गुरुयोजना बनाउँदै नमुना विद्यालय

गणेश राई

काठमाडौँ — राजधानीको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय नमुना बन्ने क्रममा छ । शिक्षा मन्त्रालयले ‘नमुना विद्यालय’ घोषणा गरेपछि विश्व निकेतनले आफ्नो शैक्षिक गुणस्तर सुधार गर्ने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले समग्र शैक्षिक नतिजाका आधारमा २०७४ र २०७५ सालको सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रूपमा गत भदौमा पुरस्कृत गरेको हो ।


नमुना विद्यालय घोषणासँगै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्य तथा शिक्षक यतिखेर ‘नमुना विद्यालय गुरुयोजना–२०७५’ निर्माणमा जुटेका छन् । ‘हामी गुरुयोजना निर्माणको अन्तिम चरणमा छौं,’ प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, ‘पठनपाठन, भौतिक पूर्वाधार, बाह्य र आन्तरिक वातावरण व्यवस्थापन, सिकाइको तौरतरिका, विद्यार्थी प्रतिभा पहिचान, शैक्षिक सामग्री, शिक्षक र अभिभावकमैत्री वातावरणजस्ता तीसवटा कम्पोनेन्टलाई शीर्षकअनुसार प्राथमिकीकरण गरेका छौं ।’


विद्यालयमा शिशुदेखि १२ कक्षासम्म २ हजार ६ सय ३० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ को पठनपाठन बिहानी सत्रमा हुन्छ भने कक्षा १० सम्म दिउँसो । ९५ शिक्षक तथा १५ कर्मचारी छन् । विद्यालय सडक छेउमै रहेकाले विद्यार्थीलाई बसको व्यवस्था गरिएको छैन । चालू शैक्षिक सत्रमा ४ सय विद्यार्थी थपिए । तीमध्ये ३सय ६० निजी विद्यालयबाट आएको प्रधानाध्यापकले जनाए ।


यसरी विद्यार्थी ओइरिनुको कारण अंग्रेजी माध्यमबाट पढाइनु, कार्यरत शिक्षक कर्मचारीले आफ्नो छोराछोरीलाई यहीँ पढाउनु, चुस्त र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई लिइएको छ । शिक्षकले दैनिक १०:४० बजे डिजिटल हाजिरगर्ने र ४:४५ बजेट छुट्ने व्यवस्था छ भनेविद्यार्थी क्रियाकलाप नियाल्न सीसीक्यामेरा राखिएका छन् । यस विद्यालयमा काठमाडौंका स्थानीय नेवार जातिका छोराछोरी भने करिब १० प्रतिशत रहेको प्रधानाध्यापक कँडेल बताउँछन् ।


विद्यालय हाता व्यवस्थित गरिएको छ । छात्र र छात्रामैत्री शौचालय छन् । खाजा पानीका निम्ति क्यान्टिनको व्यवस्था छ । टीटी, बास्केटबल कोर्ट छन् । भूकम्पपछि फूलबारी हटाएर अस्थायी टहरा निर्माण गरिएका छन् ।


सहायक प्रधानाध्यापक गंगा थापा भूकम्पपछि भौतिक रूपमा बालमैत्री कक्षा बन्न नसकेको बताउँछिन् । ‘खेल्ने ठाउँ कम र खेल सामग्री कमजोर छ,’ सहशिक्षा जारी विद्यालय रहेको उल्लेख गर्दै उनले भनिन्, ‘लैंगिक विभेदबारे विद्यार्थीलाई सचेतना गराउँछौं । त्यसैले समस्या छैन । छात्रा शौचालय, स्यानेटरी समस्या छैन । सरसफाइ र पर्यावरण समितिले व्यवस्थापनगर्दै आएको छ ।’


वि.सं. २००३ माघमा स्थापना भएको विद्यालय मुलुकको पुराना विद्यालयमध्ये एकमा पर्छ । काठमाडौं महानगरपालिका वडा नं.११ त्रिपुरेश्वरस्थित वाग्मती नदीकिनारमा स्थित यो विद्यालय १० रोपनी क्षेत्रफलमा रहेको छ । नदीकिनारमा खेलमैदानसमेत छ ।


भूकम्पले ध्वस्तप्राय: यो विद्यालयका ६ वटा कक्षा अझै अस्थायी टहरामै सुचारु छन् । पुनर्निर्माणका क्रममा विद्यालयको २४ कोठे नयाँ भवन निर्माण अन्तिम चरणमा छ ।


‘भवन निर्माण सम्पन्न भएसँगै गुरुयोजना लागू हुनेछ,’ शिक्षा मन्त्रालयबाट यो वर्ष ‘कुशल प्रधानाध्यापक’ पुरस्कार प्राप्त प्रअ कँडेल भन्छन्, ‘हाम्रो समूह कार्य (टिम वर्क) ले सफलता पाएकोमा आत्मगौरवको अनुभूति भइरहेको छ । हामी कोही हाकिम होइन, सेवकको भावनाले यति गर्न सकेका हौं ।’ आउँदो माघ १९ गते विद्यालयको ७३ औं वार्षिकोत्सव सम्पन्न गर्ने उनले जनाए ।


