त्रिभुवन विश्वविद्यालयः नाम सेमेस्टर, पठनपाठन वार्षिक प्रणालीमा

सेमेस्टर सिस्टममा समस्या रहिरहन्छ किनभने यो नेपाली सेमेस्टर हो, वार्षिक प्रणालीभन्दा अब्बल छ– तीर्थ खनियाँ, उपकुलपति
गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सेमेस्टर प्रणाली लागू गरेको आधा दशक भइसक्दा पनि विद्यार्थी भर्ना र पठनपाठन भने वार्षिक प्रणालीअनुसार नै हुने गरेको पाइएको छ ।


हरेक ६ महिनामा एक सेमेस्टर पूरा हुने भए पनि त्रिविले विद्यार्थी भर्ना र पठनपाठन वार्षिक प्रणालीअनुसार ढिला गर्ने गरेको हो ।

त्रिवि डिन कायालयहरूले स्नातकोत्तर तहको भर्ना खोलेसँगै अघिल्लो तेस्रो सेमेस्टरलाई समेत पढाउनुपर्ने भएपछि तनाव बढेको प्राध्यापकहरू बताउँछन् । ‘नयाँ भर्ना खुलेपछि दोस्रो सेमेस्टरको मात्र पठनपाठन हुनुपर्ने हो,’ त्रिवि भाषा विज्ञान केन्द्रीय विभाग प्रमुख दुबिनन्द ढकाल भन्छन्, ‘तर, गत वर्षको चुनावले गर्दा पढाइ धकेलियो । तेस्रो सेमेस्टरको पनि पठनपाठन सुचारु राख्नुपर्ने बाध्यता छ ।’

सेमेस्टर प्रणाली सुरु भएयता विद्यार्थीको रोकिएको पठनपाठन जाडो बिदासमेत कटौती गरेर पढाएको ढकालले बताए । ‘तर, त्यसरी अतिरिक्त पढाएको पारिश्रमिक विश्वविद्यालयले दिएन,’ ढकालले भने, ‘बिना पारिश्रमिक पढाउने आँट कसैले गरेनौं ।’

त्रिविले सेमेस्टर प्रणाली लागू गरेपछि अधिक शिक्षकले असन्तुष्टि प्रकट गर्दै आएका छन् । अर्कोतर्फ विश्वविद्यालयले मानव स्रोत, भौतिक र शैक्षिक पूर्वाधारको चुस्त व्यवस्थापन गर्न सकेको छैन । अनेक कमजोरीका बाबजुद जबरजस्ती सेमेस्टर प्रणाली अघि बढाउनुपरेको विश्वविद्यालयका अधिकारी स्विकार्छन् ।

त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा सेमेस्टर प्रणाली तल्लो तहबाट लागू हुन नसक्दा कमजोर भएको स्विकार्छन् । ‘विश्वविद्यालयले स्नातकोत्तर तहका सबै कार्यक्रम सेमेस्टरमा लागू गर्ने निर्णय गर्‍यो र लागू भएको हो,’ डिन शर्मा भन्छन्, ‘तर, तलबाट हुनुपर्ने माथिबाट लागू हुँदा समस्या आएको छ ।’ उक्त संकायमा बीबीएस वार्षिक प्रणालीमा सुचारु छ भने बीबीएमात्र सेमेस्टरअनुसार रहेको छ ।

शिक्षा ऐनअनुसार अहिलेसम्म विद्यालय तह वार्षिक प्रणालीअनुसार छ । कक्षा ११ र १२ लाई विश्वविद्यालय शिक्षाको प्रारम्भिक चरण मानिन्छ । उक्त तहमा समेत वार्षिक प्रणाली कायम छ । विश्वविद्यालयले सञ्चालन गर्ने स्नातक तहका अधिकांश पुराना कार्यक्रम तथा विषय वार्षिक प्रणालीमा छन् भने स्नातकका लोकप्रिय विषयहरू सेमेस्टर सिस्टममा सुचारु छन् ।

‘वास्तवमा हाम्रो भर्ना प्रणालीमै त्रुटि छ, कक्षा ११ र १२ वार्षिक प्रणाली छ,’ डिन शर्मा भन्छन्, ‘बाह्र कक्षा पास गरेपछि स्नातकको भर्ना लिइन्छ । स्नातक तहको परीक्षा प्रणाली वार्षिक छ ।

