३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

महानगर सफाइमा हरेक शनिबार ब्रुमर प्रयाेग

सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी
विद्या राई

काठमाडौँ — धूलोधूवाँ र फोहोर काठमाडौंको मुख्य समस्या । महानगरको एउटै लक्ष्य ‘नो मास्क सिटी’ । महानगरले विभिन्न स्थानमा ‘ग्रिनरी मेन्टेन’ गर्ने, ‘आइल्याड’ बनाएर पानी हाल्ने काम गर्दै आएको पनि हो ।

महानगर सफाइमा हरेक शनिबार ब्रुमर प्रयाेग

त्यतिले मात्रै कुरूप महानगरको सौन्दर्य फेर्न नसक्ने भएपछि पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी आफैं सरसफाइमा जुटेका छन् ।

उनीहरू हरेक शनिबार बिहान झाडु, डस्टबिन, बेल्चा, ब्रुमर, जेट मेसिन, गाडी लिएर रत्नपार्कमा जम्मा हुन्छन् । सडक सफाइ गर्दै विभिन्न स्थानमा पुग्छन् । नियमित सफाइमा सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालाले पनि साथ दिँदै आएका छन् ।

गत कात्तिक २९ गते सहरी व्यवस्थापनका लागि विकास साझेदारसँग गरेको प्राविधिक सल्लाहपछि महानगरले सडक नालीमा बनाइएका अनावश्यक र्‍याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र जेट मेसिनले पखाल्ने काम गर्दै आएको छ ।

मेयर शाक्यले अभियानको औपचारिक उद्घाटन गरेका थिए । रत्नपार्कबाट सुरु भएको सडक सफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो भने दोस्रो हप्ता पनि यही रुटमा सफाइ भएको थियो ।

तेस्रो हप्ता रत्नपार्कबाट सुरु भएर जमल हुँदै महाराजगन्जसम्म सफाइ गरेको छ । हरेक हप्ता छुट्टाछुट्टै सडक खण्डमा सफाइ गर्दै जाने कार्यक्रम छ । जुन कार्यक्रम रत्नपार्कबाटै सुरु हुन्छ । महानगरले सडकमा धूलो उठाउन थप सहजताका लागि पाँच ओटा बु्रमर खरिद प्रक्रियालाई अघि बढाएको छ ।

महानगरलाई धूलोधूवाँमुक्त बनाउन नसकेसम्म अभियानले निरन्तरता पाउने मेयर विद्यासुन्दर शाक्यको दाबी छ । ‘अभियान जारी रहन्छ, महानगरलाई चाँडै नै सफा र सुन्दर सहर बनाउने छौं,’ उनले प्रतिबद्धता जनाए ।

महानगरसँगै विभिन्न संघ–संस्थाले अलग–अलग रूपमा सफाइ अभियान सञ्चालन गर्दै आएका छन् । कतिपय ठाउँमा महानगर आफैंले सफाइ गर्छ । कतिपय ठाउँमा सडक विभागले । उपमेयर हरिप्रभा खड्गी सफाइलाई महानगरको विशेष अभियान भएकाले महानगरवासीहरू पनि सचेत हुनुपर्ने बताउँछिन् । ‘जनप्रतिनिधिलाई जिताएर पठाएको भनेर जनता चुपचाप बस्न भएन, आफ्नो तहतप्काबाट सचेत भयो भने महानगरलाई धुलोमुक्त बनाउन समय लाग्दैन,’ उनले भनिन् ।

महानगरको अस्तव्यस्त, कुरूप र दुर्गन्धित अवस्थालाई सुधार्नका लागि वातावरण व्यवस्थापन विभागले विशेष योजनाहरू बनाएको छ । विभागका प्रमुख हरि कुँवरका अनुसार महानगरभित्र हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण र संरक्षण गर्ने योजना छ । अव्यवस्थित तार तथा पोल र खानेपानीका पाइप व्यवस्थापन चाँडै सुरु गर्दै छ ।

सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्ने, सडक मर्मत तथा मार्किङ गर्ने, ट्राफिक व्यवस्थापन गर्ने योजना छन् । यसका लागि सडक विभाग, टेलिकम, विद्युत्, मेलम्ची खानेपानी आयोजना, नेपाल प्रहरी, सशस्त्र, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने कुँवरले बताए ।

महानगरमा प्रदूषण बढ्नुको मुख्य कारण भनेकै सडक तथा पूर्वाधार निर्माण छन् । भूकम्पका कारण जीर्ण संरचनाको पुनर्निर्माण, मेलम्ची खानेपानी आयोजना, कलंकी सडक विस्तार समयमा सम्पन्न नहुँदा महानगरबासीलाई धूलोधूवाँको सास्ती छ ।

यसैगरी महानगरभित्र छिर्ने सवारीसाधनहरूसँगै भित्रने धूलोधूवाँले पनि महानगरमा प्रदूषण बढाउँदै गएको छ । सरोकारवालाहरू कारणहरू पहिचान गर्दै समाधानका लागि जागरुक भए चालु आर्थिक वर्षको अन्त्यसम्ममा सफा र सुन्दर महानगर बनाउन सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

यसका लागि महानगर, प्रदेश सरकार र नेपाल सरकारको सहकार्य महत्त्वपूर्ण हुन्छ । सडक निर्माणका कार्यले प्रदूषण हुनमा सहयोग पुगेकाले सडक कालोपत्रेका कार्यहरू चाँडै सम्पन्न गर्नुपर्ने उनी बताउँछन् ।

राजमार्ग सफाइ गरेर चिटिक्क पारे पनि शाखा कच्ची सडकहरूले गर्दा धूवाँधूलोको मात्रा उस्तै हुन्छ ।

धूलोको स्रोतलाई नै बन्द गर्नका लागि महानगरका सबै सडक कालोपत्रे गर्न जरुरी रहेको बताउँदै मन्त्री महासेठले भने, ‘सडक व्यवस्थापनमा भौतिक पूर्वाधार सहयोग गर्न तयार छ, भौतिक पूर्वाधार मन्त्रालय र महानगरपालिका मिलेर समयमै काम गर्ने प्रतिबद्धता गर्‍यौं भने असम्भव केही छैन ।’

विकसित देशहरूमा जस्तै कलंकी तथा साँखुबाट छिर्ने सवारीसाधनहरूलाई नाकामै धोइपखाली गर्ने चलन प्रयोगमा ल्याउनुपर्ने बताउँछन् । यसबारे महानगरले वार्षिक नीति तथा कार्यक्रम पनि बनाएको छ । जनप्रतिनिधि पाएको १८ महिनापछि भए पनि धूलोधूवाँको सास्ती सम्बोधन भएकोमा महानगरबासी पनि खुसी भएका छन् । ‘जनप्रतिनिधिबाट विकास र निकासका थुप्रै सपना बुनेका छाैं, सरसफाइजस्तै

वर्षौंदेखिका कुण्ठा सम्बोधन हुँदै जानुपर्छ,’ उनीहरूको भनाइ छ ।

प्रकाशित : मंसिर २६, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?