कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीछेउ चिटिक्क पार्क

शिल्पा कर्ण

काठमाडौँ — बिहान साढे ६ बजे । वारि काठमाडौं र पारि ललितपुर । खोला किनारमा कोही कराँते सिक्दै छन् भने केही विद्यार्थीलाई पढ्न जाने हतारो छ । पहिले पेटीबाटै हिँड्थे । अहिले हिँड्ने बाटो बेग्लै बनेको छ । 

वाग्मती नदीको शंखमूलस्थित किनारमा बनेको शंखमूल पार्क । उक्त पार्कमा मर्निङ वाक, योग, व्यायामदेखि घाम ताप्नेको उल्लेख्य उपस्थिति हुने गरेको छ । तस्बिर: हेमन्त श्रेष्ठ/कान्तिपुर

शंखमूल पार्क ललितपुरमा मान्छे कमै देखिन्छ । फुर्सदिला भने कोही देखिँदैनन् । कोही स्याँस्याँ गर्दै कुद्दै थिए । कोही हिँड्दै ।

यही समयमा, शंखमूल पार्कमा एक रूखमुनि सामान्य कसरत सकेर ध्यान गर्ने तयारीमा थिए, ७५ वर्षीय चन्द्रमोहन अवाले । पाटन च्यासलका उनले वाग्मतीलाई बाल्यकालदेखि नै चिनेका छन् ।


‘यहाँको पानी खान पनि मिल्थ्यो । हामी यहीँ नुहाउँथ्यौँ,’ उनले सम्झे । समय क्रमसँगै वाग्मती फोहोर भयो । गन्हाउने पनि उत्तिकै । आफ्नै जीवनकालमा वाग्मतीको कञ्चन पानी धमिलिँदै गएको उनले देखेका छन् । पानी बग्ने वाग्मतीमा ढल बग्न थाल्यो । तर वाग्मती सरसफाइ अभियानले विस्तारै नदी सफा बनाउँदै लगेकाले अब नदी पहिलेझैं सफा हुने आशा छ उनमा ।


पछिल्लो २ वर्षदेखि उनी यहाँ निरन्तर आइरहेका छन् । दिनको सुरुवात स्वच्छ वातावरणमा योग र ध्यानका साथ हुन्छ । ‘यहाँ मर्निङ वाक गर्न ठिक्कको बाटो छ । रोकिन, बस्न चाहे पनि ठाउँ छ,’ उनले शंखमूल पार्कको विशेषता बताए । अवालेका अनुसार २०५०/५१ सालसम्म यहाँबाट बालुवा झिक्ने गरिन्थ्यो ।


ट्याक्टर रोकिए पनि बालुवा निकालेर साइकलमा बेच्ने गरिन्थ्यो । त्यो क्रम रोकिएसँगै वाग्मतीको उचाइ विस्तारै बढेको उनको निष्कर्ष छ ।


गैरआवासीय नेपाली संघले बनाइदिएको यो पार्कको लागत लगभग साढे २ करोड छ । अवाले यसरी पार्क निर्माणले नदी किनारबाट सुरु भएको मानव सभ्यतालाई नदीसँगै जोडिराख्ने बताउँछन् । तर ठूलो बाढी आउँदा पार्क ढाक्ला कि भन्ने डर पनि छ उनलाई । ‘अहिले पार्क बनाएको ठाउँ पहिले खोला बग्थ्यो । यही असारमा ठूलो पानी आउँदा माथि बारसम्मै पानी पुगेको थियो,’ उनले भने ।

सोही समयमा मर्निङ वाक सकाएर घर फिर्ने तयारीमा भेटिए शंखमूलका सुरेन्द्र ताम्राकार ।



पछिल्लो ५ महिनादेखि उनी यहाँ दिनहुँ बिहान पुग्छन् । ‘यहाँ आउन छाडेको धेरै भइसकेको थियो । पशुपति जान्थेँ वा अरू ठाउँ जान्थेँ, यहाँ आउन्नथेँ,’ उनले भने । तर यो स्थान सफा र व्यायाम तथा हिँड्डुल गर्न उपयुक्त भएकाले उनले टाढा जान छाडेका हुन् । ‘हुन त यहाँभन्दा बढी मान्छे यूएन पार्कमा हुन्छन् । तर यो पनि राम्रो भइसक्यो अहिले । फागुन, चैततिर भने वाग्मती गन्हाउँछ । अहिले त्यस्तो हुँदैन,’ ताम्राकारले भने ।


