मेयरलाई चुनौतीका चाङ

उनका आलोचक भन्छन्, ‘मेयरले केही गर्नै सकेनन् । यति समयमा धेरै गर्न सक्नुपर्ने हो ।’ समर्थकको ठ्याक्कै फरक विचार छ । उनीहरू भन्छन्, ‘पहिलेको तुलनामा त धेरै काम भएका छन् । तर किन हो, चर्चा भने पटक्कै हुन्न । उल्टै आलोचना मात्र बढी छ ।’

काठमाडौँ — ‘मोनो रेल हामी सबैको सपना हो,’ काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले मोनोरेल सम्बद्ध एक कार्यक्रममा भने, ‘तर यो यस्तो काम हो, सुरु गरे पनि किन गर्‍यौ भन्ने हुन्छन् । गरेन भने किन गरेनौ भन्ने पनि हुन्छन् ।’ 

मेयरलाई चुनौतीका चाङ

उनले महानगरपालिका सम्हाल्न थालेको पनि डेढ वर्ष पुगिसकेको छ । देशकै राजधानी प्रमुखका रूपमा उनका जिम्मेवारी धेरै छन् । उत्तिकै ठूला पनि । उनका आलोचक भन्छन्, ‘मेयरले केही गर्नै सकेनन् । यति समयमा धेरै गर्न सक्नुपर्ने हो ।’ उनका समर्थकको ठ्याक्कै फरक विचार छ । उनीहरू भन्छन्, ‘पहिलेको तुलनामा त धेरै काम भएका छन् । तर किन हो, चर्चा भने पटक्कै हुन्न । उल्टै आलोचना मात्र बढी छ ।’


समस्या कहाँनिर छ ? शाक्यका शुभचिन्तकलाई पनि यो समस्या नै लागेको छ । त्यसैले केही समय भयो, त्यो समूह अनौपचारिक रूपमा सक्रिय छ । उनीहरू के तथ्यमा सहमत छन् भने मेयर शाक्यका कमजोरी नभएका होइनन् । काम पनि गरेकै छन् । समस्या त ती काम राजधानीवासीमाझ ठीक ढंगले प्रस्तुत गर्न नसक्नुमा छ । यसैले होला, केही समययता मेयर शाक्य मिडियासँग पनि केही खुल्न थालेका छन् । नत्र सकेसम्म सम्पर्कमै नआउने, आए पनि कुरा गर्न नै गाह्रो । भन्नेहरू केसम्म पनि भन्छन् भने मेयर शाक्यलाई भेट्न त्यति गाह्रो छ, जति प्रधानमन्त्री अथवा मन्त्रीलाई पनि हुन्न ।


मिडियाको आफूप्रति धेरै गुनासो भएको उनी स्वयं स्विकार्छन् । अहिले सायद केही फेरिएका छन् । भन्छन्, ‘म मिडिया अनफ्रेन्ड्ली पनि होइन । बोल्नलाई महानगरपालिकाका प्रवक्ता, उपप्रवक्ता पनि छन् । सूचना अधिकृत पनि । विभागीय प्रमुख पनि छन् ।’


त्यसैले उनको तर्क छ, मिडियासँगको काम उनीहरूकै हो । आफ्नो काम भने नीतिगत हो । त्यसैले मिडियाले मागे, सबै जानकारी मात्र होइन, कागजात नै दिनु पनि भनेका छन्, विभागीय प्रमुखहरूलाई ।


ठोस काम खोइ ?

निकटका व्यक्ति र पुरानो संगत भएकाहरूलाई मान्ने हो भने मेयर शाक्यले केही खास बानी सुधार्नै पर्छ । जस्तो, उनले सबैले देखिने गरेर ठोस काम गरेर देखाउनुपर्ने हो ।


तर उनी धेरै क्षेत्रमा संलग्न भए, त्यसैले देखिने काम भएन । अब मोनो रेल यस्तै ठोस काम हुन सक्छ कि ? उनले एकैपल्ट धेरै काममा हात हाले । काठमाडौंका लागि सबैभन्दा ठूलो मुद्दा फोहरमैला व्यवस्थापन हो, यसैमा उनी ठोस रूपमा लाग्नुपर्छ ।


धेरै हदसम्म उनी रानीपोखरी प्रकरणमा पनि चुके । महानगरपालिकासँग सबै कामको जिम्मेवारी र अधिकार छैन, त्यसका लागि अरू निकायसँग साझेदारी गर्नुपर्छ । जस्तो– सडक विभाग, विद्युत् प्राधिकरण, खानेपानीदेखि पुरातत्त्व र पुनर्निर्माण प्राधिकरणसम्म ।


