दुई पोखरीको स्वरूप फेरिँदै

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक दुई पोखरी संरक्षण तथा पुनर्निर्माण थालेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरको रूपमा परिणत दुई पोखरी संरक्षणका लागि उपभोक्ता समिति गठन गरी कार्य प्रारम्भ गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

दुई पोखरी संरक्षणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । पोखरी संरक्षणका गर्न स्थानीय नीरञ्जन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

आकाशेपानीलाई प्रशोधन गरी मध्यपुर थिमि–४ को ऐतिहासिक दुई पोखरीमा पानी भर्ने प्रस्तावअनुरूप पुनर्निर्माण सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।

दुई पोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इस्टिमेट तयार गरेको छ । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा दुई पोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए ।

हाल पोखरी वरिपरि ६ वटा फल्चा अवस्थित छ । करिब ३ सय वर्ष पहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ । कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो ।

बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविद्हरू बताउँछन् । दुई पोखरीमा बोडेको कमलपोखरी रयाता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो ।

२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठ बताउँछन् । बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन ।

‘गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन,’ स्थानीय गणेशनारायण श्रेष्ठले भने, ‘मध्यपुर थिमि नगरपालिका भएपछि वास्ता गर्न छाड्यो र पोखरी मासियो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले सुक्यो ।’ ०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेन ।

मध्यपुरवासीले दुई पोखरी सुधार समिति नै गठन गरी पटक/पटक संरक्षण प्रयास गर्दै आएका छन् । मध्यपुर थिमि बालुवाको थुम्कोका रूपमा पनि चिनिन्छ । बालुवा भएको ठाउँमा पानी जोगाउन मुस्किल हुने स्थानीय बताउँछन् ।

पोखरीमा पानी बचाउन पहिलेकै मुहान पत्ता लगाउनुपर्ने र नगरपालिकाले पोखरीको पूर्ण संरक्षण गर्न एकमुष्ट रकमछुट्याउन आवश्यक रहेको स्थानीयको सुझाव छ । मध्यपुर थिमि–१२ याता क्षेत्रमा करिब २० वटा इनार छन् । इनारहरूको मुख्य स्रोत पनि दुई पोखरी नै भएको स्थानीय एवं दुई पोखरी अनुगमन समिति संयोजक बालकृष्ण पात्य श्रेष्ठले बताए ।

पोखरीमा पानी सुक्न थालेपछि इनारमा पनि पानी सुक्दै गएको छ । नगरपालिकाले दुई पोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शन स्थल निर्माण गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । इनायटोलदेखि दिगु भैरव मन्दिरसम्म पैदलमार्ग निर्माण गरी ठूला सवारी निषेध गर्ने विषयमा छलफल भइरहेको समेत उनले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

माझखण्डमा छैन खानेपानी 

प्रशान्त माली

ललितपुर — माझखण्डका ५२ वर्षीय लवाङ दोर्जे बोम्जनको १८ रोपनी बारी छ । उनका डेढ वर्षअघि दुबई उडेका छोरा २७ वर्षीय वाङग्याल छुट्टीमा आएका छन् । उनी र श्रीमती मानकुमारी छोरालाई गाउँमै तरकारी, च्याउ खेती गराउन चाहन्छन् ।

इकुडोल माझखण्डमा खानेपानीका लागि वर्षाको पानी संकलन गर्न बनाइएको पोखरी ।तस्बिर : प्रशान्त

बीए फिजिक्समा गरेका वाङग्याल पनि आमाबुवाको सपना साकार पार्न चाहन्छन् । उनको परिवारसँग व्यावसायिक कृषि गर्न पैसा पनि छ । तर खानेपानीको हाहाकारका कारण उनीहरूको सपना अधुरो छ ।

पूर्वइकुडोल गाविस उपाध्यक्षसमेत रहेका लवाङ भन्छन्, ‘दक्षिणी दुर्गम पहाडी भेगको विकास कृषि र पर्यटनले मात्र सम्भव छ । चिसो हावापानीका कारण गर्मी मौसममा पनि च्याउ खेती गर्न सकिन्छ । खानेपानीका स्रोत खोलानाला प्रशस्त छन् । तर भौगोलिक विकटताका कारण खोलाको पानी गाउँसम्म ल्याउन सकेको छैन ।’