सोही बाटो हिँड्दै थिइन् रमिता प्रजा । भाषा कक्षाका लागि बानेश्वर पुग्ने उनी प्राय: पुल कटेर शंखमूल हुँदै जाने बताउँछिन् । पहिले वाग्मती गन्हाउने भए पनि अहिले सफा बनेको र पार्क बनेपछि नदीछेउ हिँड्दा पनि आनन्द आउने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘यहाँ नदीछेउबाट हिँड्ने खालको ठाउँ नै थिएन । हामी स्कुल पढ्दा ४ वर्षअघिसम्म त यो बाटो आउनै नपरोस् जस्तो लाग्थ्यो । अहिले डर पनि लाग्दैन, राम्रो भएको छ ।’


पारिपट्टि अर्को सुन्दर पार्क पनि छ । अर्थात काठमाडौंमा पर्ने शंखमूल योगा पार्क । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीछेउलाई सुन्दर बनाई पार्कका रूपमा विकास गर्ने भनेपछि यो क्षेत्रको पार्क र त्यसको सरसफाइको जिम्मा ‘द आर्ट अफ लिभिङ नेपाल’ ले लिएको छ । ‘हामीले यो पार्क बनाउन झन्डै १ करोड २० लाख रुपैयाँ खर्च गर्‍यौं । अहिले तीनजना कामदार यसको सफाइ र बोटबिरुवाको स्याहारका लागि खटिएका छन्,’ उक्त संस्थाका योगध्यान प्रशिक्षक तथा इन्जिनियर उत्तम सुवेदीले भने, ‘२०७३ सालमा सुरु गरेर एक वर्षभित्र पूरा गरेका हौं ।


जाडो भएकाले बढी मान्छे आउँदैनन् । साँझमा ढोका खोलिदिन्छौं ।’ सात रोपनीमा फैलिएको उक्त पार्कनजिकका क्षेत्रमा पनि उक्त संस्थाले नै वृक्षरोपण गरेको हो । रुद्राक्ष, धूपी, कपुरदेखि आँप, अम्बाजस्ता फलफूलका बोट पनि नदीछेउ रोपिएको छ । ‘पिच बने पनि यो बाटो हिँड्न डरलाग्ने खालको थियो । सरसफाइ गरी पार्क बनाइएपछि व्यवस्थित भएको छ,’ शंखमूल बस्ने वसन्त भण्डारीले भने । अहिले वाग्मती सरसफाइ अभियन्ता तथा सरकारले गर्ने कार्यक्रम पनि यहीँ हुने गरेका छन् ।


अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पार्क बनाउन, हरियाली बढाउन तथा सार्वजनिक प्रयोगका लागि वाग्मतीछेउको जग्गा संस्थालाई उपलब्ध गराउने गरेको छ । प्राप्त भएको जग्गामा तीन वर्षभित्र पार्क बनाइसक्नुपर्ने हुन्छ ।


समितिअन्तर्गतको वाग्मती सुधार आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले यस्ता पार्क निर्माणका लागि ४० वटा संघसंस्थासँग सम्झौता भइसकेको जानकारी दिए । उनका अनुसार सम्झौता भएकामध्ये १६ संस्थाले पार्क निर्माण गरिसकेका छन् भने ११ निर्माण हुने क्रममा छन् । ‘थप २५ संस्था पार्क निर्माण गर्न इच्छुक देखिएका छन् । उनीहरूसँग सम्झौता भइसकेको छैन,’ चित्रकारले भने, ‘विष्णुमती, धोबी खोलाजस्ता नदीछेउमा पनि पार्क बन्दै छन् ।’ प्रकाशित : पुस २८, २०७५ ०७:५८

प्रतिक्रिया
पठाउनुहोस्

जर्मन नागरिक कोबोल्डको शृंखलाबद्ध ठगी

अमेरिकाबाट सेकेन्ड हयान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटीलाई बोलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारप्रसार गराउने र नेपालको पर्यटन प्रचार गर्ने भन्दै जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृंखलाबद्ध ठगीधन्दा चलाएको पाइएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झूटा कागजपत्रको सहारामा ठगी गरेका छन् । 
छिरिङ डोल्कर गुरुङ, प्रणय शमशेर राणा

