भ्यु टावर जस्तै धरहरा

अब धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री 
वृद्ध–वृद्धाले समेत सहजै चढ्न सक्ने सुविधा 
मौलिकता नमास्न ध्यानाकर्षण
दामोदर न्यौपाने

काठमाडौँ — भुइँचालोले भत्काएको धरहरालाई जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी निर्माण सुरु भएको छ । आधुनिक भ्यु टावरमा धरहराकै झल्को आउने गरी बनाउन लागिएको हो । प्रधानमन्त्री केपी ओलीले बिहीबार धरहरा शिलान्यास गरेका छन् । 

प्रधानमन्त्री केपी ओली बिहीबार धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै (दायाँ) र निर्माण हुने धरहराको स्केच । तस्बिर : इलिट जोशी/कान्तिपुर

पहिला भत्केकोलाई सफा गरेर जोगाउन वरिपरिबाट कंक्रिटको पर्खाल लगाएर घेर्न सुरु गरिएको छ ।
‘यो धरहरा पुनर्निर्माण होइन,’ इन्जिनियरिङ अध्ययन संस्थानका आर्किटेक्ट विभागका सहप्राध्यापक ज्ञानेन्द्र देवकोटा भन्छन्, ‘यो संरक्षणको सिद्धान्तविपरीत छ । धरहरा भनेर प्रचार गरिएको छ । यो अर्काे टावर हो । धरहरा होइन ।’

धरहरा बनाउने नाममा यहाँका अन्य सम्पदालाई वास्ता नगरिएको देवकोटा बताउँछन् । ‘धरहराभन्दा पुरानो सुन्धारा हो,’ देवकोटा भन्छन्, ‘यहाँ भूमिगत संरचना बनाउँदा धरहराको आउटलेट बिग्रन्छ । पहिला काठमाडौं मल बनाउँदा यसको इनलेट बिग्रिएर सुन्धरा सुक्यो । धरहरा बनाउने नाममा टक्सार मास्न लागिएको छ । हुलाक कार्यालय मास्नलागिएको छ । यी पनि आफैंमा सम्पदा हुन् । यता ध्यान दिन नसक्नु दुर्भाग्य हो ।’

हुलाक कार्यालयको आकाशे पुलबाटै धरहरा क्षेत्र सुरु हुनेछ । धरहरा पुनर्निर्माणका लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एसोसिएट्स जेभीलाई पुरातत्त्वले जिम्मेवारी दिएको थियो । संस्कृति मन्त्रालयले धरहराको विस्तृत डिजाइन गर्न पुरातत्त्व विभागलाई कार्यादेश दिएको थियो । दुई महिनाभित्र कामसक्ने गरी गत असार २६ गते उनीहरूलाई कामको जिम्मेवारी दिइएको थियो । तर काम सक्न भने झन्डै एक वर्ष लगाएको थियो ।

अहिले पारित भएको डिजाइनमा गार्डेनको छेउमा तीन तले पार्किङ स्थल बन्नेछ । सुन्धारालाई धरहरा क्षेत्रभित्रै राखिनेछ । सुन्धरालाई पुनर्निर्माण गरेर भर्‍याङ बनाइनेछ । खुला यो भर्‍याङमा तीन सय जनासम्म हिँड्न सक्ने क्षमताको हुनेछ । पानीको फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ ।

धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिन लगायतका सामान संग्रहालयमा राख्न सकिनेछ । संग्रहालय दुई तलाको हुनेछ । यसबाहेक गिफ्ट सप, सानो थिएटर लगायतका पूर्वाधार समेत बनाइने डिजाइनमा उल्लेख छ । यसलाई अपांगमैत्री पनि बनाइनेछ । अपांगलाई ध्यान दिएर दुईवटा लिफ्टको व्यवस्था समेत गरिनेछ ।

इतिहास झल्कने, आधुनिकता टल्कने : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले अब बन्ने सम्पदा इतिहास झल्कने, आधुनिकता टल्कने खालको हुने बताए । ‘देशमा अब विकासको लहर लागेको छ,’ ओलीले भने, ‘हरेक कुराको आधुनिकताको लहर हो । हाम्रा निर्माणका काममा आधुनिकता टल्कनुपर्छ ।’

