बद्रीनाथ पुरानै शैलीमा

कान्तिपुर संवाददाता

भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले बद्रीनाथ मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरेको छ ।

भूकम्पपछि पुनर्निर्मित भक्तपुरस्थित बद्रीनाथ मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

१९९० सालको भूकम्पका कारण भत्किएको भक्तपुर दरबार स्क्वायर परिसरको मल्लकालीन मन्दिरलाई विभागले करिब ८४ वर्षपछि भूकम्पअघिकै स्वरूपमा मौलिक शैलीमा निर्माण गरेको छ ।

१९९० को भूकम्पका कारण भत्किएको शिखर शैलीको मन्दिर पुनर्निर्माण गर्दा राणाहरूले छाना छाइदिए । ८ दशकपछि विभागले पुरातात्त्विक प्रमाणका आधारमा आर्थिक वर्ष ०७३/७४ मा मन्दिरको गुमेको स्वरूप फिर्ता ल्याएको हो ।

आउने पुस्तालाई सम्पदा बचाउन अभिप्रेरित गर्न तथा पौराणिक स्वरूपबारे जानकारी दिन बद्रीनाथलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको पुरातत्त्व विभाग भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए ।

मन्दिर पुनर्निर्माणका लागि विभागले करिब ४९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । १० फिट ६ इन्च लम्बाइ र चौडाइका साथै ४१ फिटको उचाइमा पुनर्निर्माण भएको मन्दिरमा इँटा र चुनासुर्कीको जोडाइ छ । मन्दिर पुनर्निर्माणमा परम्परागत निर्माण सामग्री डाँची अपा, मां अपा, चुनासुर्कीको प्रयोग भएको इन्जिनियरश्रेष्ठले जानकारी दिए । पुरातात्त्विक सामग्री उपयोग गरी निर्मित संरचनाले नयाँ पुस्तालाई निर्माण प्रविधिबारे जानकारीसमेत दिने विभागको अपेक्षा छ ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बद्रीनाथ १४ औं शताब्दीमायक्ष मल्लको समयमा बनेको हो । दर्शनका लागि नेपालमण्डलभन्दा टाढा जाननपरोस् भन्दै यक्ष मल्लले दरबार स्क्वायर परिसरमै चारै धाम बनाउन लगाएको डा. श्रेष्ठ बताउँछन् ।

परिसरभित्र नै बद्रीनाथ, केदारनाथ, रामेश्वर र जगन्नाथ मन्दिर छन् । मृणमय अर्थात इँटा नै इँटाले बनेको मन्दिर पुनर्निर्माणसँगै चार धाममध्ये तीनले पूर्णता पाएका छन् । दरबार स्क्वायर परिसरमै अवस्थित चार धाममध्येको जगन्नाथ मन्दिर भने मौलिक शैलीमा पुनर्निर्माण हुन सकेको छैन ।

यद्यपि विभागले जगन्नाथ मन्दिरलाई समेत पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । हाल जगन्नाथ मन्दिरको स्वरूपमा नभई मूर्तिलाई ढाक्ने छानोमुनि राखिएको छ । जगन्नाथ मन्दिरमा नित्यपूजासमेत सञ्चालन भइरहेको इतिहासविद् श्रेष्ठले बताए ।

त्यसैगरी, विभागले दरबार स्क्वायर परिसरकै फसिदेवल (सिलु महादेव) मन्दिरलाई पुरानै शैलीमा पुनर्निर्माण थालेको छ । उक्त मन्दिर ०७२ वैशाखको भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त भयो । १९९० को भूकम्पले ढलेको मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण भयो ।

०७२ वैशाखको भूकम्पपछि विभागले गुम्बज शैलीमा पुनर्निर्माण नगरी विज्ञको सुझाव तथा प्राप्त पुराना प्रमाणका आधारमा मल्लकालीन स्वरूपको शिखर शैलीमा बनाउन लागेको इन्जिनियर श्रेष्ठले बताए । पीडीएनएको बहुवार्षिक योजनाअन्तर्गत पुनर्निर्माण थालिएको उक्त मन्दिरको करिब ४५ प्रतिशत कार्य सम्पन्न भएकोजनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

साँघुरियो नगरा घर

कान्तिपुर संवाददाता

काठमाडौँ — सरोकारवालाको विरोधको बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाले नगरा घर साँघुर्‍याएर बनाएको छ । घर साँघुरिँदा नगरा बजाउन समस्या भएको नगर्चीले गुनासो गरेका छन् । 

वसन्तपुर दरबार क्षेत्रका देगु तलेजु र कर्णेल चोक मन्दिरका लागि बजाइने नगरा घर साँघुरो बनाइएको हो । मन्दिरमा पूजा गर्नुअघि नगरा बजाउने चलन छ । सुरुमा समस्या सुनाउँदा हुन्छ भने पनि साँघुरो बनाइदिएको नगर्ची वासुदेव परियारले गुनासो गरे ।

नगरा बजाउन २ कोठे घर बनाइएको छ । ठूला नगरा राख्ने २ कोठा भूकम्पले भत्किएको थियो । महानगरले करिब ३७ लाख रुपैयाँमा नगरा घर बनाउन लागेको हो । ‘घर झन्डै डेढ फिट साँघुरो बनाइदिए,’ परियार भन्छन् ।

काठमाडौं महानगरपालिकाले भने घर यसअघि बनाउँदै साँघुर्‍याएको दाबी गरेको छ । २०६९ सालमा महानगरले यसको पुनर्निर्माण गरेको थियो । ‘त्यही बेला मिलाएको भए समस्या हुँदैनथ्यो,’ महानगरका इन्जिनियर कविन्द्र नकर्मी भन्छन्, ‘अहिले हामीले पहिला जुन जगमा थियो, त्यसैमा बनाएका हौं ।’

पहिला निर्माण गर्दा हरिकुमार श्रेष्ठ आयोजना प्रमुख थिए । नगरा घर पछाडि एउटा निजी रेस्टुरेन्ट छ । त्यही रेस्टुरेन्टको अगाडिको भाग खुला होस् भनेर नगरा घर साँघुर्‍याएको परियार दाबी गर्छन् । नकर्मी भने छेउकै वंशगोपाल मन्दिरलाई घुम्न सजिलो होस् भनेर नगरा घर साँघुर्‍याएको दाबी गर्छन् ।

‘पुरानो गारो जस्तो छ, त्यस्तै बनाएका हौं,’ उनी भन्छन्, ‘छेउमा वंशगोपालको पेटी देखियो । फेरि भोलि मन्दिरको पेटी मिचियो भन्लान् भनेर नगरा घर भएतिर साँघुर्‍याइएको हो । उतिबेलै सल्ट्याएको भए
सजिलो हुन्थ्यो ।’

गत वर्षको भुइँचालोमा वंशगोपाल मन्दिरले यो घरलाई थिच्दा फेरि भत्केको थियो । वंशगोपालले थिचेर एक जना प्रहरीको समेत घटनास्थलमै मृत्यु भएको थियो । यो घर पनि विश्व सम्पदा क्षेत्रमा भएकाले यसलाई साँघुर्‍याउन नहुने बताउँछन् सम्पदा संरक्षण संघर्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठ । ‘कोही बोल्दैनन् भनेर महानगरले धमाधम आफ्नै सुरमा काम गर्‍यो,’ उनी भन्छन्,‘यो सम्पदा मास्ने षड्यन्त्र हो । सम्पदा मासिएको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’

प्रकाशित : मंसिर १४, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्