त्यसैअनुसार स्नातकोत्तर तहमा वर्षमा एक पटक भर्ना लिने गरिएको छ । वास्तवमा सेमेस्टर प्रणाली भइसकेपछि छ–छ महिनामा भर्ना लिइनुपर्ने हो ।’ त्रिविले पुस लागेपछि नयाँ भर्ना खोलेको छ ।

फागुनबाट पठनपाठन सुरु हुनेछ । अघिल्लो तह वार्षिक प्रणाली भएको उल्लेख गर्दै डिन शर्माले भने, ‘यदि सेमेस्टर प्रणालीअनुसार दुई पटक भर्ना लिने हो भने यो (फागुन) सेसन जति अर्को सेसनमा धेरै विद्यार्थी भर्ना हुन्नन् ।’

त्रिवि उपकुलपति तीर्थ खनियाँ वार्षिक प्रणाली बदनाम भएकाले सेमेस्टर लागू गरिएको बताउँछन् । ‘स्नातकोत्तर तहको परीक्षाको अघिल्लो दिनसम्म विद्यार्थी भर्ना हुने परिपाटीले वार्षिक प्रणाली बन्द गर्नुपरेको हो,’ बाध्यात्मक परिस्थितिले सेमेस्टर लागू गरिएको उल्लेख गर्दै उपकुलपति खनियाँले भने, ‘सेमेस्टर प्रणाली सुरु गर्नुअघि गर्नुपर्ने तयारी नहुनु कमजोरी हो । भौतिक पूर्वाधार, शिक्षक तयारीजस्ता अर्बौंको लगानी हुनुपथ्र्यो भएन । तर, अब पछाडि फर्किन पनि सम्भव छैन किनभने छिमेकी मुलुकले वार्षिक प्रणाली हटाइसकेका छन् ।’

अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग त्रिविको सेमेस्टर प्रणालीलाई तुलना गर्न नमिल्ने उपकुलपति खनियाँ उल्लेख गर्छन् ।

‘सेमेस्टर सिस्टममा समस्या रहिरहन्छ किनभने यो नेपाली सेमेस्टर हो, वार्षिक प्रणालीभन्दा अब्बल छ,’ स्नातक तहका राम्रा विषय सेमेस्टरमा रहेको उल्लेख गर्दै उनले भने, ‘स्नातकका पुराना विषय र त्यसअघिका तह वार्षिक भएकाले भर्ना प्रक्रिया वार्षिक नै रहन्छ ।’

त्रिवि सभाले पास गरेको ५६ औं ग्रेस लिस्टअनुसार यो वर्ष स्नातकोत्तर १८ हजार ८ सय ७९ विद्यार्थी दीक्षान्त योग्य छन् । तीमध्ये अधिक संख्या वार्षिक प्रणालीका छन् । सेमेस्टर प्रणाली लागू भएपछि प्रतिविषय तथा कक्षामा ४० जनामात्र भर्ना हुने गरेका छन् ।

प्रकाशित : पुस ९, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

इँटाभट्टामा खुला शौच

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर खुला दिसा मुक्त घोषणा भएको ५ वर्ष बित्यो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले पाँच वर्षभित्र पूर्ण सरसफाइ घोषणा गर्ने भन्दै रणनीतिक योजना सार्वजनिक गरिसकेको छ । 

चाँगुनारायण नगरपालिका झौखेलस्थित भट्टामा इँटा बनाउँदै सिन्धुली चैनपुरका छलीमाया थिङलगायत ।तस्बिर : अंगद ढकाल/कान्तिपुर

तर, जिल्लामा सञ्चालित इँटा उद्योगका मजदुरहरू खुला शौच गर्न बाध्य छन् । इँटा उद्योग क्षेत्रमा शौचालय निर्माण तथा व्यवस्थापनमा सरोकारवालाको ध्यान जान सकेको छैन ।

मकवानपुरगढी–१ अम्पाटार, मकवानपुरकी सरिता तामाङलाई रातदिन शौच कहाँ गर्ने भन्ने कुराले सताउँछ । चाँगुनारायण नगरपालिका झौखेलस्थित एक इँटा उद्योगमा मजदुरी गर्ने तामाङ दम्पतीको मात्र नभई उद्योगमा काम गर्ने हरेक मजदुरको समस्या उही छ । उद्योगमा कार्यरत मजदुर ढिस्को, बुट्यानले छेल्दै शौच गर्ने तामाङ बताउँछिन् ।

