१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बनेन कुमारी सिंहासन

ललितपुर — नेवार संस्कार अनुसार कुमारीलाई तलेजु भवानी देवीको प्रतीकका रूपमा लिइन्छ । अहिले पाटनमा ५ वर्षीया निहिरा बज्राचार्य कुमारीमा रूपमा छिन् ।

बनेन कुमारी सिंहासन

कुमारीका रूपमा रहेसम्म तोकिएको पूजापर्वबाहेक अन्य बेला घरबाहिर घुमफिर गर्न मिल्दैन । रातोबाहेक अन्य रङको लुगा लगाउन मिल्दैन ।


दैनिक सिंहासनमा राखेर पूजा गर्नुपर्ने परम्परा छ । कुमारीलाई देवी शक्ति प्राप्त हुने विश्वासले पूजा गर्न आउनेको भीड हुने गर्छ । यसले गर्दा धेरै समयसम्म सिंहासनमा बस्नुपर्छ । तर, पाटनमा कुमारीको सिंहासन भने बिग्रेको छ ।


कुमारीका बुवा निरोज भन्छन्, ‘पुरानो बिग्रेको सिंहासनमा काठको चुकुल समेत छैन । पानी पनि चुहिन्छ । यसले दैनिक नृत्य र बेलुका आरती पूजा गर्न मात्र नभई भक्तजनलाई समेत पूजा गर्न समस्या छ ।’


कुमारी निहिराअघि २०७० देखि २०७४ माघ २१ सम्म पाटनकै युनिका बज्राचार्य कुमारीका रूपमा थिइन् । निहिरा नियुक्त भएदेखि उनी बिग्रेको सिंहासन र छत्र बनाउन लागिपरेका थिए । निरोज भन्छन्, ‘छत्र बनाउन ४ लाख रुपैयाँ खर्च भयो । गुठी संस्थान ललितपुर शाखा कार्यालयबाट ७५ हजार, अक्षयस्वर महाविहारबाट केही रकम सहयोग प्राप्त भयो । बाँकी सिङ, गजुर र मूर्ति आफ्नै खर्चमा राखे ।’


उनका अनुसार सिंहासन मर्मत गर्न ललितपुर महानगरमा डेढ लाखको बजेट पेस गरेको छु । ‘१६ नम्बर वडा कार्यालयबाट केही सहयोग प्राप्त भयो,’ उनले भने । ललितपुरमा कुमारीको पालपोषण गर्न चिताइदारको व्यवस्था छैन ।


स्याहारसुसार, कुमारी घरमै पढाउन र उपचार गर्न अपुग रकम व्यवस्था अभिभावक आफैंले गर्नुपर्छ । पूर्वकुमारी युनिकाको पालादेखि कुमारीलाई रत्नाकर महाविहारस्थित कुमारी घरमा राख्ने व्यवस्था मिलाइएको थियो । युनिकाअघिका कुमारीहरू आ–आफ्नै घरमा राख्ने गर्दथे । कुमारीका लागि सधै चोखो गर्नुपर्ने र संयुक्त परिवारमा गाह्रो पर्ने गरेकाले महाविहारमा व्यवस्थापन गरिएको थियो ।


‘कुमारीका लागि भेटघाट, पूजा र सुत्ने गरी कम्तीमा तीनवटा कोठा आवश्यक पर्छ,’ निरोजले भने,

‘कुमारी घरलाई थप व्यवस्थित गर्दै लैजानुपर्छ ।’ विश्वमै अनौठो मानिने यो परम्परा नेपाली समाजमा हिन्दु र बौद्ध सम्प्रदायका बीचमा विद्यमान धार्मिक सहिष्णुताको उच्चतम नमुना हो ।


तर, कुमारीलाई स्याहारसुसार गर्दैमा घरका अभिभावकले अन्य काम गर्न भ्याउँदैनन् । पहिला कुमारी बन्न प्रतिस्पर्धा हुन्थ्यो । अहिले अभिभावक आफ्ना छोरीलाई कुमारी बनाउन नरुचाउने गरेको तलेजुका पुजारी निरण राजोपाध्याय बताउँछन् ।


तलेजुका पुजारीले कुमारीको छनोट ह:ख बहालस्थित रत्नाकर महाविहारमा आबद्ध बज्राचार्य कुलका पुत्रीहरूमध्येबाट ३२ लक्षणयुक्त कन्यालाई गर्ने परम्परा छ । कुमारी प्रथाको विरुद्धमा २०६६ मा पुनदेवी महर्जनले बालबालिका र महिलासम्बन्धी अधिकार हनन भएको विषय उठाई सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । महर्जनको विरुद्धमा कुमारी परम्परामा केही सुधार गर्नुपर्ने भए पनि परम्परा नै अन्त्य गर्न नहुने भन्दै प्राध्यापक चुन्दा बज्राचार्यले अर्को रिट दायर गरेका थिए ।


सर्वोच्चले कुमारी संस्कृतिको अन्त्य गर्ने नभई समयानुकूल सुधार गर्दै लैजान वाञ्छनीय देखिएको भनी संस्कृति मन्त्रालयको नाममा आदेश जारी गरेको थियो । त्यतिबेला सर्वोच्चले कुमारीको विद्यमान अवस्थाको पुनरावलोकन गरी हकहित, आर्थिक र सामाजिक सुरक्षा अभिवृद्धि गर्न निर्देशन दिएको थियो ।


पुजारी राजोपाध्यायले यसलाई कार्यान्वय गर्न तलेजु, रत्नाकर महाविहार, पूर्वकुमारी र सम्बन्धित सरकारी निकाय मिलेर संस्थागत रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘यसतर्फ कसैको ध्यान गएको छैन,’ उनले भने, ‘नत्र बकनिम्ह टोलको कुमारी र मिँखा बहालको सोनिम कुमारी जस्तै लोप हुन बेर छैन ।’ शिवकी शक्ति पार्वतीका अनेकौं नामहरूमध्ये कुमारी पनि एक हो । तैतरीय आरण्यकमा उनलाई कन्याकुमारी भनेर भनिएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?