३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नौ ग्रहदशा पन्छाउन अग्निशाला

प्रशान्त माली

ललितपुर — कीर्तिपुरकी ५५ वर्षीया रामदेवी महर्जन माघे संक्रान्तिका दिन मंगलबार पाटनस्थित अग्निशाला (यज्ञशाला) मा पुगिन्, परिवारको नौ ग्रहदशा पन्छाउन । भन्छिन्, ‘आमाले सानैदेखि हात समाएर यहाँ पूजा गर्न ल्याउनुहुन्थ्यो । त्यसलाई निरन्तरता दिएका हौं ।’

नौ ग्रहदशा पन्छाउन अग्निशाला

अग्निशालाभित्रका ब्रह्मकुण्ड, विष्णुकुण्ड, रुद्रकुण्ड, सूर्यकुण्ड र सभ्यकुण्डमा पूजा विशेष होम गरेमा दीर्घायु हुने विश्वास छ ।

यो पर्व घ्यू, चाकु, तरुल, तिलको लड्डु आदि खाएर मानिन्छ ।


कीर्तिपुर नगरपालिका–१० लो देगल टोलकी ५० वर्षीया ज्ञाननानी महर्जनले पनि संक्रान्तिमा अग्निशालामा पूजा गर्न कहिलै टुटाउँदैनन् । मंगलबार आफन्तको नाममा यज्ञ गराउन आउने क्रममा भेट भएका उनी भन्छिन्, ‘यहाँ

यज्ञ गर्नाले शान्तिस्वस्ति मिल्ने विश्वास छ ।’


भक्तपुर दत्तात्रयका ७७ वर्षीय हरिलाल छुस्याबाग र रत्नमाया श्रीमान् श्रीमती हुन् । उनीहरू भने अग्निशालास्थित त्रिवेणीमा स्नान गर्न पुगेका हुन् । हरिलाल भन्छन्, ‘संक्रान्तिमा सूर्य उत्तरायणमा प्रवेश गर्छ । यस दिन त्रिवेणीमा स्नान तथा दान गर्दा अक्षय फल प्राप्त हुने धार्मिक मान्यता छ ।’ उनका अनुसार परापूर्वकालमा शंखमूलस्थित बाग्मती, नख्खुस्थित प्रभावति र पाटनस्थित विष्णुकुण्ड गरी तीन नदीको संगमस्थल अग्निशालाको त्रिवेणीमा हो । ‘देवघाट, बराहक्षेत्र, झापाको कन्काईलगायत सबै त्रिवेणी संगममा स्नान गर्न पुग्न नसकेकाहरू अग्निशालामा आउने गर्छन्,’ उनले भने ।


अग्निशालामा संक्रान्तिको अवसरमा काठमाडौं, भक्तपुर, कीर्तिपुरलगायत जिल्लाबाट आएका भक्तजनको घुइँचो लागेको थियो । यस दिन नेवार परिवारमा घ्यू, चाकु, तरुल, तिलका साथै सम्येबजी (चिउरा), छ्यला (पोलेको मासु), साँधेको कालो भटमास, अदुवा र सिद्रा माछासमेत खाने गने प्रचलन छ । गाउँघरमा भने घ्यू, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामलबराबर मिसाई घ्यू हाली पकाइएको खिचडी खाने चलन छ । विशेष गरी घ्यू र चाकु खाने भएकाले नेपालभाषामा ‘घ्य चाकु संल्हु’ भनिने संक्रान्तिमा पालुगको तरकारी पनि खाने चलन छ ।


संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘भविष्य पुराणको विष्णु वचनमा माघे संक्रान्तिमा स्नान गरेर घ्यू, चाकु, तिलको लड्डु, सागपात, पानीको भाँडो र मकलसहित सिदा दान गरेर आफूले पनि खाने गरेमा वर्षभरि शरीर पोसिलो भइरहन्छ भन्ने उल्लेख छ ।’ यसै दिन भक्तपुरमा नवदुर्गा गणको नाच त्यहाँको सुजमारी टोलबाट सुरु गरिने साथै यहाँ पाँच प्रमुख विहारका दीपंकरको जात्रा गरी सम्यक दान, पञ्चदान आदि गर्ने पनि परम्परा छ ।


साथै, यहाँ तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा गर्ने गरिन्छ । यसै दिनदेखि सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । अग्निशाला व्यवस्थापन समिति अध्यक्ष निगेन्द्रराज शर्माले पर्वमा मानिस जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन रहेको बताए ।

प्रकाशित : माघ २, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?