जग्गाधनीले झ्याउली (छाप्रो) वरिपरी शौचालय बनाउन नदिने र बालबच्चा छोडेर टाढा खोल्सा, ढिस्को, बुट्यानमा शौच गर्न जानुपर्ने मजदुरको गुनासो छ । ‘राति त जता बस्दा पनि भयो, दिउँसो शौच गर्न परे साह्रै समस्या पर्छ,’ सिन्धुली चैनपुरकी छलिमाया थिङले भनिन्, ‘खुला शौचका कारण महिला तथा किशोरीहरूमा यौन हिंसाको जोखिम बढ्छ ।’ छलिमाया थिङ तीन छोरी, पतिसहित झ्याउलीमा बस्छिन् ।

माटोमा रमाउने मजदुरको मुख्य समस्या खुला शौच भएको सिन्धुली हरिहरपुर गाउँपालिका–३ कुस्दमारका दलबहादुर सिङतान बताउँछन् । ‘दुई छोरी साथ छन्, खानाको समस्या छैन,’ उनले भने, ‘खुला शौच सिंगो समस्या हो ।’ चिसो बिहानीमा ढिस्कोले छेलिँदै शौच गर्नुपर्ने बाध्यता लज्जास्पद रहेको उनको गुनासो छ ।

जिल्लाको चाँगुनारायणमा ५० तथा सूर्यविनायक नगरमा १२ गरी ६२ इँटा उद्योग सञ्चालनमा छन् । प्रति इँटा उद्योगमा ३ सय ५० देखि ४ सय मजदुर कार्यरत छन् । झन्डै १८ हजार मजदुर कार्यरत उद्योगमा शौचालय नहुनु दुर्भाग्य भएको चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र बताउँछन् ।

भक्तपुरका चार स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले ६ महिनाअघि नै पूर्णसरसफाइको रणनीतिक योजना सार्वजनिक गरेको छ । रणनीतिक योजना बनाएर कार्य थालनी गरे पनि नगरभित्रका इँटा उद्योगकै कर्मचारी खुला शौच गर्न बाध्य छन् ।

नगरप्रमुख मिश्रले भने व्यवसायीलाई तत्काल उद्योग क्षेत्रमा शौचालय बनाउन निर्देशन दिने बताए । भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ हेम्बाले भने उद्योग क्षेत्रमा शौचालय भए पनि मजदुरले प्रयोग गर्न नजान्ने बताए । ‘प्रत्येक सञ्चालकले उद्योग क्षेत्रभित्र शौचालय निर्माण गरिदिएको छ,’ उनले भने, ‘तर, मजदुरले शौचालय प्रयोग नै गर्दैनन्, प्रयोग नै गरे पनि सही तरिकाले गर्दैनन् ।’

मजदुरलाई शौचालय प्रयोग र सरसफाइबारे जनचेतनाकै कमी भएको उनी बताउँछन् । समितिले मानवीय, आर्थिक, भौतिक तथा प्राविधिक स्रोतको परिचालन गर्दै आवश्यक सार्वजनिक स्थल तथा संस्थाहरूमा सुविधायुक्त शौचालय निर्माण तथा प्रयोग सुनिश्चित गर्ने योजना बनाएको छ ।

जिल्लाका सम्पूर्ण घरधुरी, विद्यालय, कार्यालय, उद्योगलगायतका स्थलहरूमा नेपाल खानेपानी गुणस्तर मापदण्डअनुसार पर्याप्त पानीको आपूर्ति गर्ने, सहरी क्षेत्र, धार्मिक तथा सार्वजनिक स्थलहरूमा फोहोरको व्यवस्थापन गर्ने, हनुमन्ते, मनोहरालगायत खोलाको शुद्धीकरण गरी ढल व्यवस्थापनलाई प्राथमिकतापूर्वक अघि बढाउने जनाएको छ । तर, योजनाअनुरूप कार्य हुनुको सट्टा अनुगमन समेत हुन सकेको छैन ।

प्रकाशित : पुस ९, २०७५ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्