मेयर शाक्य यसमा पनि कमजोर छन्, समन्वयकर्ताको भूमिकामा । र, सबैभन्दा ठूलो तथ्य उनले महानगरपालिकाले के गर्न सक्छ र त्यसको सीमा कहाँसम्म छ, त्यो पनि प्रस्ट पार्न सकेका छैनन ।


मेयर शाक्यको दाबी छ– काम भने धेरै भएको छ । उनी भन्छन्, ‘हामीले महानगरपालिकाको जिम्मेवारीमा आउने धेरै काम गरेका छौं । आठ मिटरभन्दा कम चौडाइका धेरै सडक विस्तार गर्ने काम भइसके । अझै केहीमा काम भइरहेको छ ।’


उनको दाबीलाई मान्ने हो भने अधिकांश वडामा त्यस्ता सडकका केही काम नै बाँकी छैनन् । केही वडाले सडक निर्माणको काम नपाएर यसबारे सूचना नै निकालेका छन्, कहींकतै बनाउनुपर्ने सडक बाँकी छ कि भनेर ?


त्यसको अर्थ काठमाडौंका सडकको सबै काम सकियो भन्ने होइन । अझै बढी त फराकिलो बाटोमा । जस्तो– बौद्ध–जोरपाटी सडक । यसबारे धेरै गुनासा आउने गर्छन् । गुनासो कलंकी थानकोटको बाटोबारे पनि छ । मेयर शाक्य भन्छन्, ‘यी हाम्रा जिम्मेवारीका सडक होइनन् । यसमा काम गर्ने सडक विभागले हो ।’


उनको अनुभवमा महानगरको जिम्मेवारीमा नपर्ने सडकलाई लिएर धेरैले उनलाई गाली गरिरहेका छन् । ‘सीतापाइलादेखि भीमढुंगाको बाटोलाई लिएर पनि महानगरपालिकामा गुनासो गर्ने धेरै छन् ।


सानेपाको पुलमुनि पानी जमे पनि मेयरलाई गाली गर्ने छन्,’ उनी भन्छन्, ‘मेयरको कामबारे बुझ्दै नबुझेर गाली गर्ने धेरै छन् ।’ आफूहरू आउनुअघिको सडक र अहिलेको स्थिति तुलना गरे काम आफैं देखिने शाक्यको भनाइ छ ।


वडालाई सिधै बजेट

महानगरले आफूअन्तर्गतका ३२ वडालाई तीन समूहमा विभाजन गरेको छ । त्यसमध्ये पहिलो समूहले वर्षको ३ करोड रुपैयाँ बजेट पाएको छ । दोस्रो समूहले साढे १ करोड र तेस्रोले १ करोड रुपैयाँ ।


यसअघि वडा अध्यक्षले सानो रकम निकासाका लागि पनि मेयरलाई खुसी बनाउनुपर्ने स्थिति थियो । त्यसैले पनि अधिकांश वडा अध्यक्ष मेयरको काममा खुसी छन् । वडा अध्यक्षको लामो अनुभव भएका शशिलाल श्रेष्ठ, चिनियाँ वज्राचार्य पनि एकमुष्ट बजेट निकासाले काम गर्न सजिलो मानिरहेका छन् ।


शाक्यलाई गर्व ‘मेयर उज्यालो कार्यक्रम’ मा पनि छ, जसअन्तर्गत धेरैजसो सडकमा बत्ती राख्ने काम सकिइसकेको छ । यसकै लागि नेपाल विद्युत् प्राधिकरणसँग लगातार सम्पर्कमा छन् ।

शाक्य मेयर भएयता दुईपटक फोहोरको समस्या देखियो । ‘दुवै पटक समस्याको कारण महानगरपालिका थिएन,’ उनी मान्छन्, ‘एकपल्ट महानगरपालिकाकै कर्मचारी र ठेकेदारहरूले दु:ख दिए । अर्कोपल्ट पानी परेर सडक बिग्रेपछि समस्या भयो ।’


यसबाहेक उनी धेरै हदसम्म फोहोरको समस्या पनि समाधान भएको दाबी गर्छन् । फोहोर उठाउने काम निजी क्षेत्रमा जाने छलफल पनि भइरहेको छ । उनी काठमाडौंमा धूलो उड्ने समस्या धेरै हदसम्म समाधान भएको मान्छन् ।