उनले खानेपानी समस्या नभएको भए गाउँमै इलम गरेर प्रशस्त आम्दानी गर्न सकिने बताए । चुच्चे करेला सुकाउँदै गरेको अवस्थामा भेटिएका उनको परिवारले समस्या समाधान गर्न केन्द्रीय सरकारले नै योजना बनाउनुपर्ने बताए । वाङग्याल भन्छन्, ‘बुखेल, इकुडोलको मुहानको पानी बर्खामा मात्र पुग्छ । हिउँदमा पुग्दैन ।’ उनका अनुसार तरकारी उत्पादन हुने समय माघदेखिजेठसम्म हो । ‘त्यही बेला बस्तुभाउलाई समेत खुवाउन पुग्दैन,’ उनले भने, ‘यसले मनोबल गिर्ने गरेको छ ।’

दक्षिणी भेगमा आलु पलाउन बीउ राख्न पर्दैन । प्रत्येक वर्ष त्यसै फल्छ । लेकको आलु व्यावसायिक रूपमा उत्पादन गरेर बिक्री गर्न सक्ने प्रचुर सम्भावना छ । खानेपानी समस्या मात्र नभई बर्खामा गाडी नचल्ने भएकाले बजारसम्म पुर्‍याउन समस्या हुने गरेको गाउँलेको भनाइ छ । माझखण्डमा दैनिक एउटा मात्र सार्वजनिक यातायात गुड्छ ।

४८ वर्षीय कर्साङ लामाको १८ रोपनी पाखो जमिन छ । उनी पनि परिवारसँग मिलेर च्याउ खेती गर्न चाहन्छन् । खेती गर्न ६ जनाको जनशक्ति पनि छ । खानेपानीको समस्याका कारण उनले पनि आँट गर्न सकेका छैनन् ।

भन्छन्, ‘खानेपानी पर्याप्त भएमा ३ लाख ऋण लिएर लगानी गर्थें ।’ उनले अहिले तोरी, मकै, गहँु, फापर बिक्री गरेर वार्षिक ५० हजार रुपैयाँ कमाउँदै आएका छन् । डन्डुप बोम्जनको समस्या पनि उस्तै छ । यी प्रतिनिधि पात्र मात्र हुन् । माझखण्डमा डेढ सय घरधुरी छन् । अधिकांश युवा गाउँमै कृषि र पर्यटनमा व्यवसायीकरण गर्न चाहन्छन् । पानीको हाहाकारका कारण कसैले लगानी गर्न सकेका छैनन् ।

दक्षिणबाट दैनिक लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठूलादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजार आउँछ । अफसिजनमा ९ हजार किलो ।

भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफसिजनमा ९ हजार किलोसम्मतरकारी आउँछ । दक्षिणमा करिब ६० प्रतिशत कृषक दुग्ध र तरकारी व्यवसायमा आबद्ध छन् ।

खानेपानी हाहाकार भएको माझखण्ड उदाहरण मात्र हो । माझखण्डको पश्चिम उत्तरतर्फ प्युटारको सिम्ले गाउँ छ । यहाँ पनि पानीको समस्या उच्च छ । यहाँका गाउँले लुगा धुन, गाईबस्तुलाई पानी खुवाउन घन्टौं हिँडेर खानी खोलासम्म धाउन बाध्य छन् ।

शारदा शिक्षा सदन माविका पूर्वप्रिन्सिपल प्रकाश श्रेष्ठ भन्छन्, ‘गाउँलेबीच मुहानमा पालो थाप्न झगडासमेत हुने गरेको छ ।’ उनका अनुसार गाउँमा दातृ निकायका गाडी घुमिरहेका हुन्छन् । सहयोगमा केही पाइप दिन्छन् । तर, समस्या उस्तै छ ।’ व्यावसायिक रूपमा तरकारी खेती हुने दक्षिणका गाउँ अहिले सुक्खा छन् । ठाउँ ठाउँमा वर्षाको पानी संकलन गर्न कृतिम पोखरी बनाइएको छ ।

देवीचौरवासीको पानीको मुख्य स्रोत ओखरधारा मुहान हो । यो मुहानको पानी ६० घरधुरीले उपभोग गर्छन् । पर्याप्त नहुँदा गाउँले रेसा बारीका लागि मुख धोएको, भाँडा पखालेको पानी, गाईबस्तुको मलमूत्र जम्मा गरेर वितरण गर्ने गरिएको छ । भट्टेडाँडामा समस्या पनि उस्तै छ । खानेपानी समस्या समाधान गर्न सांसद कोषबाट ५० लाख बजेट परेको छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्