इँटाभट्टामा खुला शौच

भक्तपुर — भक्तपुर खुला दिसा मुक्त घोषणा भएको ५ वर्ष बित्यो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले पाँच वर्षभित्र पूर्ण सरसफाइ घोषणा गर्ने भन्दै रणनीतिक योजना सार्वजनिक गरिसकेको छ । 

इँटाभट्टामा खुला शौच

तर, जिल्लामा सञ्चालित इँटा उद्योगका मजदुरहरू खुला शौच गर्न बाध्य छन् । इँटा उद्योग क्षेत्रमा शौचालय निर्माण तथा व्यवस्थापनमा सरोकारवालाको ध्यान जान सकेको छैन ।


मकवानपुरगढी–१ अम्पाटार, मकवानपुरकी सरिता तामाङलाई रातदिन शौच कहाँ गर्ने भन्ने कुराले सताउँछ । चाँगुनारायण नगरपालिका झौखेलस्थित एक इँटा उद्योगमा मजदुरी गर्ने तामाङ दम्पतीको मात्र नभई उद्योगमा काम गर्ने हरेक मजदुरको समस्या उही छ । उद्योगमा कार्यरत मजदुर ढिस्को, बुट्यानले छेल्दै शौच गर्ने तामाङ बताउँछिन् ।


जग्गाधनीले झ्याउली (छाप्रो) वरिपरी शौचालय बनाउन नदिने र बालबच्चा छोडेर टाढा खोल्सा, ढिस्को, बुट्यानमा शौच गर्न जानुपर्ने मजदुरको गुनासो छ । ‘राति त जता बस्दा पनि भयो, दिउँसो शौच गर्न परे साह्रै समस्या पर्छ,’ सिन्धुली चैनपुरकी छलिमाया थिङले भनिन्, ‘खुला शौचका कारण महिला तथा किशोरीहरूमा यौन हिंसाको जोखिम बढ्छ ।’ छलिमाया थिङ तीन छोरी, पतिसहित झ्याउलीमा बस्छिन् ।


माटोमा रमाउने मजदुरको मुख्य समस्या खुला शौच भएको सिन्धुली हरिहरपुर गाउँपालिका–३ कुस्दमारका दलबहादुर सिङतान बताउँछन् । ‘दुई छोरी साथ छन्, खानाको समस्या छैन,’ उनले भने, ‘खुला शौच सिंगो समस्या हो ।’ चिसो बिहानीमा ढिस्कोले छेलिँदै शौच गर्नुपर्ने बाध्यता लज्जास्पद रहेको उनको गुनासो छ ।


जिल्लाको चाँगुनारायणमा ५० तथा सूर्यविनायक नगरमा १२ गरी ६२ इँटा उद्योग सञ्चालनमा छन् । प्रति इँटा उद्योगमा ३ सय ५० देखि ४ सय मजदुर कार्यरत छन् । झन्डै १८ हजार मजदुर कार्यरत उद्योगमा शौचालय नहुनु दुर्भाग्य भएको चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र बताउँछन् ।


भक्तपुरका चार स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले ६ महिनाअघि नै पूर्णसरसफाइको रणनीतिक योजना सार्वजनिक गरेको छ । रणनीतिक योजना बनाएर कार्य थालनी गरे पनि नगरभित्रका इँटा उद्योगकै कर्मचारी खुला शौच गर्न बाध्य छन् ।


नगरप्रमुख मिश्रले भने व्यवसायीलाई तत्काल उद्योग क्षेत्रमा शौचालय बनाउन निर्देशन दिने बताए । भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ हेम्बाले भने उद्योग क्षेत्रमा शौचालय भए पनि मजदुरले प्रयोग गर्न नजान्ने बताए । ‘प्रत्येक सञ्चालकले उद्योग क्षेत्रभित्र शौचालय निर्माण गरिदिएको छ,’ उनले भने, ‘तर, मजदुरले शौचालय प्रयोग नै गर्दैनन्, प्रयोग नै गरे पनि सही तरिकाले गर्दैनन् ।’


मजदुरलाई शौचालय प्रयोग र सरसफाइबारे जनचेतनाकै कमी भएको उनी बताउँछन् । समितिले मानवीय, आर्थिक, भौतिक तथा प्राविधिक स्रोतको परिचालन गर्दै आवश्यक सार्वजनिक स्थल तथा संस्थाहरूमा सुविधायुक्त शौचालय निर्माण तथा प्रयोग सुनिश्चित गर्ने योजना बनाएको छ ।


जिल्लाका सम्पूर्ण घरधुरी, विद्यालय, कार्यालय, उद्योगलगायतका स्थलहरूमा नेपाल खानेपानी गुणस्तर मापदण्डअनुसार पर्याप्त पानीको आपूर्ति गर्ने, सहरी क्षेत्र, धार्मिक तथा सार्वजनिक स्थलहरूमा फोहोरको व्यवस्थापन गर्ने, हनुमन्ते, मनोहरालगायत खोलाको शुद्धीकरण गरी ढल व्यवस्थापनलाई प्राथमिकतापूर्वक अघि बढाउने जनाएको छ । तर, योजनाअनुरूप कार्य हुनुको सट्टा अनुगमन समेत हुन सकेको छैन ।

प्रकाशित : पुस ९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?