चेपुवामा सुनाकोठी

दामोदर न्यौपाने

ललितपुर — हामी देख्छौं– बाटोमा मान्छे हिंड्छन् । गाईबस्तु हिंड्छन् । सवारीसाधन गुड्छन् । प्राचीन बस्तीका बाटोबारे बुझ्नुभयो भने यतिमा मात्रै सीमित छैन बाटोको उपयोगिता । यहाँ मान्छेका जीवन जोडिएका अनि संस्कार र संस्कृति पनि ।

चेपुवामा सुनाकोठी

बाटोसँग जोडिएका पक्ष ख्याल नगरी अन्धाधुन्ध सडक विस्तार गर्दा हाम्रा प्राचीन बस्तीका सम्पदा, संस्कृतिमा प्रत्यक्ष असर परिरहेको छ । यसको एउटा उदाहरण हो ललितपुरको प्राचीन बस्ती सुनाकोठी ।


सुनाकोठीका रामसुन्दर महर्जनको घर भूकम्पले भत्केको ३ वर्ष भयो । उनले घर बनाउने प्रयास गरे पनि नक्सापास नभएकाले रोकिएको छ । किन भएन नक्सापास ? उनी भन्छन्, ‘नक्सा पास गर्दा बाटो छोड्न भन्छन् । बाटो छाड्दा हाम्रो बस्ती मासिन्छ । बस्तीका परम्परा मासिन्छन् । बस्तीका सम्पदा मासिन्छन् ।’ रामसुन्दर महर्जनले पनि घर बनाउन प्रयास गरेको धेरै भयो । उनको पनि समस्या उस्तै छ । सातदोबाटो हुँदै चापागाउँतिर जाने सडकमा पर्ने सुनाकोठीवासीको साझा समस्या हो यो ।


४० वर्षअघिको सुनाकोठी बस्तीको बीचमा इँटा छापेको बाटो छ । यो मुख्य बाटो हो । अरू सहायक बाटा पनि छन् । मुख्य बाटोको दायाँबायाँ पेटी अनि दुवैतिर पेटीको बीचमा केही होचो भाग छ । होचोभागबाट वर्षातमा परेको पानी बग्ने गथ्र्यो । पेटी पनि इँटाले नै छापिएको छ । ‘यो पेटीमा कतै धान सुकाइएका हुन्थे, कतै खुर्सानी,’ आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जन भन्छन्, ‘सुत्केरीले घाम ताप्ने ठाउँ पनि हो यो । बालबालिकालाई तेल लगाइरहेका दृश्य देखिन्थे । तर अहिले यो ठाउँमा बाक्लै सवारी गुड्छन् । त्यस्ता गतिविधि त एकादेशका कथा भए । बाटोले प्राचीन बस्तीको मौलिकता मासिदियो ।’


यति मात्रै होइन । यो सडकमा वर्षैभरि अनेक सांस्कृतिक गतिविधि भइरहन्छन् । ढोलाहिटीबाट सुरु हुन्छ सुनाकोठी । ढोलाहिटीदेखि कारकुटहिटीसम्मको क्षेत्र हो सुनाकोठी । ‘यो बीचमा पर्ने बाटोका धेरै सांस्कृतिक संकेत छन्,’ महर्जन भन्छन्, ‘सांस्कृतिक मार्गमा गाडी गुडाउँदा धेरै नै असर परेको छ ।’ न्हुँ दया (नयाँ वर्ष) मा लस्करै कोसेली लिएर हिंड्ने चलन छ यही बाटोबाट । गाईजात्रा, इन्द्रजात्रामा सापारु यही बाटोबाट जान्छन् ।


मंसिर पूर्णिमाका बेला हुने जात्रामा पनि यही बाटो प्रयोग हुन्छ । योमरी पुन्ही भनेर चिनिने मंसिर पूर्णिमाका दिन यहाँ छ : ख जात्रा हुन्छ । एउटा मात्रै खट निकालेर यो जात्रा मनाइन्छ । बालकुमारीको मन्दिरबाट निकालिएको खट यही बाटो भएर सहर परिक्रमा गराइन्छ । माघे संक्रान्तिको बेलामा पनि यो बाटोको रौनक बेग्लै हुन्छ । माघ संक्रान्तिको दिन बिहान घिउ, चाकु चढाउनुपर्छ । ‘यो दिन बिहानैदेखि बाटोभरि पूजा हुन्छ,’ महर्जन भन्छन् ।