काठमाडौँ — जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृंखलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । काठमाडौंका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी कार्यालयसमेतलाई झुक्याएको देखिन्छ ।


कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झूटा कागजपत्रको सहारामा ठगीधन्दा चलाएको भेटिएको छ ।

उनको ठगीधन्दा सुरु हुन्छ नेपाल फायर ट्रक एक्सपिडिसनबाट । एक्सपिडिसनअन्तर्गत अमेरिकाबाट सेकेन्ड हयान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटीलाई बोलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचारप्रसार गराउने र नेपालको पर्यटन प्रचार गर्ने उनको दाबी थियो । प्रख्यात हलिउड कलाकारहरू जोनी डिप, लेडी गागा, रिहानालगायतलाई ल्याएर नेपालको पर्यटन प्रवद्र्धन गर्ने भन्दै उनले नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए ।

उनले यस्तो कार्यक्रमको समाचार अमेरिकी टेलिभिजन नेटवर्क पीबीसी र न्युयोर्क टाइम्समा आउने दाबी गरेका थिए । यही दाबीपछि उनको सोरवे इन्स्टिच्युट फर डेभलपमेन्ट नामक संस्था र बोर्डबीच २०१७ जनवरीमा सम्झौता भएको थियो । त्यसमा बोर्डले नेपाल फायर ट्रक एक्सपिडिसनलाई तत्काल एक करोड रुपैयाँ दिने र कार्यक्रम सम्पन्न भएपछि थप रकम उपलब्ध गराउने भनिएको थियो । जानकारहरूका अनुसार काठमाडौंस्थित पूर्वअमेरिकी राजदूत र अमेरिकास्थित नेपाली दूतावासको पहुँच दुरुपयोग गर्दै उनले पर्यटन बोर्डलाई सम्झौता गर्न सहमत गराएका हुन् ।

उनले काठमाडौंको कूटनीतिक नियोग र उच्च घरानियाँसँग सम्बन्धको फाइदा उठाउँदै स्याङजाको वालिङ नगरपालिकासँग पनि सम्पर्क बढाए । दमकल दिने र पर्यटन प्रवद्र्धन गर्ने दाबीसहित उनले नगरपालिकाबाट २० लाख रुपैयाँ लिए । यस्तै वाचा गरेर विराटनगर महानगरपालिकाबाट ५ लाख रुपैयाँ उम्काउन सफल भएको देखिन्छ । वालिङका मेयर दिलीपकुमार खाँणले सम्झौतापछि कोबोल्डले रकम लिएको स्विकारेका छन् ।

पर्यटन बोर्डसँग सम्झौता गर्ने उनको संस्था सोरवे इन्स्टिच्युट फर डेभलपमेन्टका गतिविधि इन्टरनेटमा खोजी गर्दा भेटिँदैन । आफूले सम्झौता गर्न लागेको संस्थाको वैधानिक हैसियतसमेत नखोजी बोर्डले एक करोड रुपैयाँ दिएको खुलेको छ । बोर्डलाई झुक्याउन कोबोल्डले नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलीसी र एलाइना बी टेप्लिजसँगको चिनजानलाई दुरुपयोग गरेको देखिन्छ ।

बोर्डसम्बद्ध स्रोतका अनुसार कूटनीतिज्ञसँग पहुँच भएकै कारण बोर्डले अध्ययनबिनै उनको प्रस्ताव स्विकारेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी कोबोल्ड उच्च तहको पहुँच लिएर आएको स्विकार्छन् । उनका अनुसार कोबोल्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको समेत सिफारिस ल्याएका थिए ।

राजदूत कार्कीले भने आफूले त्यस्तो कुनै सिफारिस नगरेको र ती व्यक्तिसँग चिनाजानीसमेत नभएको बताए । यस्तो दाबी गरे पनि उनको हस्ताक्षरमा लेखिएको सिफारिसपत्र अनुसन्धान क्रममा फेला परेको छ ।

