२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पाँचतले मन्दिर क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध

भक्तपुर — विश्वसम्पदामा सूचीकृत पाँचतले मन्दिर (ङातापोल) परिसरमा चार पाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।

भक्तपुर नगरपालिकाले भक्तपुर ५ स्थित पाँचतले मन्दिर क्षेत्र सुरक्षाको दृष्टिले संवेदनशील भएकाले स्थानीय, बुद्धिजीवी र सरोकारवालाको सुझावअनुसार मंगलबारबाट चारपाङ्ग्रे सवारीसाधन निषेध गरेको नगरप्रमुख सुनील प्रजापतीले बताए ।


पाँचतले क्षेत्रको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्र्रम्ह महाविहारको पूर्वीबाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोका चलाखु क्षेत्रमा बिहान ७ देखि बेलुका ७ बजेसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको जनाएको छ ।


अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका साधनबाहेक अन्य साधनलाई भने नगरपालिकाको स्वीकृति लिएर चलाउने व्यवस्था मिलाएको नगरप्रमुख प्रजापतीले बताए । प्रजापतीले सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक सुरुवात गरेका थिए । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा ग:हिटी जाने बाटोमा सिक्री लगाइएको छ ।


यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङग्रे सवारीसाधन निषेध गरेका छ ।

प्रकाशित : माघ २, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?