१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टुँडिखेल वरिवरि ‘पिक एन्ड ड्रप’

दीपेन्द्र विष्ट

काठमाडौँ — सवारीसाधनको अत्यधिक जाम बढ्दै गएको भन्दै टुँडिखेल वरिपरिको क्षेत्रमा यात्रु पिक एन्ड ड्रप (चढाउन र ओराल्न) मात्र पाइने भएको छ ।

टुँडिखेल वरिवरि ‘पिक एन्ड ड्रप’

पुस १ गतेदेखि भोटाहिटी, जमल, रत्नपार्क, भृकुटीमण्डप र सहिदगेट वरपरको क्षेत्रमा लामो समयसम्म चालकले गाडी रोक्न नपाउने भन्दै काठमाडौं महानगरलगायत सरोकारवाला निकायले पिक एन्ड ड्रप नीति अख्तियार गरेका हुन् ।


महानगरपालिका सहरी सुव्यवस्था विभाग प्रमुख हरि कुँवरको संयोजकत्वमा साना–ठूला सवारी कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी कृष्णदत्त भट्ट, सडक विभागका इन्जिनियर रामबहादुर गुरुङ र नगर प्रहरी महाशाखा प्रमुख विष्णुप्रसाद जोशीको कार्यदलले पिक एन्ड ड्रप प्रतिवेदन तयार पारेको हो ।


कार्यालय समयमा हुने ट्राफिक जाम हटाउन पिक एन्ड ड्रप नीति लागू गर्नुपरेको महानगरपालिका प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले जानकारी दिए । ‘साना सवारीसाधन संख्या घटाउनुपर्छ,’ उनले भने, ‘अब ठूला सवारीसाधनलाई प्रोत्साहित गर्नुपर्छ ।’


टुँडिखेल वरिपरि ९४ वटा समिति/कम्पनीद्वारा सञ्चालित सवारीसाधनले लामो समयसम्म गाडी रोक्दा सवारी आवागमनमा अवरोध पुर्‍याउँदा ट्राफिक जाम बढेको उनले बताए । ‘अब लामो समय कसैले रोक्न पाउँदैन,’ उनले भने, ‘यात्रु ओराल्ने, चढाउने त्यतिमात्र गर्न पाउँछन् ।’


रोक्न कहाँ–कहाँ पाइन्छ ?

टुँडिखेलदेखि सिंहदरबार हुँदै बानेश्वरतर्फ जाने सवारीसाधनले भृकुटीमण्डपमा मात्र रोक्न पाउनेछन् । ती गाडी माइतीघरदेखि बबरमहलको बीचमा रोक्न पाइनेछ ।


टुँडिखेलदेखि सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारीसाधनले भृकुटीमण्डपमा ओराल्न र चढाउन मात्र पाउनेछन् । टुँडिखेलदेखि त्रिपुरेश्वर, कालिमाटी हुँदै जाने सवारीसाधनले भृकुटीमण्डप र त्रिपुरेश्वरमा रोक्न पाउनेछन् ।


त्यसैगरी टुँडिखेल, लैनचौर, खानी विभाग हुँदै सामाखुसी, लाजिम्पाट, महाराजगन्ज, धोबीचौर भएर जाने सवारीसाधनले नेपाल वायुसेवा निगमको अगाडि चढाउन वा ओराल्न पाउनेछन् । ती सवारीले लैनचौर खानी तथा भूगर्भ विभाग अगाडि रोक्न पाउनेछन् ।


टुँडिखेल, जमल, दरबारमार्ग, घण्टाघर, कमलपोखरी, नागपोखरी भएर चल्ने सवारीसाधनले नेपाल वायुसेवा निगम अगाडि ओराल्न/चढाउन पाउने व्यवस्था गरिएको छ । दोस्रो स्टप टुँडिखेल वरिपरिभन्दा बाहिर हुनेछ । यसरी सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न पिक एन्ड ड्रप नीति लागू गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले बताए ।


‘साना सवारीसाधन जथाभावी रोकिँदा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो,’ उनले भने, ‘ओराल्ने/चढाउने गर्दा पनि ट्राफिक जाम कम हुन्छ ।’

प्रकाशित : मंसिर २९, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?