१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएका छन् ।

‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन

उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देश गरेका हुन् ।

मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले मन्त्री महासेठलाई यस्ता विषयहरूमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार साँझ राष्ट्रिय योजना आयोगको बैठकमा यातायातमन्त्री महासेठ पनि पुगेका थिए ।

त्यहीं प्रधानमन्त्रीले टुटल र पठाओको विषयमा मन्त्रीसँग कुरा गरेका थिए । उनले बैठकमा सहभागी अन्य व्यक्तिहरूकै अगाडि बाहिर अनावश्यक ‘ह्याभोक’ सिर्जना हुने कुनै काम नगर्नुस् भने । कुनै मोटरसाइकलमा सवार व्यक्ति यात्रु हो कि परिवारको सदस्य हो कि त्यसको जाँच गर्ने के संयन्त्र छ ? भन्दै प्रधानमन्त्रीले यसलाई अहिले यथास्थितिमा राख्न निर्देश गरेको स्रोतले बताएको छ । यसअघि मदिराजन्य पदार्थको उत्पादन रोक्ने लगायतका विषयमा पनि कुनै निर्णय नभईकन बाहिर गलत खालको हल्ला चलेको प्रसंग उठाएका थिए ।

टुटल र पठाओलाई रोकेपछि यसको बारेमा बरु व्यवस्थित नीति बन्नुपर्ने, नियन्त्रण गर्न नहुने धारणा सामाजिक सञ्जालहरूमा आएको थियो । यसको सेवा लिइरहनेहरूले महँगो ट्याक्सी, सवारी जामका कारण झेल्नुपरिरहेको समस्यामा टुटल र पठाओ किफायती र सजिलो सेवा भन्दै व्यवस्थित बनाउन माग गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलमा यात्रु ओसार्ने टुटल र पठाओलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । रातो प्लेटका सवारीसाधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने मन्त्रालयको तर्क थियो ।

‘सरकारलाई थाहा नदिई अवैधानिक रूपमा सञ्चालन गर्न पाइँदैन,’ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘प्रक्रिया पुर्‍याएर मात्र चलाउनुपर्छ ।’ कुनै काम गर्नुअघि विधि र प्रक्रिया पुर्‍याउनुपर्ने भन्दै उनले यातायात व्यवस्था विभागमा कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने बताए । ‘यात्रुले सेवा पाएको भन्दैमा गैरकानुनी रूपमा सञ्चालन गर्न पाइँदैन,’ उनले भने, ‘पूर्ण रूपमा बन्द गर भनेर यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘विदेशीको नक्कल गरेर अवैधानिक रूपमा चलाउन पाइँदैन ।’

ती कम्पनीले हालसम्म सरकारलाई झुक्याएर चलाएकाले प्रश्न उठेको बताए । सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले सोमबारबाटै रोक लगाइसकेको छ । टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन् ।

मोटरसाइकलबाट यात्रु ओसार्न मिल्ने व्यवस्था कानुनमै नभएको ती अधिकारीले बताए । ‘यात्रु ओसार्न मिल्दैन, त्यसका लागि कानुन चाहिन्छ । अवैधानिक बाटो समात्न पाइँदैन,’ उनले भने, ‘विधि र प्रक्रिया पुर्‍याउनुपर्छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले टुटल र पठाओले सेवा राम्रो दिए पनि कानुनी रूपमा अवैधानिक भएको बताए ।



व्यवस्थित गर्न सेवाग्राहीको माग

काठमाडौं (कास)– पहिलोपल्ट एक महिनाअघि साथीभाइबाट सुनेपछि पुल्चोक बस्ने सिजन यादवले ‘टुटल एप’ डाउनलोड गरे । यस अवधिमा उनले ४ पल्ट यो एप प्रयोग उपत्यकाभित्र गरेर स:शुल्क मोटरसाइकल यात्रा गरे ।

‘मेरो व्यक्तिगत अनुभव भन्नुपर्दा निकै राम्रो रह्यो । अनुभवी चालक, राम्रो मोटरसाइकल, समयमा आउने र समयमै पुर्‍याउने गर्छ ।’ उनले कोटेश्वर, सोल्टी मोड, कलंकीलगायतका स्थानबाट पुल्चोक आउन टुटलको प्रयोग गरेका थिए ।

अर्को यस्तै एप ‘पठाओ’ बाट यात्रा गरेको अनुभव सुनाउँछन् नक्साल कार्यालय भएका सतिश सहनी । पहिलोपल्ट उनले पनि डेढ महिनाअघि यो एप प्रयोग गर्दै यात्रा गरे । ‘अफिसबाट ६ बजे बिदा पाइन्छ । ७ बजे जसरी पनि कलंकीमा गाडी चढ्नुपर्ने थियो,’ सहनीले भने, ‘सार्वजनिक यातायातमा गएको भए समयमा पुर्‍याउँदैनथ्यो । मैले उक्त एपमार्फत बाइक चालक बोलाउँदा मिनेटभित्रमा नक्साल पुगे र आधा घण्टामा कलंकी ल्याइपुर्‍याए ।’ उनले मोटरसाइकलको अवस्था, चालकको व्यवहार सबैमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए । यो एपको अर्को सकारात्मक पक्षबारे उनले भने, ‘हाम्रो यात्रा कस्तो रह्यो भनेर फिडब्याक पनि लिने रहेछन् । त्यसले सेवा झन् गुणस्तरीय बनाउँछ ।’

यादव र सहनी मात्र होइनन्, यस्ता एप प्रयोगबाट सुविधा लिइरहेका जमातबाट यस्ता सेवाबारे सकारात्मक प्रतिक्रिया पाइन्छ । यादव यसको प्रयोग दोहोर्‍याउनुको कारणबारे थप्छन्, ‘यो टयाक्सीको तुलनामा निकै सस्तो पर्छ । टयाक्सी जस्तो बार्नेनिङ गरिरहनुपर्ने झन्झट हुन्न । कति दूरी हो र कति भाडा पर्छ भन्ने पनि एपबाटै सुरुमै थाहा हुन्छ, ठगिने कुरा हुन्न ।’

कोसँग जाँदै छु उसको मोटरसाइकल नम्बर, फोन सम्पर्क सबै एपबाटै थाहा हुन्छ । कुनै किसिमको डर नहुने, भरपर्दो यातायातको साधन भएको उनी बताउँछन् । जामको समस्याबाट मुक्ति पाइने उनको भनाइ छ । छोटो र कम जाम हुने रुट हुँदै गन्तव्यमा पुग्न सकिने उनले बताए ।

हाल ट्राफिक प्रहरीले यस्ता भाडाका मोटरसाइकल चालकमाथि कारबाही गर्न थालेपछि प्रयोगकर्ता निराश भएका छन् । ललितपुर बस्दै आएकी ज्योति थापा बोगटी पनि ट्राफिक प्रहरीले हाल त्यस्ता मोटरसाइकल र चालकमाथि गरिरहेको कारबाहीलाई सकारात्मक रूपमा लिएकी छैनन् । उनी भन्छिन्, ‘हामी रिङरोडबाहिर बस्छौं, पसल न्युरोडमा छ । बेलुका अबेर पसल बन्द गरेर आउँदा न त सार्वजनिक सवारी हुन्छ न त टयाक्सी ९ सयभन्दा कममा जान मान्छन् । यस्तोमा यो उपयुक्त सेवा हो ।’ मध्यमवर्गीय परिवारका लागि एक्लो जाँदा यो उपयुक्त साधन हुने उनी बताउँछिन् ।

प्रकाशित : माघ ३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?