कोबोल्डले अमेरिकी अभिनेता जोनी डेपलाई फायर ट्रक एक्सपिडिसनमा ल्याउने बताएका थिए । डेपको व्यवस्थापन हेरिरहेका एन्ड्रियु व्रिटलरले भने त्यस्तो कुनै कार्यक्रबारे जानकारी नभएको र अभिनेताको संग्लनता रहने विषयमा कुनै कुरा नभएको इमेल प्रतिक्रिया दिए ।

कोबोल्डले नेपालमा दमकल नरहेको भन्दै विश्वका विभिन्न देशका धनीलाई प्रभावमा पारी प्रतिव्यक्ति ३० हजार डलरसम्म उठाएको देखिन्छ । अनुसन्धान क्रममा सम्पर्कमा आएका विभिन्न स्रोतका अनुसार उनले नेपालमा दमकल ल्याउने नाममा दर्जनभन्दा बढी व्यक्तिसँग रकम उठाएका थिए ।

उनले दमकल ल्याउने कार्यक्रमको निर्धारित मिति दर्जनौंपटक सारेका थिए । सुरुमा सन् २०१५ को अन्तिमतिर कार्यक्रम हुने भनिएको थियो । सरकारी प्रक्रियाको ढिलासुस्ती, दमकलको कार्गो ढुवानीमा समस्या र स्पोन्सरसिपको कारण देखाउँदै उनले कार्यक्रम सारिरहे । झुट ढाकछोप गर्न अनेक बहाना बनाइरहे । नाकाबन्दीका कारण कार्यक्रम सरेको दाबी गर्दै नाकाबन्दी हटाउन लागिपरेको तर्कसमेत गरे ।

दुई महिनापहिले उनले फेसबुकमा फायर ट्रक एक्सपिडिसनकै कार्यक्रमस्वरूप बेल्जियम, इटली र बेलायतबाट १८ अग्निनियन्त्रक नेपाल आएको दाबी गरे । जबकि ती अग्निनियन्त्रक अलग्गै कार्यक्रमको सिलसिलामा काठमाडौं आएका थिए । बेलायती अग्निनियन्त्रक जोन अटिसनले कोबोल्डको योजनासँग आफ्नो संलग्नता नभएको प्रतिक्रिया दिए ।

कोबोल्डले फेसबुकमा गत डिसेम्बरमै नेपालका लागि हिँडेको दमकल डेनिस कार्गो कम्पनीमार्फत आइपुग्ने भन्दै पोस्ट गरेका थिए । डिसेम्बर कटिसक्दा पनि उनले भनेजस्तो दमकल आएको छैन । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक जोशीले मार्चसम्म पनि दमकल नआए सम्झौता खारेज गरिने बताए ।

कोबोल्डको पृष्ठभूमि पनि विवादास्पद देखिन्छ । सन् २००४ मा उनलाई पिटर्सबर्ग विमानस्थलका सुरक्षा अधिकारीले संवेदनशील क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै उनलाई पक्राउ गरेका थिए । अमेरिकाको फेडरल कोर्टले ५ हजार डलर जरिवाना गरी उनलाई तीन वर्षका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । कोबोल्डले नेपालको अध्यागमन कानुन र विभागको कमजोरीको फाइदा उठाउँदै भूकम्पपछिका वर्षमा फर्जी कागजातको सहारा लिएर भिसा लिई बसेका थिए ।

कोबोल्डले सन् २०१२ मा बबरमहल रिभिजिटेडमा कोठा भाडामा लिएर कोबोल्ड वाच कम्पनी खोलेका थिए । सगरमाथा आधार शिविरबाट ढुंगा ल्याएर त्यसबाट हिमालयन एडिसनका नाममा घडी बनाउने उनको कम्पनी आङ नाम्गेल शेर्पा र लाक्पा तेन्डुका नाममा दर्ता छ । कम्पनीको सञ्चालन र खर्च प्रणालीको सबै नियन्त्रण भने कोबोल्डले आफैं गर्ने गरेको देखिन्छ ।