होलीको बेलामा पनि पूजा हुन्छ यहाँ । यो दिन सस: पूजा हुन्छ । नेवारी परम्परागत गीत गाइँदै जात्रा मनाइन्छ । चैतको अन्त्यमा अर्काे ठूलो जात्रा हुन्छ । मंसिर पूर्णिमामा बालकुमारीको मात्रै एउटा खट निकालिन्छ । चैतमा भने चारवटा खट निकालिन्छ । बालकुमारी, महादेव, कुमार, गणेशका खट निकालेर यही बाटोबाट सहर परिक्रमा गराइन्छ । चारैवटा खट बोकेर पिङ्ग भन्ने ठाउँमा लगिन्छ । फर्काएर दही–चिउरा खुवाउने चलन छ । यो जात्रालाई महादेव परिवारको मिलनका रूपमा पनि लिइन्छ । जात्राको तेस्रो दिन तीन पटक परिक्रमा गराएर लिंगो ढालिन्छ । लिंगोको टुप्पोमा कागती राखिएको हुन्छ ।


सम्पदा सडकमा

यहाँको मुख्य केन्द्रमा भृगेश्वर महादेव मन्दिर छ । यहाँका पूज्य देवस्थलमध्ये यो मुख्य हो । गुम्बजशैलीको छ मन्दिर । चोकमा विशाल ढुंगा छापिएको छ । महर्जनका अनुसार उपत्यकाका मन्दिरमा भएका ढुंगामध्ये ठूलोचाहिँ यही मन्दिरमा छ ।


मन्दिरभित्र १२ फिट अग्लो ढुंगे त्रिशूल छ । ढुंगाकै बसाह छ । ढुंगे अभिलेख पनि छन् । अभिलेखमध्ये दुईवटा प्राचीन हुन् । नास द्यो: मन्दिर छ । तले शैलीकै जगन्नाथको मन्दिर पनि यहीं छ । भृगेश्वरकै छेउमा छ बालकुमारी मन्दिर । नेवारी कलाशैलीको बेजोड नमुना देख्न पाइन्छ यो मन्दिरमा । दुईतले यो मन्दिरमा तीनवटा धातुका छाना छन् ।


बस्ती कति प्राचीन ?

बस्तीलाई लिच्छविकालीन मानिएको छ । यसको प्रमाण भृगेश्वर मन्दिरमै रहेको महर्जन बताउँछन् । मन्दिर प्रांगणमा त्रिभुज आकारका इँटा छन् । पुरातत्त्वविद् सुदर्शनराज तिवारीका अनुसार यस्तो इँटा लिच्छविकालमा विकसित भएको हो ।


लिच्छविकालमा यो ठाउँलाई भृगरग्राम भनिन्थ्यो । महर्जन भन्छन्, ‘यही भृगेश्वर महादेवको नामबाट यसको नाम रहन गएको हो । भृगेश्वरलाई पशुपतिनाथभन्दा पुरानो मानिन्छ । भृगरग्रामलाई सुवर्णपुर पनि भनिन्थ्यो ।’


त्रास सडककै

हेटौंडा–काठमाडौं जोड्ने कान्ति राजपथ बन्न सुरु भएको ६ दशक नाघ्यो । यो राजपथ बन्न सुरु भएदेखि नै सुनाकोठी, ठेंचो जस्ता प्राचीन बस्ती त्रासमा रहेको महर्जन बताउँछन् । सत्तरीको दशकमा सांस्कृतिक बाटोबाट गाडी गुड्न थाले । विस्तारै पिच भयो । माथिल्लो भेकमा क्रसर उद्योग खुले ।


त्यहाँबाट गिट्टी बोकेका टिपर दौडन थाले । टिपरको बेजोड हुइँक्याइले सडकमा निस्कन डरमर्दाे भयो । धूलो र धूवाँले कुहिरीमण्डल हुन थाल्यो । सडक जाम बढ्यो । दुई घण्टासम्म जाम हुन्थ्यो सडक । त्यसको विरुद्ध स्थानीयवासी संगठित भए । टिपर गुड्न दिएनन् । व्यवसायीले अदालतमा मुद्दा हाले । अदालतले व्यवसायीलाई हराइदियो । त्यसयता यो मार्गबाट टिपर गुड्न छाडे ।


कान्ति लोकपथ बढाउन टेन्डर

आह्वान भइसकेको छ । तलतिर ढोलाहिटीबाट डोजरले धमाधम घर भत्काइरहेका छन् । माथितिर चापागाउँ, लेलेतिर पातलो बस्ती छ । पातलो बस्ती भएको ठाउँमा सडक विस्तार गर्न सजिलो छ । ‘माथि पनि बढाउने, तल पनि बढाउने गरेर प्राचीन बस्तीलाई चेपुवामा पारिएको छ,’ महर्जन भन्छन्, ‘हामीले सडकको विरोध गरेका होइनौं । घर नमासिदेऊ । घरपछि जग्गा हो । तर हाम्रो कुरा सुनिएको छैन । घर बनाउन नक्सापास गरिएको छैन ।’

प्रकाशित : मंसिर ८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?