१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

उभिँदै क्षतिग्रस्त सम्पदा

भक्तपुर — भूकम्पले क्षतिग्रस्त भक्तपुरका मुख्य/मुख्य सम्पदाहरूले पुनर्निर्माणको गति लिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा अन्य मुख्य सम्पदाहरू स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुर र भक्तपुर नगरपालिकाले मौलिक शैलीमा पुनर्निर्माणलाई गति दिएको हो । 

उभिँदै क्षतिग्रस्त सम्पदा

पुरातत्त्व विभाग भक्तपुर प्रमुख मोहनसिं लामाका अनुसार क्षतिग्रस्त २७ सम्पदा मौलिक शैलीमा ठडिइसकेका छन् । बहुवर्षीय योजनाअन्तर्गत १३ सम्पदा पुनर्निर्माणको चरणमा रहेको उनले बताए । चालू आर्थिक वर्ष ०७५/७६ मा साना/ठूला १७ सम्पदा पुनर्निर्माणका लागि डिजाइन स्टमेट तयार भई बजेटसमेत विनियोजन भएको र ठेक्का प्रक्रिया सुरु भएको विभागले जनाएको छ । जसअन्तर्गत पुरातत्त्व विभागले बहुवार्षिक योजनाअन्तर्गत क्षतिग्रस्त मुख्य सातवटा सम्पदा पुनर्निर्माणको जिम्मा लिएको थियो ।


जसमध्ये हालसम्म विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, सूर्यविनायक नगरपालिकास्थित दक्षिण बाराही मन्दिर, दरबार स्क्वायर परिसरको मल्लकालीन सिद्धिलक्ष्मी (सिद्धिबत्सला) मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ । भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त शीलु महादेव (फसिदेवल) मन्दिर, दरबार स्क्वायर परिसरकै तव सत्तल, राष्ट्रियकला संग्रहालय (लाल बैठकबाहेक) सिंह ढोकाको पछाडिको भाग, सूर्यविनायक नगरपालिकास्थित अनन्तलिङ्गेश्वर मन्दिर पुनर्निर्माणको चरणमा रहेको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए ।


भक्तपुर नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त भक्तपुर दरबार प्रवेशद्वार, दरबार क्षेत्रको शेष (शंकर), त्रिविक्रम, हरिहर नारायण मन्दिर, दत्तात्रय स्थित लक्ष्मीनारायण मन्दिर, भीमसेन मन्दिर, इनाचोंस्थित नित्यनाथ मन्दिर, क्वाछेंस्थित नित्यनाथ मन्दिर, जेलांस्थित फल्चा (पाटी), ब्याँसीस्थित ४ वटा फल्चा, छुंमा गणेशस्थित ढुङ्गे मन्दिरलगायतको पुनर्निर्माण सम्पन्न गरेको सम्पदा शाखाले जनाएको छ ।


नगरपालिकाले पुनर्निर्माण थालेको भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त केदारनाथ मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको सम्पदा शाखा प्रमुख श्रेष्ठले बताए । दरबार परिसरकै बत्सला मन्दिर ४५ प्रतिशत पुनर्निर्माण भएको र नासमनामा अवस्थित बत्सला मन्दिर, सरस्वती स्थानको लामुगाल पाटी, चोकल स्थित नारायण मन्दिर, सूर्यमढीमा अवस्थित ३ वटा फल्चा, तलातुथी, भूलाछें पाटीलगायतको पुनर्निर्माण भइरहेको उनले बताए ।


त्यस्तै, नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त भैरवनाथ मन्दिर जीर्णोद्धार थालेको छ । भक्तपुर नगरपालिका ५ तौमढीमा अवस्थित भक्तपुरको मुख्य देवता भैरवनाथ मन्दिरको उपभोक्ता समितिमार्फत जीर्णोद्धार थालेको जनाएको छ । भूकम्पको धक्काले तीनतले मन्दिरको माथिल्लो फूंचा (गाह्रो) भत्किएको छ भने, मन्दिरको टुँडाल, खम्बाहरू निस्किएका छन् । नगरपालिकाले अमानत तथा उपभोक्ता समितिमार्फत सम्पदाको पुनर्निर्माण गरिरहेको छ ।


सम्पदा पुनर्निर्माणको काम क्रमिक रूपमा भइरहे पनि निर्माण सामग्री, जनशक्तिको अभावले सोचेअनुरूप पुनर्निर्माणमा ढिलाइ भएको विभागले जनाएको छ । काठ, ढुङ्गा, कलात्मक इँटा अभावसँगै स्मारक तथा सम्पदा संरक्षणका लागि आवश्यक मौलिक निर्माण सामग्रीहरू पर्याप्त रूपमा उपलब्ध हुन नसकेको श्रेष्ठ बताउँछन् ।


‘नेपालमा मौलिक सामग्रीहरू उत्पादन गर्ने उद्योगकै कमी छ,’ उनले भने, ‘सरकारी तवरबाटै मौलिक सामग्री काठ, चुना, सुर्की, इँटा लगायतको सामग्री उपलब्ध हुनुपर्छ ।’ सम्पदा पुनर्निर्माणका लागि दक्ष कामदारको समेत अभाव भएको विभागले जनाएको छ । काठ लगायत निर्माण सामग्रीको अभावले बजेट सिलिङ र योजनाअनुसार सम्पन्न गर्न समस्या परेको जनाएको छ ।


विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मूल मन्दिर पुनर्निर्माण विभागले गरेको छ भने, मन्दिर पसिरको किलेश्वर महादेव मन्दिर, सत्तललगायतका सम्पदा भने जर्मन, अस्ट्रेलियन र अमेरिकन सरकारको सहयोगमा हेरिटेज एन्ड इन्भाइरोमेन्ट कन्जरभेसन फाउन्डेसन नेपालले पुनर्निर्माण थालेको छ । फाउन्डेसनले किलेश्वर महादेवको मन्दिर पुनर्निर्माण गरिसकेको छ ।


त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाले मध्यपुरथिमिको इष्ट (मुख्य) देवता बालकुमारी मन्दिरको जीणोद्धार थालेको छ । भूकम्पको धक्काले तीनतले मन्दिरको तीनवटै छानो जीर्ण बनेको छ भने, मन्दिरको टँुडाल, खम्बाहरू निस्किएका छन् ।


‘मन्दिरका छाना, गजुरहरूलाई साविक स्थानमा राख्न जीर्णोद्धारको आवश्यक छ,’ मन्दिर जीर्णोद्धार उपभोक्ता समिति अध्यक्ष भरत श्रेष्ठले भने, ‘भंगी (गजुर रहने भाग), नागोल, तामाको पाता, कुमुसी (दलिन), टुंडाल, झलरलगायत निकालेर जीर्णोद्धार गर्ने लक्ष्य छ ।’

प्रकाशित : माघ २, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?