ट्रेकिङका क्रममा भेटिएका आङ र लाक्पाका नाममा कम्पनी खोलेर काममा लगाए पनि कोबोल्डले उनीहरूलाई केही दिएनन् । तीन वर्षभित्रै उनीहरूबीच बारम्बार कम्पनी सञ्चालनको झगडा पर्‍यो । कम्पनीका नाममा सबै आर्थिक व्यवस्थापन आफैं लिए । कम्पनीकै नामको क्रेडिट कार्डबाट कोबोल्डले जथाभावी खर्च गर्न थालेपछि आङ र लाक्पा हट्न खोजेका थिए ।

नाम्गेलले भने, ‘कोबोल्डले हामीलाई उपयोग गरे, हाम्रो नाम उपयोग गरे, एक पैसा दिएनन् ।’ लामो विवादपछि कम्पनी रजनी नकर्मीका नाममा नामसारी गरी आङ र लाक्पा हिमाल आरोहणको पुरानै पेसामा फर्किए । लाक्पाको २०१६ मा अमादब्लम हिमाल आरोहण क्रममा मृत्यु भइसकेको छ ।

कोबोल्डले यही कम्पनीमा काम गर्न ल्याएका तीन किशोरीको श्रमशोषण गरेको आरोप छ । माइती नेपालमा आवास लिइरहेका सुमित्रा दनुवार, अनिता चापागाईं र सुस्मिता राईलाई उनले २०१७ मा घडी कम्पनीका काम दिने भन्दै ल्याएका थिए । पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीमार्फत उनले माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँग चिनजान गरेका थिए ।

माइती नेपालका निर्देशक विश्व खडकाका अनुसार एक दिन पूर्वअमेरिकी राजदूत टेप्लिजले अनुराधालाई कोबोल्डको कम्पनीमा किशोरी पठाइदिन अनुरोध गरेकी थिइन् । यही विश्वासमा टेकेर माइती नेपालले रोजगारी हुने र सीप पनि सिक्न पाउने भन्दै उनीहरूलाई पठाएको थियो ।

मासिक ६ देखि १० हजार रुपैयाँ तलब पाइने आसमा कोबोल्डको घडी कम्पनीमा काम गर्न गएका किशोरीले डेढ वर्षसम्म तलब पाएनन् । अन्य कर्मचारीको दबाबपछि उनीहरूलाई कहिले आधा महिना त कहिले केही दिनको तलब दिइयो । कोबोल्डले आफ्नो कम्पनीको वेबसाइटमा मानव बेचबिखनबाट उद्धार गरिएकालाई सामाजिकीकरण गर्ने र मानव बेचबिखन रोक्ने उद्देश्य कम्पनीले राखेको उल्लेख गरेका थिए ।

मानव बेचबिखनमा परेर उद्धार गरिएका दर्जनौं युवतीलाई सीप सिकाउने र रोजगारी दिई आत्मनिर्भर बनाउने काम गरेको दाबीसमेत गरिएको थियो । कम्पनीमा काम गरेकी दनुवारले भने तलब र सम्मान नपाएको बताइन् । माइती नेपालले किशोरीलाई काम छोड्न आग्रह गरेपछि कोबोल्डले छिट्टै तलब दिने आश्वासन दिएका थिए । काम छोडछु भन्दा कोबोल्डले तलब दिन्छु भन्दै महिनौंसम्म झुलाएको चापागाईंले बताइन् ।

कोबोल्डको कम्पनीमा २०१७ को मेदेखि डिसेम्बरसम्म ग्राहक सेवा निर्देशकका रूपमा काम गरेकी हाना गेस्वस्कीले पनि कामदारलाई तलब नदिने समस्या रहेको बताइन् । उनले भनिन्, ‘कामदारलाई तलब दिलाउन हामीले केही पटक प्रयास गर्‍यौं तर सकेनौं ।’ महिनौंसम्म बिनातलब काम गरेका दिन सम्झिँदै चापागाईंले भनिन्, ‘अभावका ती दिनमा म कत्ति रोएँ । परिवारका सदस्यलाई पनि भन्न सकिनँ ।’

किशोरीले तलब नपाएको र धम्की सहनुपरेका विषयमा माइती नेपालमा एक दिन बैठक बसेको थियो । बैठकको कुरा सुनाउँदै माइती नेपालका निर्देशक खडकाले भने, ‘कोबोल्डले आफूमाथिका सबै आरोप अस्वीकार गरे र बुझाइमा समस्या रहेको बताए ।’ उक्त बैठकपछि किशोरीहरू कोबोल्डको कम्पनीमा काम गर्न गएनन् ।