विश्व निकेतन माविका विद्यार्थीले २००९ सालमा पहिलो पटक एसएलसी दिँदा ११ विद्यार्थी सामेल थिए । गत वर्ष (२०७४ साल) को एसईईमा १ सय ४८ सामेल थिए । जसमा ए प्लस २०, ए ४६, बी प्लस ४५, बी २९ र सी प्लस ८ जना उत्तीर्ण भएका थिए । यो आउँदो चैत १० गतेबाट हुने एसईईमा १ सय ८८ विद्यार्थी सामेल हुनेछन् ।


यसै विद्यालयका पूर्वविद्यार्थी विद्यासुन्दर शाक्य यतिखेर काठमाडौं महानगरपालिकाका मेयर हुन् । प्रसिद्ध शिक्षाविद् केदारभक्त माथेमाले यही विद्यालयबाट २०१५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । पूर्वविद्यार्थी तथा योजना आयोगका पूर्वसदस्य डा. बालगोपाल वैद्यले सहयोग गर्दै आएका छन् । अब पूर्वविद्यार्थीहरूको एल्मुनाईलाई प्रभावकारी ढंगले बढाउने प्रधानाध्यापकले जनाएका छन् ।


शुल्क लिइन्छ

शिक्षा ऐन तथा नियमावलीअनुसार सामुदायिक विद्यालयले कुनै शीर्षकमा शुल्क लिन पाउँदैन । तर, विद्यालय व्यवस्थापन समितिले निर्णय गरेअनुसार विश्व निकेतन माविले विद्यार्थीबाट वार्षिक एकमुष्ट शुल्क असुल्ने गरेको प्रधानाध्यापक कँडेलले जनाए ।


‘कक्षा १ देखि ३ सम्म न्यूनतम १ हजार २ र अधिकतम कक्षा १० मा २ हजार ७ सय २५ रुपैयाँ लिने गरेका छौं,’ उनले भने । त्यसबापत विद्यार्थीलाई वार्षिक पाँच पटक परीक्षा, अतिरिक्त क्रियाकलाप र पुरस्कार व्यवस्थापन, बाह्य प्रतियोगितामा सहभागी गराउने गरिएको उनले जनाए ।


अर्का सहायक प्रधानाध्यापक तथा आर्थिक संयोजक केदारप्रसाद दाहालका अनुसार विद्यालयको वार्षिक खर्च ५ करोड रुपैयाँ हुन्छ । सरकारबाट २ करोड ५० लाख रुपैयाँ जति प्राप्त हुन्छ । कर्मचारी तलब, अतिरिक्त शिक्षक, सुरक्षा गार्ड, लेखा, कार्यालय सहायकलगायतको तलब सुविधा आन्तरिक स्रोतबाट व्यवस्थापन गरिँदै आएको छ ।


गुरुयोजनाका बुँदा

मन्त्रालयले घोषणा गरेको ‘नमुना विद्यालय’ ले पाँच वर्षभित्र १० करोड रुपैयाँ अनुदान पाउनेछन् । त्यसका निम्ति ती विद्यालयलाई आफ्नो योजना तथा कार्यक्रम हुनेछ । जसअनुसार विश्व निकेतन माविले शैक्षिक उपलब्धि दर अभिवृद्धि योजना निर्माण गरेको छ ।


गृहकार्य, कक्षाकार्यमा विस्तार र सुधार, बालमैत्री सिकाइका लागि कक्षाकोठा सजावट र सिकाइ वातावरण विकास, आधुनिक शिक्षण विधि र प्रविधिको प्रयोगलाई जोड दिएको छ ।


त्यसैगरी आन्तरिक सक्षमता स्थितिमा सुधार, अनुगमन निरीक्षण सुदृढीकरण, शिक्षक र विद्यार्थी उपस्थितिमा अभिवृद्धि, ई–लाइब्रेरी स्थापना र सबलीकरण, खेलकुद सामग्री व्यवस्थापन र सिकाइ सहायता, शिक्षक तालिम तथा क्षमता विकास गर्ने भनेको छ ।


निरन्तर मूल्यांकन पद्धति र निर्माणात्मक मूल्यांकन पद्धति सुधार, आईसीटी प्रयोगशाला स्थापना र सबलीकरण, विषयगत प्रयोगशाला स्थापना गरिनेछ । अभिभावक शिक्षा एवं क्षमता विकास, शिक्षक र विद्यार्थीकेन्द्रित परियोजना कार्य, शैक्षिक अध्ययन, क्षेत्र भ्रमण, शिक्षक र विद्यार्थी प्रोत्साहन, परीक्षा व्यवस्थापन र सञ्चालन गर्ने उल्लेख छ ।