मूल बाहिरी सडकमा मात्र केही समस्या रहेको बताउँछन् । ‘मूल सडक महानगरपालिकाको जिम्मेवारीमा पर्दैन । त्यसैले कि सडक विभागले काम गरोस्, होइन भने हामीलाई जिम्मेवारी दिनुपर्छ । विभागसँग केही सहकार्य पनि भएको छ । विभागले आफ्नै ब्रुमर पनि प्रयोगमा ल्याएको छ । एउटै कामका लागि दुई निकाय लाग्नुहुन्न । हामीसँग भएका ब्रुमरबाट काम भइरहेका छन् । चीनले थप दुइटा दिने कुरा छ,’ उनले भने ।


धूलोको समस्या फेरि बल्झिन सक्ने डर रहेको उनी बताउँछन् । कारण, फेरि एकपल्ट सडक बिगार्ने काम हुन लागेको छ । उनले भने, ‘मेलम्चीको काम त सकियो तर अन्डरग्राउन्ड केबुलिङका लागि टेन्डर गर्ने काम भइसकेको छ । यस्तोमा फेरि सडक बिगारिनेछ र फेरि धूलो उड्नेछ ।


‘त्यति बेला पनि गाली खाने महानगरपालिका नै हुनेछ, हामी अन्डरग्राउन्ड केबुलिङ नगर पनि भन्न सक्दैनौं । समयमै काम हुनुपर्छ, समयमै सकाउनु पनि पर्छ,’ उनले थपे । पूर्वाधार निर्माणका क्रममा जनतालाई केही दु:ख हुन सक्ने उनी मान्छन् । यो दु:ख कम गर्ने प्रविधि लागू गर्नुपर्ने उनको मत छ ।


उपत्यकाका १८ नगरपालिकाका मेयर मिलेर एउटा संगठन पनि बनाएका छन् । यसको नेतृत्व पनि मेयर शाक्यकै काँधमा छ ।


प्रचारबाजीबाट टाढै

‘मेरो काम नीति बनाउने हो । काम भइरहेको स्थानमा आफैं जानुपर्छ भन्ने छैन, म जान्नँ पनि । वडा अध्यक्ष र सदस्य पनि छन् । मेरो जिम्मेवारी यी कामका लागि बजेट उपलब्ध गराउने हो । व्यवस्थापन भनेको सबै काम आफैंले गर्ने होइन । वडा अध्यक्षले राम्रो काम गर्छ भने जस मलाई आउनेछ । होइन भने अपजस पनि मलाई नै आउनेछ,’ मेयर शाक्य भन्छन् ।


उनलाई बत्ती जडान गरेपछि त्यसको मुनि बसेको तस्बिर खिचाइ फेसबुकमा हाल्न सल्लाह दिने पनि छन् । ‘अरू मेयर डोजरमा बसेर तस्बिर खिच्छन्, मलाई पनि त्यस्तै गर्नु भन्छन् । ढलको माथि बसेर तस्बिर खिच्नुपर्छ पनि भन्छन् । मलाई यस्तो प्रचारबाजी मन पर्दैन ।’


उनी जनप्रतिनिधि नै पीडित भएको भने मान्छन् । शाक्यको दाबी छ– ‘सबैभन्दा कम सुविधा लिइरहेका भनेकै यिनै जनप्रतिनिधि हुन् । वडा सदस्य पनि दिनरात काममा खटिरहेका छन्, तिनले पाउने भनेको महिनाको सात हजार रुपैयाँ मात्र हो । यो त शोषण नै हो । २०५४ सालतिरै सदस्यले सात हजार रुपैयाँ पाउँथे, २०७५ सालमा पनि यत्ति नै । यो त जनप्रतिनिधिको पनि अवमूल्यन हो ।’


काम गर्ने तरिका फेर्नु अबको आफ्नो प्रमुख उद्देश्य रहेको शाक्य बताउँछन् । उनका अनुसार विदेशमा महानगरपालिका निकै बलियो छ । लाइन एजेन्सी त्यसैअन्तर्गत रहन्छ । ‘तर यहाँ यस्तो छैन । खानेपानी, ढल निकास महानगरअन्तर्गत छैन । सडक विभाग, टेलिकम, विद्युत् प्राधिकरण, टेलिकम पनि हाम्रोअन्तर्गत छैन । बाहिर यी सबै महानगरकै जिम्मेवारीमा हुन्छ । फोहोर उठाउने जिम्मेवारी हाम्रो तर ल्यान्डफिल बनाउने काम हाम्रो होइन । मेलम्चीका लागि बाटोमा खाल्डो खन्दा नगरपालिकालाई सोधिन्न,’ उनले भने ।

प्रकाशित : पुस १२, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?