालिका प्रमुख दाहालले चिया पर्यटनको पनि विकास गर्न गुरुयोजना बनाइरहेको बताए । ‘यसका लागि ५ लाख बजेट छुट्याएको छु,’ उनले भने, ‘जंगल सफारी गर्न पूर्वाधार बनाउन सकेमा सौराहा पुग्नुपर्ने बाध्यता कम हुनेछ ।’

प्रकाशित : माघ ५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?