गुरुयोजनाले स्थानीय ज्ञान र सीपमा आधारित सिकाइका लागि स्थानीय पाठ्यक्रम निर्माण र प्रयोग, संगीत, नृत्य, अभिनय र प्राज्ञिक जस्ता विषयगत प्रतिभा पहिचानका कार्यक्रम गर्ने भनिएको छ । बाह्य शिक्षण संस्थासँग समन्वय र सहकार्य, छात्रवृत्ति व्यवस्थापन र वितरण, शैक्षिक अनुसन्धान तथा उन्नयन तथा प्राविधिक धारतर्फको कक्षा सञ्चालन गर्ने उल्लेख छ । प्रकाशित : मंसिर १४, २०७५ ०७:५९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बद्रीनाथ पुरानै शैलीमा

कान्तिपुर संवाददाता

भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले बद्रीनाथ मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरेको छ ।

भूकम्पपछि पुनर्निर्मित भक्तपुरस्थित बद्रीनाथ मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

१९९० सालको भूकम्पका कारण भत्किएको भक्तपुर दरबार स्क्वायर परिसरको मल्लकालीन मन्दिरलाई विभागले करिब ८४ वर्षपछि भूकम्पअघिकै स्वरूपमा मौलिक शैलीमा निर्माण गरेको छ ।

१९९० को भूकम्पका कारण भत्किएको शिखर शैलीको मन्दिर पुनर्निर्माण गर्दा राणाहरूले छाना छाइदिए । ८ दशकपछि विभागले पुरातात्त्विक प्रमाणका आधारमा आर्थिक वर्ष ०७३/७४ मा मन्दिरको गुमेको स्वरूप फिर्ता ल्याएको हो ।

आउने पुस्तालाई सम्पदा बचाउन अभिप्रेरित गर्न तथा पौराणिक स्वरूपबारे जानकारी दिन बद्रीनाथलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको पुरातत्त्व विभाग भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए ।

मन्दिर पुनर्निर्माणका लागि विभागले करिब ४९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । १० फिट ६ इन्च लम्बाइ र चौडाइका साथै ४१ फिटको उचाइमा पुनर्निर्माण भएको मन्दिरमा इँटा र चुनासुर्कीको जोडाइ छ । मन्दिर पुनर्निर्माणमा परम्परागत निर्माण सामग्री डाँची अपा, मां अपा, चुनासुर्कीको प्रयोग भएको इन्जिनियरश्रेष्ठले जानकारी दिए । पुरातात्त्विक सामग्री उपयोग गरी निर्मित संरचनाले नयाँ पुस्तालाई निर्माण प्रविधिबारे जानकारीसमेत दिने विभागको अपेक्षा छ ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बद्रीनाथ १४ औं शताब्दीमायक्ष मल्लको समयमा बनेको हो । दर्शनका लागि नेपालमण्डलभन्दा टाढा जाननपरोस् भन्दै यक्ष मल्लले दरबार स्क्वायर परिसरमै चारै धाम बनाउन लगाएको डा. श्रेष्ठ बताउँछन् ।

परिसरभित्र नै बद्रीनाथ, केदारनाथ, रामेश्वर र जगन्नाथ मन्दिर छन् । मृणमय अर्थात इँटा नै इँटाले बनेको मन्दिर पुनर्निर्माणसँगै चार धाममध्ये तीनले पूर्णता पाएका छन् । दरबार स्क्वायर परिसरमै अवस्थित चार धाममध्येको जगन्नाथ मन्दिर भने मौलिक शैलीमा पुनर्निर्माण हुन सकेको छैन ।

यद्यपि विभागले जगन्नाथ मन्दिरलाई समेत पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । हाल जगन्नाथ मन्दिरको स्वरूपमा नभई मूर्तिलाई ढाक्ने छानोमुनि राखिएको छ । जगन्नाथ मन्दिरमा नित्यपूजासमेत सञ्चालन भइरहेको इतिहासविद् श्रेष्ठले बताए ।

त्यसैगरी, विभागले दरबार स्क्वायर परिसरकै फसिदेवल (सिलु महादेव) मन्दिरलाई पुरानै शैलीमा पुनर्निर्माण थालेको छ । उक्त मन्दिर ०७२ वैशाखको भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त भयो । १९९० को भूकम्पले ढलेको मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण भयो ।

०७२ वैशाखको भूकम्पपछि विभागले गुम्बज शैलीमा पुनर्निर्माण नगरी विज्ञको सुझाव तथा प्राप्त पुराना प्रमाणका आधारमा मल्लकालीन स्वरूपको शिखर शैलीमा बनाउन लागेको इन्जिनियर श्रेष्ठले बताए । पीडीएनएको बहुवार्षिक योजनाअन्तर्गत पुनर्निर्माण थालिएको उक्त मन्दिरको करिब ४५ प्रतिशत कार्य सम्पन्न भएकोजनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×