१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजधानीमा पनि राम–जानकी विवाह

जनकपुर जान नपाएकाहरू राजधानीमै राम–जानकी विवाह हेर्न पाएर रमाए

काठमाडौँ — जनकपुरमा राम र सीताको विवाह भव्य रूपमा मनाइँदै गर्दा राजधानीमा पनि राम–जानकी विवाह महोत्सव मनाइएको छ । महावीर भजन मण्डलले ललितपुरको कुपण्डोलमा महोत्सव आयोजना गरेको हो । 

राजधानीमा पनि राम–जानकी विवाह

विवाह पञ्चमीमा जनकपुर जान नपाएकाहरू राजधानीमै राम–जानकी विवाह हेर्न पाएर खुसी भएका थिए । बुधबार साँझ विवाह हेर्नेको भीड लागेको थियो । यही भीडमा थिइन्, रूपन्देही कृष्णनगरकी आशा मिश्रा । उनीसँगै बसेकी युवतीलाई अवधी भाषामा आफू दुलाहापट्टिको भनेर दाबी गर्दै थिइन् ।


‘मेरो घर रामको राज्य अयोध्या नजिकै पर्छ,’ उनले भनिन्, ‘हामी अवधी भाषा बोल्छौँ । हाम्रो त भाषा पनि मिल्छ ।’ मण्डपमा सीता र रामका रूपमा सिंगारिएर बसेका नौ वर्षीया रुवि झा र १० वर्षका उमेश यादवलाई हेर्दै उनले साक्षात सीता–राम धर्तीमा झरेको अनुभव भएको सुनाइन् । आशाले आफ्नोतिर मन्दिरमा मनाइने विवाह पञ्चमी यहाँ खुला चौरमा मनाएको देख्दा रमाइलो लागेको बताइन् ।


७६ वर्षीय चन्द्र श्रेष्ठ पनि विवाह हेर्न लौरो टेक्दै सबेरै आइपुगेका थिए । भाषा नबुझे पनि रमाइलो लागेको श्रेष्ठको प्रतिक्रिया थियो । बिहानै रथ आएसँगै विवाहस्थल पुगेका थिए उनी । ‘भजन मण्डलसँगै घर भएकाले कार्यक्रम हुने थाहा थियो । भाषा नबुझे पनि रमाइलो लागिरहेको छ,’ उनले भने । मैथिली भाषाका भजन र गीत गुञ्जिँदा उनीसँगै अन्य ज्येष्ठ नागरिक पनि रमाए ।


महोत्सव हेर्न युवायुवती पनि त्रिपालभित्र पसेका थिए । थापाथली क्याम्पसकी अस्मिता झा कक्षा सकेर कार्यक्रम हेर्न पुगेकी थिइन् । जनकपुरकी स्थायी बासिन्दा भए पनि काठमाडौं बस्दै आएकी उनले कहिल्यै महोत्सव हेरेकी थिइनन् । ‘राम्रै छ, पहिलोपल्छ हेरेकी हुँ,’ मटकोरको कार्यक्रम सकिएपछि भेटिएकी उनले भनिन् ।


हुन त विवाहको साइत बेलुका आठ बजेतिर थियो । त्यसअघि धनुष तोड्ने र स्वयंवरको कार्यक्रम सम्पन्न भइसकेको थियो । आयोजक महावीर भजन मण्डल कुपण्डोलका तर्फबाट रामदेव यादवले विवाह पञ्चमी राजधानीमा मनाउने इच्छा देखाएका थिए । ‘मिथिला केवल जनकपुर होइन । गंगा नदी, हिमालय, गण्डकी र कोसीबीचका सबै मैथिल हुन्,’ यादवले भने, ‘सीता केवल जनकपुरकी छोरी होइनन्, नेपालकै छोरी हुन् । त्यसैले राजधानीमा पनि किन नमनाउने भन्ने लागेर आयोजना गर्‍यौं ।’ राजधानीमा यस्तो विवाह महोत्सव पहिलोपल्ट मनाइएको उनको दाबी छ ।


धनुषाधाम काशीपुर घर भई राजधानी बस्दै आएका उनले जनप्रतिनिधि र नेवारी समुदायको सहयोगले हौसला बढाएकामा खुसी व्यक्त गरे । ललितपुर १ का वडाध्यक्षले सहयोग गरे । विष्णुभगत तण्डुकार जानकीका पिता बने । विष्णुमती र वाग्मतीको दोभानलाई पवित्र मानेर साँझ ५ बजे मटकोर कार्यक्रम मनाइएको यादवले बताए ।


मैथिल विवाह संस्कृतिमा अंकुरित चना, चामल, सख्खर, सिन्दुर र तेलले भूमिलाई पुज्ने गरिन्छ । ‘स्वयंवर त धनुष टुट्नेबित्तिकै भयो । जन्ती अयोध्याबाट नआए पनि त्यसलाई सांकेतिक रूपमा देखायौं,’ उनले भने, ‘परिछन्, कन्यादान लगायतका विधि पनि गर्‍यौं ।’


साइत पर्खंदै गर्दाको समय सदुपयोग गर्दै नेपाली र भोजपुरी गीतमा प्रस्तुति दिइएको थियो । जनकपुरबाट आएको यसै समूहका थिए गायक सुनील पाल । ‘हिजो यसै कार्यक्रमका लागि भनेर आएका हौं । विवाह पछि फर्किन्छौं,’ उनले भने । विवाहका विधिपिच्छेका गीत गाउन उनीहरूको टोली राजधानी आएको हो ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?