कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माझखण्डमा छैन खानेपानी 

प्रशान्त माली

ललितपुर — माझखण्डका ५२ वर्षीय लवाङ दोर्जे बोम्जनको १८ रोपनी बारी छ । उनका डेढ वर्षअघि दुबई उडेका छोरा २७ वर्षीय वाङग्याल छुट्टीमा आएका छन् । उनी र श्रीमती मानकुमारी छोरालाई गाउँमै तरकारी, च्याउ खेती गराउन चाहन्छन् ।

माझखण्डमा छैन खानेपानी 

बीए फिजिक्समा गरेका वाङग्याल पनि आमाबुवाको सपना साकार पार्न चाहन्छन् । उनको परिवारसँग व्यावसायिक कृषि गर्न पैसा पनि छ । तर खानेपानीको हाहाकारका कारण उनीहरूको सपना अधुरो छ ।


पूर्वइकुडोल गाविस उपाध्यक्षसमेत रहेका लवाङ भन्छन्, ‘दक्षिणी दुर्गम पहाडी भेगको विकास कृषि र पर्यटनले मात्र सम्भव छ । चिसो हावापानीका कारण गर्मी मौसममा पनि च्याउ खेती गर्न सकिन्छ । खानेपानीका स्रोत खोलानाला प्रशस्त छन् । तर भौगोलिक विकटताका कारण खोलाको पानी गाउँसम्म ल्याउन सकेको छैन ।’


उनले खानेपानी समस्या नभएको भए गाउँमै इलम गरेर प्रशस्त आम्दानी गर्न सकिने बताए । चुच्चे करेला सुकाउँदै गरेको अवस्थामा भेटिएका उनको परिवारले समस्या समाधान गर्न केन्द्रीय सरकारले नै योजना बनाउनुपर्ने बताए । वाङग्याल भन्छन्, ‘बुखेल, इकुडोलको मुहानको पानी बर्खामा मात्र पुग्छ । हिउँदमा पुग्दैन ।’ उनका अनुसार तरकारी उत्पादन हुने समय माघदेखि जेठसम्म हो । ‘त्यही बेला बस्तुभाउलाई समेत खुवाउन पुग्दैन,’ उनले भने, ‘यसले मनोबल गिर्ने गरेको छ ।’


दक्षिणी भेगमा आलु पलाउन बीउ राख्न पर्दैन । प्रत्येक वर्ष त्यसै फल्छ । लेकको आलु व्यावसायिक रूपमा उत्पादन गरेर बिक्री गर्न सक्ने प्रचुर सम्भावना छ । खानेपानी समस्या मात्र नभई बर्खामा गाडी नचल्ने भएकाले बजारसम्म पुर्‍याउन समस्या हुने गरेको गाउँलेको भनाइ छ । माझखण्डमा दैनिक एउटा मात्र सार्वजनिक यातायात गुड्छ ।


४८ वर्षीय कर्साङ लामाको १८ रोपनी पाखो जमिन छ । उनी पनि परिवारसँग मिलेर च्याउ खेती गर्न चाहन्छन् । खेती गर्न ६ जनाको जनशक्ति पनि छ । खानेपानीको समस्याका कारण उनले पनि आँट गर्न सकेका छैनन् ।


भन्छन्, ‘खानेपानी पर्याप्त भएमा ३ लाख ऋण लिएर लगानी गर्थें ।’ उनले अहिले तोरी, मकै, गहँु, फापर बिक्री गरेर वार्षिक ५० हजार रुपैयाँ कमाउँदै आएका छन् । डन्डुप बोम्जनको समस्या पनि उस्तै छ । यी प्रतिनिधि पात्र मात्र हुन् । माझखण्डमा डेढ सय घरधुरी छन् । अधिकांश युवा गाउँमै कृषि र पर्यटनमा व्यवसायीकरण गर्न चाहन्छन् । पानीको हाहाकारका कारण कसैले लगानी गर्न सकेका छैनन् ।


दक्षिणबाट दैनिक लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठूलादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजार आउँछ । अफसिजनमा ९ हजार किलो ।


भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफसिजनमा ९ हजार किलोसम्म तरकारी आउँछ । दक्षिणमा करिब ६० प्रतिशत कृषक दुग्ध र तरकारी व्यवसायमा आबद्ध छन् ।


खानेपानी हाहाकार भएको माझखण्ड उदाहरण मात्र हो । माझखण्डको पश्चिम उत्तरतर्फ प्युटारको सिम्ले गाउँ छ । यहाँ पनि पानीको समस्या उच्च छ । यहाँका गाउँले लुगा धुन, गाईबस्तुलाई पानी खुवाउन घन्टौं हिँडेर खानी खोलासम्म धाउन बाध्य छन् ।


शारदा शिक्षा सदन माविका पूर्वप्रिन्सिपल प्रकाश श्रेष्ठ भन्छन्, ‘गाउँलेबीच मुहानमा पालो थाप्न झगडासमेत हुने गरेको छ ।’ उनका अनुसार गाउँमा दातृ निकायका गाडी घुमिरहेका हुन्छन् । सहयोगमा केही पाइप दिन्छन् । तर, समस्या उस्तै छ ।’ व्यावसायिक रूपमा तरकारी खेती हुने दक्षिणका गाउँ अहिले सुक्खा छन् । ठाउँ ठाउँमा वर्षाको पानी संकलन गर्न कृतिम पोखरी बनाइएको छ ।


देवीचौरवासीको पानीको मुख्य स्रोत ओखरधारा मुहान हो । यो मुहानको पानी ६० घरधुरीले उपभोग गर्छन् । पर्याप्त नहुँदा गाउँले रेसा बारीका लागि मुख धोएको, भाँडा पखालेको पानी, गाईबस्तुको मलमूत्र जम्मा गरेर वितरण गर्ने गरिएको छ । भट्टेडाँडामा समस्या पनि उस्तै छ । खानेपानी समस्या समाधान गर्न सांसद कोषबाट ५० लाख बजेट परेको छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?