कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

साँघुरियो नगरा घर

काठमाडौँ — सरोकारवालाको विरोधको बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाले नगरा घर साँघुर्‍याएर बनाएको छ । घर साँघुरिँदा नगरा बजाउन समस्या भएको नगर्चीले गुनासो गरेका छन् । 

वसन्तपुर दरबार क्षेत्रका देगु तलेजु र कर्णेल चोक मन्दिरका लागि बजाइने नगरा घर साँघुरो बनाइएको हो । मन्दिरमा पूजा गर्नुअघि नगरा बजाउने चलन छ । सुरुमा समस्या सुनाउँदा हुन्छ भने पनि साँघुरो बनाइदिएको नगर्ची वासुदेव परियारले गुनासो गरे ।


नगरा बजाउन २ कोठे घर बनाइएको छ । ठूला नगरा राख्ने २ कोठा भूकम्पले भत्किएको थियो । महानगरले करिब ३७ लाख रुपैयाँमा नगरा घर बनाउन लागेको हो । ‘घर झन्डै डेढ फिट साँघुरो बनाइदिए,’ परियार भन्छन् ।


काठमाडौं महानगरपालिकाले भने घर यसअघि बनाउँदै साँघुर्‍याएको दाबी गरेको छ । २०६९ सालमा महानगरले यसको पुनर्निर्माण गरेको थियो । ‘त्यही बेला मिलाएको भए समस्या हुँदैनथ्यो,’ महानगरका इन्जिनियर कविन्द्र नकर्मी भन्छन्, ‘अहिले हामीले पहिला जुन जगमा थियो, त्यसैमा बनाएका हौं ।’


पहिला निर्माण गर्दा हरिकुमार श्रेष्ठ आयोजना प्रमुख थिए । नगरा घर पछाडि एउटा निजी रेस्टुरेन्ट छ । त्यही रेस्टुरेन्टको अगाडिको भाग खुला होस् भनेर नगरा घर साँघुर्‍याएको परियार दाबी गर्छन् । नकर्मी भने छेउकै वंशगोपाल मन्दिरलाई घुम्न सजिलो होस् भनेर नगरा घर साँघुर्‍याएको दाबी गर्छन् ।


‘पुरानो गारो जस्तो छ, त्यस्तै बनाएका हौं,’ उनी भन्छन्, ‘छेउमा वंशगोपालको पेटी देखियो । फेरि भोलि मन्दिरको पेटी मिचियो भन्लान् भनेर नगरा घर भएतिर साँघुर्‍याइएको हो । उतिबेलै सल्ट्याएको भए

सजिलो हुन्थ्यो ।’


गत वर्षको भुइँचालोमा वंशगोपाल मन्दिरले यो घरलाई थिच्दा फेरि भत्केको थियो । वंशगोपालले थिचेर एक जना प्रहरीको समेत घटनास्थलमै मृत्यु भएको थियो । यो घर पनि विश्व सम्पदा क्षेत्रमा भएकाले यसलाई साँघुर्‍याउन नहुने बताउँछन् सम्पदा संरक्षण संघर्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठ । ‘कोही बोल्दैनन् भनेर महानगरले धमाधम आफ्नै सुरमा काम गर्‍यो,’ उनी भन्छन्, ‘यो सम्पदा मास्ने षड्यन्त्र हो । सम्पदा मासिएको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’

प्रकाशित : मंसिर १४, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?