प्रधानमन्त्री ओलीले फरक विचार राख्नु स्वभाविक रहेको भन्दै कि सघाउनु, सघाउन नसके चुप लाग्नु तर विरोधचाहिँ नगर्न आग्रह गरे । ‘असहमति भए पनि, यसो गरे राम्रो हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । हामीले विभिन्न विज्ञसँग छलफल गरेका छौं,’ ओलीले भने, ‘हामी आधुनिकतासहितको सम्पदा बनाउने काममा कसैले अवरोध गर्नु हुँदैन । यो अभियानमा सबैले साथ दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले धरहरा मात्र नभई अरू सम्पदामा पनि आधुनिकता टल्कने बताए । ‘रानीपोखरीलाई पनि उस्तै तर बलियो बनाउनुपर्छ,’ ओलीले भने, ‘उही धरहरा उभिन सक्दैन । त्यही भएर उस्तै धरहरा बनाउन लागेका हौं । नयाँ बनाउँछौं । उस्तै बनाउँछौं । यथार्थ यही हो ।’

प्रधानमन्त्री ओलीले तीन वर्षअघि आफूले अघि सारेको अवधारणा सफल नभएको बताए । ‘२०७२ फागुन ४ मा मेरो धरहरा मै बनाउँछु भन्ने अभियान सुरु गरेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अवधारणा सफल भएन । जनताको सहभागिता व्यापक बनाउन यो अवधारणा ल्याएको हुँ । भनेजस्तो भएन । बेग्लै अवधारणाबाट यसको निर्माण सुरु भएको छ । यसलाई समयमै सम्पन्न गरिनेछ ।’

प्रधानमन्त्री ओलीले पटकपटक बनाउन नपर्ने गरी धरहरा बनाइने बताए । ‘पटक पटक भत्कने गर्‍यो,’ ओलीले भने, ‘अब बलियो बनाउनुपर्छ । युवा चढ्ने मात्र होइन, वृद्ध पनि चढ्ने बनाउनुपर्छ धरहरा ।’
धरहरा शिलान्याससँगै यहाँका नेवारले शव लैजान प्रयोग गर्ने बाटो पनि बन्द भएको छ ।

धरहरा हुँदै टेबहाल निस्कने बाटो बिहीबारबाटै बन्द गरिएको हो । यही बाटो भएर मृत्यु हुनेको परिवारको सदस्यको स्मृतिमा वर्षमा एक पटक बत्ती बालिन्छ । बत्ती बाल्दै जाने बाटो पनि यही हो । ‘इन्द्रजात्राको अवसरमा उपाकु संस्कार गर्नुपर्छ,’ स्थानीयवासी गीता शिख्रा भन्छिन्, ‘त्यो बाटो पनि बन्द गरियो ।’ शव लाने बाटो बन्द गरेर टक्सार विभागको छेउकै अर्काे बाटो खोलिएको छ ।

शव लाने बाटो छेक्नु सर्वाेच्च अदालतको फैसलाविपरीत भएको सम्पदा बचाउ संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ बताउँछन् । ‘धरहरा क्षेत्रको कुनै पनि संस्कृति नचलाउनु भनेर २०७१ सालमै सर्वोच्चले धरहरा निजी कम्पनीलाई दिने निर्णय विरुद्ध परेको रिटको फैसला गर्ने क्रममा नजिर स्थापित गरेको छ,’ श्रेष्ठ भन्छन्, ‘यो नजिरलाई समेत वास्ता गरिएन ।’

आफ्नो संस्कृति जोगाउन माग गर्दै विरोध गर्ने केही अभियन्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

किन बन्यो धरहरा ?
नेपालका पहिलो प्रधानमन्त्री राष्ट्रिय विभूति भीमसेन थापाले बनाएका हुन् धरहरा । भीमसेनले धरहरा बनाएर पहिलोपल्ट मुगल शैली नेपाल भित्र्याएका थिए । थापाले आफ्नो निवास बागदरबार छेउमै वि.सं. १८८१ सालमा धरहरा बनाएका थिए ।

भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरासुन्दरीले १८८२ मा अर्काे धरहरा बनाउन लगाइन् । थापाका सन्तति प्राध्यापक सुशीलविक्रम थापाका अनुसार १९९० सालको भुइँचालोले यी दुईमध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो ।

