कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

३ हजार रूख काटिए

शिल्पा कर्ण

काठमाडौँ — पछिल्ला वर्षमा राजधानीमा ३ हजारभन्दा बढी रूख काटिएको डिभिजन वन कार्यालय काठमाडौंले जनाएको छ ।

३ हजार रूख काटिए

पछिल्ला तीन वर्षमा ३ हजार ९ सयभन्दा बढी रूख विकास निर्माणका क्रममा काटिएका छन् । विभिन्न आयोजनाका क्रममा आवश्यक पर्ने स्थान खाली गर्नका लागि रूख काट्ने सिफारिस दिइएको वन कार्यालयका सूचना अधिकृत अनिल रेग्मीले बताए ।

‘मुख्यतया: यहाँको हाइटेन्सन लाइन र सडक विस्तारका क्रममा रूख काटिएका हुन्,’ रेग्मीले भने, ‘यहाँका काँठमा मात्र वन क्षेत्र छन् । ती पनि वैज्ञानिक व्यवस्थापन योजना वा वन पैदावार उत्पादन गर्ने हिसाबका होइनन् ।’ माथिल्लो त्रिशूली ३ ‘ए’ केभी जलविद्युत् आयोजनाका लागि आर्थिक वर्ष २०७५/७६ मा ३ सय ३६ रूख काटिएको तथ्यांक छ ।

वन कार्यालयका अनुसार शून्य दशमलव ९६४ हेक्टर वन क्षेत्रका रूख काटिएका हुन् । त्रिशूलीकै लाइन आयोजनाका क्रममा मातातीर्थस्थित सामुदायिक वनको १ हजार ४ सय ७४ रूख काटिएका छन् । यसैगरी मस्र्याङ्दी–काठमाडौं २ सय २० केभी प्रसारण लाइनका लागि डेढ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको १ सय २१ रूख काटिएका छन् ।

विद्युत् प्रसारण लाइन विस्तारका क्रममा आयोजनासँग ठूला पोलले ओगट्ने क्षेत्र र तारमुनिका क्षेत्र जोडेर सो बराबरको जग्गामा रूख रोप्ने सहमति हुने सूचना अधिकारी रेग्मीले जानकारी दिए । पहिले विद्युत् प्रसारण लाइनका लागि रूख काटिँदा एक रूख बराबर २५ वटा रूख रोपिने भए तापनि हाल वन विभागसँगको सम्झौताअनुसार उपलब्ध गराइएको जग्गामा दुइटा रोप्ने गरिएको उनले बताए ।

थानकोट–चित्लाङ सडक आयोजनाका लागि आर्थिक वर्ष २०७३/७४ मै चन्द्रागिरी सचेत महिला सामुदायिक वन क्षेत्रमा पर्ने १ सय ७० वटा रूख बिरुवा काटिएको तथ्यांक छ । सोही वर्ष भक्तपुर, नगरकोट, सिपाघाट, बल्खु र दक्षिणकाली सडकको सडकसीमाभित्र पर्ने विभिन्न जातका २ सय १२ रूख काटिएका छन् । ती सबै सरकारी रूख रहेको वन कार्यालयले जनाएको छ । यसै क्षेत्रका तीन सामुदायिक वनभित्र पर्ने ५५० रूख सोही वर्ष काटिएका छन् ।

गोकर्ण–साँखु सडक विस्तारका क्रममा गत आर्थिक वर्षमा १६ रूख कटान भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गतको उक्त खण्ड निर्माण तथा विस्तारका क्रममा कुल ४ सय ५८ विभिन्न प्रजातिका बोट काट्ने अनुमति जिल्ला वन कार्यालयमार्फत दिइएको जनाइएको छ ।

सडक विस्तारकै लागि त्रिपुरेश्वरदेखि नागढुंगासम्मका १ सय ७० वटा रूख काटिएका छन् । यसरी रूख काट्दा आयोजनामार्फत कटानको निवेदनपछि वन कर्मचारीले निरीक्षण गरी उचाइ र मोटाइका आधारमा मूल्य निर्धारण गर्छन् । ‘हामी बढीजसो खडा नै लिलाम गर्छौं । काट्न जनशक्ति र खर्च नि चाहिन्छ,’ शाखा अधिकृत दीपा बुढाथोकीले भनिन् । यसैगरी सुक्खा बन्दरगाह निर्माणका क्रममा साबिकको हिमाल सिमेन्ट कारखाना क्षेत्रभित्र र वरपरका गरी ४ सय रूख काटिने भएका छन् ।

यसै वर्ष स्वीकृति लिइएको हो । ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात समितिले निर्माण थालेको हो । उक्त क्षेत्रमा सबैजसो रूख लहरे पीपल छन् । ती काटिने क्रममा छन्,’ सूचना अधिकारी रेग्मीले भने । वन कार्यालयमा निवेदन परेसँगै सिफारिसका लागि वन विभाग हुँदै मन्त्रालयमा पठाइने र मन्त्रिपरिषद् बैठकबाट मात्र रूख कटानको स्वीकृति प्रदान गरिने रेग्मीले बताए ।

यसैबीच, वनका अधिकारीले स्थानीय तह स्वायत्त भएसँगै जथाभावी निर्माण बढेको बताएका छन् । स्थानीय तहले नै बेचेर स्थानीय तहकै कोष वा विकासमा लगानी गर्ने गरेका छन् । यद्यपि यो क्रम अन्यत्रभन्दा राजधानीमा निकै कम छ ।

‘जथाभावी डोजर चलाइदिन्छन् । राजधानीकै अलि परका क्षेत्रमा सडक बनाउन र अन्य विकास निर्माणका काम भन्दै वन जंगलमै डोजर लगाउँछन् । त्यसको तथ्यांक कतै हुन्न,’ वन कार्यालयका एक अधिकृतले भने । निजी जग्गामा भएको रूख काट्दा समेत सरकारकै स्वीकृति आवश्यक भएकोमा जथाभावी रूख काटिरहे पनि कारबाही गर्न नसकिएको अवस्था रहेको उनको भनाइ छ ।

आफ्नै जग्गाको रूख काटेर बाहिर लान वा बेच्न पाइन्न । ‘वडाध्यक्षलाई कारबाही गर्ने कि काट्नेलाई वा सर्वसाधारणलाई । व्यावहारिक समस्या हुन्छ । थाहा पाएर रोकुन्जेल काटिसकेका हुन्छन्,’ ती कर्मचारीले भने ।

प्रकाशित : मंसिर ११, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?