कोबोल्डको ठगीधन्दा यतिमै सकिँदैन । उनले घडी कम्पनी रहेको बबरमहल रिभिजिटेडको भाडासमेत नतिरी महिनौंसम्म झुलाइरहे । तीन किशोरी र दुई शेर्पाको श्रमबापतको रकम नदिएका कोबोल्डले गत वर्ष मार्चमा अभिनेत्री मनिषा कोइराला र हलिउड अभिनेता म्यालकोम म्याकडवलसहित जोमसोमको जानेडु होटलमा बसेबापतको रकमसमेत तिरेनन् । उक्त होटलमा दुई दिन बसेर बिल नतिरी हिँडेका कोबोल्ड फेरि फर्केर गएनन्, होटल सञ्चालकको ताकेता पनि मानेनन् । होटलका कर्मचारी शिशिर उप्रेतीले कोबोल्ड बिल नतिरी हिँडेको र फर्केर नआएको बताए ।

कोबोल्डले नेपालको कमजोर अध्यागमन कानुनको पनि फाइदा उठाएका छन् । जर्मनीको कानुनले दिएको सुविधा उपयोग गर्दै दुईवटा पासपोर्ट लिएका कोबोल्ड यी दुवै पासपोर्टमा पटक–पटक भिसा लगाउँदै नेपाल बसेको देखिन्छ । विदेशीका हकमा एकपटक वा पटक–पटक गरेर एक वर्षमा एक सय पचास दिन मात्रै नेपालमा पर्यटकको हैसियतमा बस्ने भिसा सुविधा छ ।

एक सय पचास दिनभन्दा बढी बस्न बिजनेस वा कूटनीतिक भिसा लिनुपर्छ । कोबोल्ड आफूसँग भएका दुईवटा भिसा उपयोग गर्दै एउटा सकिनेबित्तिकै दोस्रो पासपोर्टबाट भिसा लिएर बसेका थिए । सन् २०१५ देखि २०१८ सम्म उनले १३ पटक नेपालको भिसा लिएको देखिन्छ । २०१७ मा भने ६ फरक–फरक समयमा भिसा लिएका थिए ।

अध्यागमन विभाग स्रोतका अनुसार एउटा पासपोर्टबाट जारी भएको भिसा म्याद सकिएपछि कोबोल्डले दोस्रो पासपोर्टको सहारा लिएर भिसा लिएका थिए । उनले जनवरीदेखि अप्रिलसम्म एउटा पासपोर्टबाट र अप्रिलदेखि सेप्टेम्बरसम्म दोस्रो पासपोर्टबाट भिसा लिएको देखिन्छ ।

दुवै पासपोर्टबाट पर्यटक भिसा लिने समय सकिएपछि भने फर्जी कागजात पेस गरेर सन् २०१८ मार्च ९ मा बिजनेस भिसा लिएका छन् । उनले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्तै नभएको लेदर ब्याग प्रोडक्सन कम्पनीको फर्जी कागजका आधारमा अध्यागमन विभागबाट बिजनेस भिसा लिएका हुन् ।

नेपालको अध्यागमन कानुनअनुसार एउटै व्यक्तिले दुई फरक–फरक पासपोर्टबाट भिसा लिएर बसाइ लम्ब्याउन मिल्दैन । विभागका महानिर्देशक ईश्वरराज पौडेलले यसरी बसाइ लम्ब्याउनु गैरकानुनी भएको बताए । उनले भने, ‘विद्यमान कानुनको कमजोरी पहिल्याएर दुईवटा पासपोर्टमा भिसा लिनु कानुनविपरीत हो ।’

काठमाडौंस्थित जर्मनी दूतावासले कोबोल्डको पासपोर्ट दुरुपयोगबारे बताउन चाहेन । दूतावासका प्रतिनिधि पउला वर्नरले इमेल प्रतिक्रियामा गोपनीयताका कारण बताउन नमिल्ने भन्दै पासपोर्टको उपयोगबारे आफूहरूले गम्भीरतासाथ परीक्षण गर्ने बताइन् ।

प्रकाशित : पुस २८, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×