अहिलेको धरहरामा चाहिँ आंशिक क्षति मात्रै पुगेको थियो । ९० सालमा भुइँचालो आउनु पहिला नै चट्याङ परेर धरहरामा क्षति भइसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइँचालोपछि १९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ९ तलामा झारेर पुनर्निर्माण गरेका थिए । धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इँटाको गारो थियो । यसको डिजाइन मुगल कालिगढले गरेका थिए ।

सबभन्दा माथिल्लो भागमा गुम्बज बनाई सुनको जलप लगाइएको धातुको गजुर थियो । यसको निर्माणमा मुस्लिम धर्मको प्रभाव परेको संस्कृतिविद् यज्ञमानपति बज्राचार्य बताउँछन् ।

प्राध्यापक सुशीलविक्रमका अनुसार नेपाल–अंग्रेज युद्धको समयमा तराईको भूभाग जोगाउन सकिएको खुसीमा थापाले धरहरा बनाएका हुन् । ‘यो धरहरामा तराईप्रतिको भावना प्रतिबिम्बित भएको छ,’ थापा भन्छन्, ‘त्यस अर्थमा राष्ट्रिय एकताको प्रतीक हो भीमसेनको धरहरा ।’ धरहरालाई पहिला मिनार भनिन्थ्यो । मिनार भनेको मुस्लिम वास्तुकला हो । ‘थापा पटनामा बस्दा यो वास्तुकलामा प्रभावित भएका थिए,’थापा भन्छन्, ‘त्यही भएर मिनार शैलीको टावर बनाएका थिए ।’ नेपाल–अंग्रेजबीच वि.सं. १८७१ देखि १८७२ सम्म युद्ध भएको थियो ।

यो क्रममा पूर्वदेखि पश्चिमसम्मका दुई तिहाइ भूभाग गुमाएको थियो । वि.सं. १८७२ मकवानपुरको सुगौली भन्ने ठाउँमा दुई पक्षबीच सन्धि भएको थियो । नेपालको पक्षबाट उक्त सन्धिमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । ब्रिटिशको तर्फबाट लेफटिनेन्ट कर्णेल प्यरिस बाड्सले हस्ताक्षर गरेका थिए ।

सम्पदा संरक्षण अभियन्ताले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति सम्पदा संरक्षण क्षेत्रमा गम्भीर असर पर्ने प्रतिक्रिया दिएका छन् । आधुनिकता र मौलिकता फरक हुन् । ‘अब यो धरहरा भीमसेन स्तम्भ रहेन,’ अभियन्ता श्रेष्ठ भन्छन्, ‘अब यसलाई ओली स्तम्भ भनिदिए हुन्छ ।’

बलिया छैनन् मौलिक सामग्री ?
सम्पदा बनाउन आधुनिक निर्माण सामग्री प्रयोग गर्ने र आधुनिक बनाउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सम्पदा विज्ञ र अभियन्ताले आपत्ति जनाएका छन् ।

‘आधुनिकताले मौलिकता मासिँदै गयो,’ अभियन्ता अनिश वैद्य भन्छन्, ‘मौलिकतालाई मास्न आधुनिकताको नाममा सरकारै लागेको छ । सम्पदा भनेको हाम्रो स्वाधीनता हो । स्वाधीनता मास्न सरकारै लाग्नु दु:खको कुरा हो । अबको आन्दोलन मौलिकता जोगाउने हुनुपर्छ । नत्र हाम्रा मौलिकता अबका १० वर्षमा नासिएर जान्छन् ।’

अनुसन्धानै नगरी हाम्रा प्राचीन निर्माण सामग्री बलिया छैनन् भन्नु दु:खद भएको अनुसन्धाता डा. रामकुमार भौकाजी बताउँछन् । ‘खै अनुसन्धान गरेको ? बिना अनुसन्धान प्राचीन सामग्री बलियो छैन भन्न पाइन्छ ?’ अनुसन्धाता डा. रामकुमार भौकाजी भन्छन्, ‘अनुभव हेर्ने हो भने बलिया पाइएका छन् ।’

परम्परागत निर्माण सामग्री भनेका चुना, सुर्की (इँटाको धूलो), बालुवा प्रयोग भइरहेका छन् । पहिला यति मात्रै हुँदैनथे । मासको पिठो, लाहा, सख्खर, मह जस्ता सामग्री मिसाएर लेप बनाइन्थ्यो । राणाकालीन दरबार सबै यही निर्माण सामग्री प्रयोग भएका हुन् । मासको प्रयोग भएकाले २०३० सालमा सिंहदरबार आगलागी हुँदा निभाउनै मुस्किल भएको भौकाजी बताउँछन् । कालिगढका अनुभवमा पनि प्राचीन निर्माण सामग्री कमजोर छैनन् ।

बीस वर्षदेखि परम्परागत सामग्रीबाट सम्पदा निर्माणमा संलग्न कालिगढ श्रीलाल तामाङको अनुभवमा सिमेन्टभन्दा चुना बलियो हुन्छ । सामान्यतया सिमेन्टको आयु ८० वर्ष मानिएको छ । ‘विदेशी राम्रो गुणस्तरको भए सय वर्षसम्म टिक्ने मानिएको छ,’ अधिकारी भन्छन्, ‘नेपाली सिमेन्टको आयु त्यही ८० वर्ष हो । त्यसपछि यसमा राखिएको रसायन कमजोर हुँदै जान्छ । अनि बालुवा छाड्छ । मिसेन्टले बालुवा छाडेपछि गारो कमजोर हुन्छ ।’

कालिगढ लामाको अनुभवमा चुना ढिलो जोडिन्छ र आयु पनि लामो रहन्छ । सिमेन्ट आधा घण्टामा सेटिङ हुन्छ, २८ दिनमा ९८ प्रतिशत जोडिन्छ । एक वर्षमा पूरै जोडिन्छ । ‘तर चुना पूरै जोडिन एक वर्षै लाग्छ, लामा भन्छन्, ‘ढिला जोडिन्छ, टिक्न पनि वर्षाैं टिक्छ ।’ आधुनिक निर्माण सामग्रीको तुलनामा
यो बनाउन ढिला र महँगो पनि पर्ने लामा बताउँछन् । धूलो र गट्टा गरी दुईथरी चुना बजारमा पाइन्छ । धूलो चुना भित्ता रंग्याउन प्रयोग हुन्छ ।

प्राचीन निर्माण सामग्री प्रयोग भएका थुप्रै सम्पदा भुइँचालोले भत्काएनन् । ‘भुइँचालो आउनुअघि जीर्णाेद्धार गरिएका सम्पदा केही भएका छैनन्,’ वास्तुकलाविद् प्राध्यापक सुदर्शनराज तिवारी भन्छन्, ‘हामीलाई पश्चिमी हावाले छोएको मात्रै हो । हाम्रै प्राचीन सामान बलिया छन् । सिमेन्टभन्दा माटो बलियो छ । नट कस्नुभन्दा चुकुल बलियो छ । हामी पश्चिमाको दास भएर मात्रै बिग्रेको हो ।’

प्रकाशित : पुस १३, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

केयूले ल्यायो ‘सुपर कम्प्युटर’

कान्तिपुर संवाददाता

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू) ले मुलुकमा नै पहिलो ‘सुपर कम्प्युटर’ भित्र्याएको छ ।

केयुूले भित्र्याएको सुपर कम्प्युटर काभ्रेस्थित सूचना प्रविधि पार्कमा । तस्बिर : नगेन्द्र अधिकारी/कान्तिपुर

जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स’ ले केयूलाई यहाँ जडित सुपर कम्प्युटर, नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको हो ।

अमेरिकास्थित युनिभर्सिटी अफ अर्कान्सस्ले प्राविधिक सहयोग गरेको छ । साढे ७ टेरावाइट र्‍याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको उक्त सुपर कम्प्युटर काभ्रेस्थित सूचना प्रविधि पार्कमा राखिएको छ ।

सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको हुन्छ । समानान्तर प्रोसेसिङ गर्ने सुपर कम्प्युटरले एकै साथ धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिने काम गर्छ । केयूका सहप्राध्यापक डा. राजेन्द्र अधिकारीका अधिकारीका अनुसार तीव्र गणना र विशाल संग्रह क्षमता भएका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ ।

यसको प्रयोगले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्न नदीहरूको जलविद्युत् सम्भाव्यता लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

नेपालका अस्पतालहरूमा नयाँ बिरामीहरूका नयाँ डाटाहरूलाई संग्रहण गर्ने ठाउँ निकाल्नका लागि पुराना फोटोजन्य अभिलेख (एमआरआई, सिटी स्क्यान) आवधिक रूपले हटाउनुपर्ने वा मेटाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

प्रकाशित : पुस १३, २०७५ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्